×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केटिहरुले हनि ट्र्यापमा यसरी पार्छन्, रोमान्स गर्न बोलाएर घर न घाटको बनाउँछन् (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

केटिहरुले हनि ट्र्यापमा यसरी पार्छन्, रोमान्स गर्न बोलाएर घर न घाटको बनाउँछन् (भिडियो रिपोर्ट)

२८ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौं । कोहि अपरिचित महिलाले तपाईंलाई फेसबुकमा फ्रेन्ड रेक्वएस्ट पठाएर तपाईंको प्रशंसा गर्न थालिन्, तपाईंलाई कफी पिउने निम्तो दिइन्, कतै डेट जान अफर गरिन् भने अव तपाईं चनाखो रहनुहोला । चिनजान भएको केहि दिनमै तपाईंलाई कोहि महिलाले कतै घुम्न जान अफर गरिन् भने पनि तपाईं सजग रहनुहोला । कुनै महिलाले आफ्ना श्रीमानले आफुलाई छोडेको, धोका दिएको जस्ता सेन्टिमेन्टल गफ गरेर तपाईंलाई पगाल्न खोजे तपाईं नपग्लिनु होला । किनकि तपाईंजस्तै यस्ता महिलाको प्रेम जालमा फसेर लाखौँ रुपैयाँ गुमाउनेहरु बढेका छन् । हो बजारमा हनि ट्रयापका घटना बढेका छन् ।

हनि ट्रयाप यस्तो एउटा अपराध हो, जहाँ सुन्दर महिलाहरुले तपाईंलाई क्षणभरमै फसाईदिन्छन् । सुरुमा माया प्रेमको नाटक गर्छन्, आफ्नो दुख देखाउंछन्, र तपाईंसँग नाटक गर्छन् । अनि तपाईंसँग विस्तारै नजिक भएर ती महिलाले तपाईंसँग रात बिताउँछन् । तपाईंसँग प्रेमको नाटक गरेकी महिलासँग केहि रात रंगीन बनाएर बिताएपछी सुरु हुन्छ उनीहरुको बार्गेनिङ । तपाईंसँगका गोप्य फोटो तथा भिडियोहरु आउट गरिदिने धम्की आउँछ उनीहरुबाट । त्यसो नभए तपाईंलाई बलात्कारको आरोप लगाएर जेल पुर्याउने धम्की आउँछ उनीहरुबाट । अनि लाखौँ रुपैयाँ माग्छन् उनीहरु । दिए तपाईंको पैसा सखाप । नदिए तपाईंको इज्जत सखाप । र बर्षौंदेखि यस्तो धन्दा चलिरहेको छ शहरहरुमा । चलिरहेको छ भन्दा पनि बढी भुसको आगोसरी सल्किरहेको छ यो धन्दा काठमाडौँ लगायतका शहरहरुमा, जहाँ पैसा हुनेहरु फसिरहेका छन् ।

यस्तै केहि उदाहरणहरु हेरौं

झापामा एक व्यापारीलाई यस्तै हनिट्रयापमा पारेर ४० लाख रुपैयाँ फिरौती माग्ने एक युवतीसहित ४ जनालाई प्रहरीले केहि समय अगाडी नियन्त्रणमा लियो । भएको के रहेछ भने फेसबुकमार्फत सम्पर्क गरेर २० बर्षीया ऋतु फियाक लिम्बुले एक व्यापारीलाई शारीरिक सम्बन्ध राख्ने अफर गरिन् । ऋतुले ती व्यवसायीलाई जया खान बन्दै इमो र मोबाइलमा फोन गरेर शारीरिक सम्बन्धका लागि अपिल गरिन् । अनि ती व्यापारीलाई कोठामा बोलाइन् अनि यौनजन्य गतिविधिमा सक्रिय बनाउन थालिन्। यहि बेला उनका साथीहरुले सो भिडियो रेकर्ड गरी कुटपिट गर्दै फिरौती माग गरे । सुरुमा उनीहरुले ५० लाख रुपैयाँ माग गरेका थिए । अव ती व्यापारीसँग कुनै पनि विकल्प थिएन, पैसा नदिए उनको अश्लील भिडियो सार्वजनिक हुने धम्की आईरहेको थियो । पछि ४० लाख रुपैयाँमा डिल भयो । धन्न, ती आँटीला व्यापारीले प्रहरीको सहयोग लिए र उनीहरुको गिरोह पक्राउ पर्यो ।

यस्तै अर्को घटना घट्यो केहि समय अगाडी । पाँचथर हिलिहाङकी २५ वर्षीया इन्दिरा उप्रेतीले एक व्यापारीसँग प्रेमको नाटक गरेर अन्तरंग भिडियो बनाईन् । पछि उनले सो भिडियो देखाएर ती व्यापारीसँग मोटो रकमको माग गरिन् । ती युवतीलाई गोरखा पालुङटारका ३१ वर्षीय वद्रीनाथ लामिछानेले सहयोग गरेका थिए। इन्दिरा उप्रेतीले फेसबुकमा निशा अधिकारीको नामबाट तीन व्यापारीलाई फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन् । पछि कुराकानीको क्रममा उनले व्यवसायीसँग मोबाइल नम्बरसमेत लिएकी थिइन् । उप्रेतीले व्यवसायीलाई फोन गरी ‘तपाईंको अफिसमा भेट्न आउँछु, कुराकानी गर्नुछ’ भन्दै ‘निशा अधिकारी’ बनेर पुगिन् । उनले आफ्नो वास्तविक नाम ईन्दु भएको र घर झापा जिल्लाको बुधवारेमा पर्छ भनेर परिचय दिएकी थिइन् । त्यसअघि नै उनले ती व्यवसायीले थाहा नपाउने गरी मोवाइलको भिडियो क्यामेरा अन गरी सोफामा राखेर त्यहाँ भएको सबै कुरा रेकर्ड गरेकी थिइन् । त्यसपछि व्यवसायीको नजिक हुँदै छेउमा गई अङ्गालो मारी चुम्बन गरिन्। उनी त्यहाँबाट गएपछि आफूलाई ‘गणेश लामा’ बताउने व्यक्तिले ती व्यवसायीलाई इमोबाट फोन गरी सो अन्तरङ्ग पलको भिडियो रेकर्ड आफूसँग रहेको भन्दै रकम बार्गेनिङ गरेका थिए ।

अझ रकम बार्गेनिङ गर्नेमात्र होइन, प्रेमिका बनेर आफ्नो सबै कुरा थाहा पाउने र आफ्नो ग्यांग लगाएर लुट्ने गरेका घटना पनि बाहिर आएका छन् । केहि समय अगाडी यस्तै महिलालाई प्रहरीले पक्राउ गरेको थियो । प्रेमिका बनेर व्यापारीलाई माया जालमा फसाउने, उसलाई घुम्न लैजाने अनि कुनै समूह लगाएर लुटाउने, घरबारे सबै कुरा थाहा लिने र आफ्नो समूह लगाएर घर नै लुट्ने घटना पनि यसअघि पनि सार्वजनिक भईसकेको छ । झट्ट सुन्दा कुनै फिल्मको कहानीजस्तो लागे पनि काठमाडौँमा यस्ता थुप्रै घटनाहरु सार्वजनिक भईसकेका छन् ।

दाङका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या ‘हनिट्रयाप’कै एउटा उदाहरण थियो । अपहरणमा परेका श्रेष्ठको शव प्रहरीलेसल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ मा पर्ने झिम्पेको जंगलमा फेला परेको थियो । अपहरण र हत्यामा संलग्न भएको आरोपमा भर्खरै पक्राउ परेकी पुजाले व्यापारी श्रेष्ठसँग लामो समयदेखि प्रेमको जालमा पारेको अनुसन्धानका क्रममा खुल्यो । अर्थात प्रेमजालमा पारेर फिरौती माग्ने र घटना बाहिरिने डरले त्यस्ता व्यक्तिको हत्या गरिएको घटना पनि यस अघि सार्वजनिक भईसकेको छ ।

यस्तै घटना शक्तिमान बिकको हकमा पनि भयो । ३१ वर्षीय शक्तिमान विक कतार बस्दै आएका थिए । कतारमै काम गर्दै गरेका विकले सामाजिक सञ्जाल फेसबुकमा पिया थापालाई भेटे र उनीसँग नजिक भए । अनलाइन च्याटमै उनलाई पियाले ‘नेपाल आउ, बिहे गरेर यतै बसौँला, यतै काम गरौँला’ भनिन् । शक्तिमान फसे। अन्ततः पियासँग घरजम गरी बस्ने मिठो सपना बोकेर शक्तिमान २०७२ माघमा कतारबाट नेपाल आए । शक्तिमान काठमाडौं आएर पियालाई खोज्न थाले त्यहि बीचमा उनी अपहरणमा परे र लुटिए । पछी प्रहरीमा खबर गरेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा पो थाहा भयो, उनलाई लुटाउने महिला उनै पिया थिइन् । पियाले आफ्नो वास्तविक प्रेमीसँग मिलेर उनको अपहरण गरेका रहेछन् ।

आखिर के हो त हनिट्रयाप ?

हनिट्रयापको अर्थ मिठो जाल भन्ने हुन्छ । हनिको अर्थ मिठो र ट्रयापको अर्थ जाल । सुन्दर महिलाले आम्दानी गर्ने पुरुषलाई फसाउने र उनीहरुसँग बार्गेनिङ गर्ने गर्छन् । पैसा नदिए इज्जत सखाप, पैसा दिए सडकको बास हुन्छ यस्तो ट्रयापमा पर्नेको ।

अहिले नेपालमासमेत ठुलो धन्दा रहेको हनिट्रयापको सुरुवात भने रुसबाट भएको मानिन्छ। अमेरिकाका गोप्य जानकारी हात पार्नका लागि सीआइए अधिकारीबाट सूचना चुहाउन रुसले राम्री युवतीहरू खटाउने गरेको इतिहास हेर्न पाइन्छ ।नेपालमा पनि अहिले अझ विदेशमा राम्रो आम्दानी गर्ने, नेपालमै व्यापार गर्ने मान्छे खोजीखोजी यस्ता महिलाहरुले उनीहरुलाई फसाउने खेल खेल्ने गरेको र यस्ता घटना निकै बढेको प्रहरी अनुसन्धानलेसमेत देखाएको छ ।

यस्तै पछिल्लो उदाहरण भेटिएको छ आफुलाई अनुस्का बताउने कृष्णा गहतराजको । दाङका एक सम्पन्न व्यापारीलाई प्रेमजाल (हनिट्रयाप)मा पारी ५ करोड असुल्न खोज्ने तीन जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गढवा गाउँपालिका-६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका-६ दशरथ टोलमा बस्ने अनुष्का सिंह भनिने ३५ वर्षीया कृष्णा गहतराज, तुलसीपुर-१८ ग्वारखोला बस्ने ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका-१० नारायणपुर बस्ने जनक भनिने २६ वर्षीय रुद्रबहादुर केसीलाई नियन्त्रणमा राखी कानुनी कारबाही सुरु गरेको हो ।

पीडित भनिएका दाङका ४५ वर्षीय विवाहीत पुरुषलाई अनुष्का भनिने कृष्णा गहतराजले प्रेमजालमा पारिन्। डिभोर्स भएकी गहतराजले सामान्य चिनाजानपछि व्यक्तिगत सम्बन्ध राख्दै ति व्यापारीसँग आर्थिक लाभ लिन थालिन् । प्रहरीका अनुसार ती व्यापारीले गहतराजलाई ३५ लाख रुपैयाँ दिइसकेको खुलेको छ ।

गहतराजको मनमा लोभ अझ बढ्न थालेपछि ति व्यापारीलाई घरजग्गा समेत किनिदिन भन्दै ५ करोडसम्म बार्गेनिङ गर्न थालिन्। त्यति ठूलो रकम सहजै नपाउने देखेपछि गहतराजले कृष्णाकुमारी बस्नेत र रुद्र केसी भनिने पुरुषको सहयोग लिएर धम्क्याउन थालिन्। पीडितको घर परिवारलाई समेत तनाव दिन थालेपछि यो घटना प्रहरी कहाँ आइपुगेको थियो ।

यस्तो त डिल मिलेर बाहिर नआएका यस्ता हनिट्रयापका घटना धेरै छन् । धेरै व्यापारीहरु यसमा फसेका चाहन । कतिले विदेशमा कमाएको सबै पैसा यसरी नै सिध्याउनुपरेको छ । हनि ट्रयापकै जालोमा परेर कतिपयले व्यापार बाट कमाएको पैसा सबै सकेर कासी गएका छन् । कतिपय करोडपतिबाट रोडमा झरेका छन् । घटना यस्तो पनि देखिएको छ कि यसरी हनिट्रयापमा परेर प्रतिष्ठित व्यापारीहरुले पनि करोडौं रुपैयाँ गुमाउनुपरेको छ । त्यसैले तपाईं पनि सचेत रहनुहोला ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: