×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेन शाह विरुद्ध कथित सुकुम्बासीहरुलाई कसले उक्साउँदैछ ? (भिडियो रिपार्ट)

PRIME CA
GLOBAL IME BANK

बालेन शाह विरुद्ध कथित सुकुम्बासीहरुलाई कसले उक्साउँदैछ ? (भिडियो रिपार्ट)

१७ मंसिर २०७९, शनिबार

पढ्न लाग्ने समय: < ५ मिनेट

काठमाडौं । अचम्मको देश छ है हाम्रो । घरमा एक माना चामलको अभाव कहिले नहोस् भन्न भएको थोरै खेतपनि बेचेर महिनाको केहि हजारका लागि हाम्रा दाजुभाईहरु परदेशमा तातो बालुवामा काम गरिरहेका छन् । भर्खर जन्मिएकी छोरीलाई खुवाउने लिटोको जोहो गर्न श्रीमतीको भएको एक थान गहनासमेत बेचेर खाडी हानिएका छन् नेपालीहरु । तर देशभित्रै आफुलाई सुकुम्बासी भन्नेहरुले लाखौँ रुपैयाँ तिरेर छोराछोरीलाई विदेश पठाएका छन्, काठमाडौँमा घर जोडेका छन्, जग्गा जोडेका छन् । घर भाडामा लगाएका छन्, र पनि आफु सुकुम्बासी भएको भन्दै उफ्रीरहेका छन् ।

केहि दिनअघि काठमाडौँ महानगरको टिम सुकुम्बासी बस्ती खाली गराउन जाँदा त्यहाँका सुकुम्बासी भन्नेहरुले प्रहरीमाथि ढुंगामुडा गरे । तर प्रहरीलाई ढुंगा हान्न तम्सिएकाहरु सहि अर्थमा सुकुम्बासी कम थिए । सुकुम्बासीको नाम बेचेर खान पल्केकाहरुले निरन्तर प्रहरीमाथि ढुंगा बर्साईरहे । काठमाडौँमा आलिसानको घर, आफ्नै नामको लालपूर्जा, झन्डै करोड हाराहारी सेयर बजारमा लगानी, तर भन्नलाईचाहिं सुकुम्बासी । र त यसको छायाँ परेका छन् सहि अर्थमा सुकुम्बासीहरु।

लामो समयदेखि सहि अर्थमा सुकुम्बासीका समस्या समाधान गर्न सुकुम्बासीका नाममा खान पल्केका हुकुमबासीहरुले दिएकै छैनन् । सुकुम्बासीका लागि भनेर काठमाडौँमै सरकारले गज्जबको घर बनाइदिएको छ। तर सो घरमा सुकुम्बासी बसे भने त आफ्नो मागी खाने भाँडो रित्तिने भो भन्ने डरले होला सायद, सुकुम्बासीका नाममा राजनीति गर्न पल्केका दलालहरुले अनेक बखेडा झिकिरहेका छन् । र त सुकुम्बासीका समस्याहरु समाधानको दिशामा छैनन् ।

तपाईंहरुलाई लाग्छ होला नि १ हरेक राजनीतिक दलका नेताका भाषण सुन्न यी मान्छेहरु कहाँबाट आउँछन् होला ? काठमाडौँमा हुने विभिन्न खाले आन्दोलनमा मान्छेहरु कसरी यति धेरै भित्रिन्छन् होला । अनि तपाईंलाई कहिलेकाहीं यस्तो लाग्दो हो कि दल फरक, कार्यक्रम फरक, तर मान्छे उही कसरी हुन्छन् विरोध सभामा । यो यहि सुकुम्बासी बस्ती यस्तो घीनलाग्दो राजनीतिको व्यापारको मारमा परेका छन् । सुकुम्बासी बस्तीमा ठेकेदारहरु हुन्छन्, जसले विभिन्न मान्छेहरुसँग मान्छे बटुल्ने र विरोध सभामा सहभागी हुनेहरुको ठेक्का लिन्छ । दिनमा ५०० देखि ७०० रुपैयाँ तिरेपछि सुकुम्बासीहरु हुलका हुल बाँधेर आउँछन् आन्दोलनमा । र त कहिलेकाहीं झुकिन्छन्, त्यहाँका मान्छेहरु पनि र भन्छन् । नेकपा एमाले जिन्दाबाद, भोट केमा रुखमा । र यसरी केहि छाक खानकी जोहो गराउने नाममा सुकुम्बासी बस्तीका ठेकेदारहरुको कमाउ धन्दा चलिरहेको छ ।

काठमाडौँमा कतै विरोध सभा गर्नुपर्यो, कसैको विरोध कार्यक्रम गर्नुपर्यो, कसैको र्याली गर्नुपर्यो, कसैको जुलुस गर्नुपर्यो भने यहि सुकुम्बासी बस्तीका मान्छेहरु पुग्छन् । सोझा मान्छेहरु केहि सयको रुपमा आज एउटा पार्टी जिन्दाबाद भनिदिन्छन्, भोलि त्यहि पार्टीलाई मुर्दाबाद भनिदिन्छन् । के गर्नु मुखमा माड लाग्छ भने के मतलब यो फोहोरी राजनीतिको । र त सहि अर्थमा सुकुम्बासीहरु पीडाको पीडामा नै छन्, तीनका ठेकेदारहरु रमाइलो गरिरहेका छन् । सहि अर्थमा सुकुम्बासीहरु प्रयोग भईरहेका छन् र तीनका नेता भनौदाहरु काठमाडौँमा नक्कली सुकुम्बासी बनेर हैकम जमाउन खोजिरहेका छन् ।

एक पटक यो तस्विर हेर्नुहोस् त । यो सुकुम्बासी बस्तीमा देखिएको एउटा पात्रको नाममा काठमाडौँमा भएको जग्गाको प्रमाण हो । काठमाडौँमा ११ आना जग्गा हुने ती महिला चिच्याईचिच्याई भनिरहेकी थिइन्, हामीलाई जग्गा चाहियो । हामी सुकुम्बासीको बस्ती भात्काउन पाइन्न । यीनको हर्कत बाहिर आएपछि अहिले नागरिकहरु सोधिरहेका छन्, सुकुम्बासीका नाममा ११ आना जग्गा कसरी ? अनि ११ आना जग्गा हुने मान्छे कसरी सुकुम्बासी हुन्छ ? अझ कतिले त सोधिरहेका छन्, होइन साच्चै यस्तो सुकुम्बासी हुन के गर्नुपर्छ ? सुकुम्बासी भएरै करोडौं पर्ने जग्गा पाइन्छ भने त किन नबन्ने ? हो यस्तै पात्रहरुका कारण सहि सुकुम्बासीहरुको बेइज्जत भईरहेको छ ।

सुकुम्बासीको आन्दोलनमा प्रहरीमाथि ढुंगा हान्ने यीनी खास सुकुम्बासी होइनन् । यीनको त काठमाडौँमा घर छ, घर पनि के भन्नु आलिसान महल छ । परिवारको राम्रै व्यवस्थापन गरेका छन् यीनले ।राजनीतिमा पनि निकै माथिसम्म पहुँच छ यीनको । अनि यीनी सुकुम्बासी रे १

अझ बजारमा त यस्ता आइटम आइटमका सुकुम्बासी देखिएका छन् कि के भन्ने ? आफुलाई सुकुम्बासी भन्ने एक जना पात्रको त सेयर बजारमा ९० लाखको पोर्टफोलियो छ रे । अझ दुख मान्दै भन्दै थिए, डेढ करोड थियो अहिले ९० लाखमा झर्यो । खाई नखाई सेयरमा पैसा हालेकाहरुको हालत सहि अर्थमा सुकुम्बासीको जस्तो हुने बेला भई सक्यो, उनी नक्कली सुकुम्बासीको फुर्ती भने ९० लाखको पोर्टफोलियो छ भन्ने छ । अनि यीनी कसरी सुकुम्बासी त १ यस्तो पनि हुन्छ ?

बजारमा यस्ता कथित सुकुम्बासी पनि भेटिए, जसको काठमाडौँमा घरमात्र छैन, काठमाडौँमा ठुलो व्यापार पनि छ । तर तीनै व्यक्ति सुकुम्बासी बस्तीमा गएर मान्छे उचालिरहेका छन् । अझ रक्सी खुवाएर मान्छे उचाल्ने, ढुंगा हान्न लगाउने काम पनि उनकै हो । सुकुम्बासीको बस्तीमाथि डोजर चलेको खण्डमा आफ्नो कमाई खाने भाँडो बन्द हुने भएपछी यस्ता नक्कली सुकुम्बासीहरु पनि मनपरी गरिरहेका छन् ।

सुकुम्बासीका नाममा खान पल्केका नक्कली सुकुम्बासीहरुका कारण स्थिति यस्तो भईसक्यो, अव त जागिर सागिर छोडेर सुकुम्बासी हुन पाए पनि हुन्थ्यो भन्नेहरुको सामाजिक संजालमा रोइलो छ । अव त छोराछोरीलाई आशिर्वाद दिंदा पनि मेरो छोरो सुकुम्बासी भएस्, टन्न पैसा कमाएस्, घर जोडेस्, छोराछोरीलाई विदेश पठाएस् भन्नुपर्ने स्थिति औला भन्ने पीर भो । र सँगै यहि कारण खास अर्थमा सुकुम्बासी गरिबको गरिब नै रहिरहने पीर भो ।

ठाउँ दिंदा नजाने, अनि काठमाडौँ महानगरका प्रहरीमाथि जाईलाग्ने यस्ता कथित सुकुम्बासीहरुलाई अव महानगरले तह लगाउनुपर्छ । त्यो भन्दा अघि सुकुम्बासीका नाममा खान पल्केका दले सुकुम्बासीहरुलाई तह लगाउनुपर्छ। सुकुम्बासीका नाममा तीनले कसरी काठमाडौँमा घर जोडे, कसरी जग्गा जोडे, कसरी छोराछोरीलाई विदेश पठाए, सबै एक एक छानविन हुनुपर्छ । होइन भने सुकुम्बासीका नाममा हुने यस्ता बदमासी बन्द हुनुपर्छ ।

अर्कोतर्फ यसपाली सुकुम्बासी आन्दोलनमा राजनीति छिरेको छ। बालेनले काम गरेर देखाएपछी हाम्रो राजनीति सकिने भो भन्ने पीरले ठुलै दलका ठुलै नेताहरु अनेक बात बोलिरहेका छन् । बालेनलाई कसरी हुन्छ असफल बनाउन उनीहरु अहोरात्र लागिरहेका छन् । र त जताजता बालेनले राम्रो काम गर्न थाल्छन्, त्यतै त्यतै ती नेताका प्रायोजन सुरु हुन्छ । र पनि बालेन्द्र शाहलाई काठमाडौँबासीको साथ र सहयोग हिजो पनि थियो र आज पनि छ ।

सुकुम्बासीका आन्दोलनमा चम्की चम्की बोल्ने, उफ्री उफ्री कराउनेहरुमध्ये धेरैले बालेन्द्र शाहलाई भोट यहि भएर दिएको हो ? भनेर सोधिरहेका छन् । तर ती न बालेन्द्रका भोटर हुन्, न काठमाडौँका शुभचिन्तक हुन् । न सहि अर्थमा सुकुम्बासी हुन्, न सुकुम्बासी समस्याको समाधान हुनुपर्छ भन्नेहरु हुन् । ती त सम्पत्ति जति थुप्रीदा पनि नपुगेर चिच्याईरहेकाहरु हुन् । दलका झोले हुन्, सहि अर्थमा पीडीत सुकुम्बासीहरुको पसिना चुसेर खान पल्केका बदमासहरु हुन् । र राज्यले यीनीहरुका हर्कतउपर अव कदम चाल्नैपर्ने भएको छ ।

सहि अर्थमा सुकुम्बासी, भूमिहीनहरुलाई कसैले पनि पिरोल्नु हुँदैन । उनीहरुले पनि आफ्ना ठेकेदारहरुको कुरा सुनेर राजनीति गर्नु हुँदैन। सुकुम्बासीहरुलाई सरकारले गरेको व्यवस्थाको उनीहरुले सम्मान गर्नुपर्छ र राजनीति बन्द गर्नुपर्छ । बालेन्द्र बिकसित काठमाडौँको भिजन लिएर मेयर बनेका छन् । बालेन्द्रसंग हार्नेहरुका झोलेहरुको उक्साहटमा होइन देश सोचेर उनीहरुले बालेन्द्रलाई सहयोग गर्नुपर्छ । यो देशको परिवर्तनमा सहि अर्थका सुकुम्बासीहरुको योगदान ठुलो छ। त्यसैले सरकारले उनीहरुको समस्याको समाधान पनि गर्नुपर्छ । तर सरकार र सहि सुकुम्बासीको बीचमा देखा परेका दलालहरु पत्तासाफ हुनुपर्छ । र यसको कुनै विकल्प छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: