×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपालमा पनि थुप्रै हर्सद मेहेताहरु छन्, नियामकले नखोजेको मात्र हो, फाइनान्स र हाइड्रो अझै ओभरभ्यालुड छन्’ (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘नेपालमा पनि थुप्रै हर्सद मेहेताहरु छन्, नियामकले नखोजेको मात्र हो, फाइनान्स र हाइड्रो अझै ओभरभ्यालुड छन्’ (भिडियो)

१८ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिष्णु प्रसाद बस्यालले नेपालमा अझै पनि थुप्रै हर्सद मेहेताहरु भएको दाबी गरेका छन् । सेयर बजार सम्बन्धि टेलिभिजन कार्यक्रम ‘मार्केट टक विथ सुरज प्याकुरेल’ मा बोल्दै बस्यालले यस्तो दाबी गरेका हुन् । भारतमा भएको सेयर बजार सम्बन्धि स्क्याम र सो स्क्याममा हर्सद मेहेताले गरेको बदमासीको प्रसङ्गमा उनले नेपालमा पनि थुप्रै यस्ता गलत काम गर्ने व्यक्तिहरु भए पनि नेपालको नियामकले ती व्यक्तिहरुलाई छुन नसकेको दाबी गरेका हुन् ।

गत बुलमा पनि नेपालको सेयर बजारमा थुप्रै गलत काम भएको आशय व्यक्त गर्दै उनले हरेक बुलको अन्त्य कोहि न कोहि जेलमा गएर हुने गरेका अन्तराष्ट्रिय घटनाक्रम र सेयर बजारको विश्लेषकको भनाई सम्झिदै नेपालमा पनि त्यस्ता घटना भएको दाबी गरेका हुन् । साथै उनले नेपालमा संस्थागत लगानीकर्ता हाबी नहुँदा यस्तो समस्या भएकोसमेत औंल्याएका थिए । ‘रिटेल मार्केटमा गलत काम गर्नेलाई नियामकले पक्रिन गाह्रो छ । त्यसैले पनि सेयर बजारमा संस्थागत लगानीकर्तालाई प्राथमिकता दिनुपर्छ’ कार्यक्रममा बोल्दै उनले भनेका छन्, ‘गलत गर्नेलाई कारवाही गर्न पनि सेयर बजारमा संस्थागत लगानीकर्तालाई विशेष प्राथमिकता दिनुपर्छ ।’

एक फरक प्रसङ्गमा उनले नेपालको सेयर बजारमा हाइड्रो र फाइनान्स ओभरभ्यालुड भएकोसमेत दाबी गरेका छन् । नेप्सेमा हाइड्रो अझै १५ देखि २० प्रतिशतसम्म ओभरभ्यालुड भएको दाबी गर्दै उनले फाइनान्स र बिकास बैंक समूह पनि सोहि हाराहारीमा ओभरभ्यालुड भएको दाबी गरेका छन् । यद्यपी उनले हाइड्रोको सेयर अघिल्लो बियरिस बजारमा जस्तै १०० रुपैयाँ वा सो भन्दा तल भने नआउने दाबी गरेका छन् । ‘१०० रुपैयाँभन्दा तल हाइड्रोको सेयर मूल्य आउँछ भनेर कसैले सपना देखेको छ भने त्यस्तो सपना नदेखे हुन्छ । थोरै ओभरभ्यालुड भएकोचाहिं हो ।’ कार्यक्रममा बोल्दै उनले भने ।

सेयर बजारमा थुप्रै सोझा लगानीकर्ताहरु फसेको विषयमा सोधिएको प्रश्नमा उनले सेयर बजार निकै निर्दयी भएको र यसले कसैलाई पनि दया नगर्ने तर्क गरेका छन् । ‘थुप्रै सोझा लगानीकर्ताहरुलाई ठुलाले टोपी लगाईदिएको चर्चा छ नि ?’ भन्ने हाम्रो प्रश्नमा उनले सेयर बजार नै टोपी लगाउने खेल भएकाले यसलाई अन्यथा लिनु नपर्नेसमेत बताएका छन् । ‘सेयर बजार आफैंमा टोपी लगाउने खेल हो । तपाईं किन्ने बेला भयो भनेर किन्दै गर्दा अर्कोले बेच्ने बेला भयो भनेर बेच्छ । टोपी लगाउने खेल विना त सेयर बजार नै चल्दैन। त्यसैले यसलाई अन्यथा लिनुपर्ने जरुरी छैन।’

केहि समय अघि उनले बोलेको एक वाक्यांश ‘मुटु हुनेले ट्रेड गर्छ’ विषयमा सोधिएको प्रश्नमा उनले अहिले नेपालको सेयर बजारमा ट्रेडरहरु हराएको बताएका छन् । नेपालको सेयर बजारमा ट्रेडरहरु हाबी भएको बहस चलिरहेका बेला उनले यस्तो तर्कमा आफु सहमत नभएको दाबी गरेका छन् । ‘नेपालको सेयर बजारमा ट्रेडर हाबी भए भन्ने तर्क म मान्दिन । ट्रेडर हाबी भएको भए भोलुम भईहाल्थ्यो नि । अहिलेको बजारमा त भोलुम नै हराएको छ । किनकि नेपालको सेयर बजारमा ट्रेडरहरु नै हराएका छन् ।’ कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको बजारबाट ट्रेड गरेर कमाउन सजिलो छैन । यद्यपी सेयर बजारमा कमाउन ट्रेडर हुनुनैपर्छ ।’सेयर बजार ६००० मा पुग्ने प्रक्षेपण गरेका बश्यालले आफु आफ्नो प्रक्षेपणमा अझै पनि अडिग रहेको दाबी गरेका छन् । ‘सबैले ६००० मात्र ख्याल गरे, मैले कहिलेसम्म भनेको तथ्य ख्याल गरेनन् । म अझै पनि ढुक्क छु, नेपालको सेयर बजार सन् २०२५को सुरुवात वा २०२४ को अन्त्य तिर नै पनि कम्तीमा ६००० पुग्छ ।’ कार्यक्रममा बोल्दै उनले भने- ‘अझ ६००० त कम्ती हो, बढीमा त झन् थपसमेत हुन सक्छ ।’

कार्यक्रम मार्केट टक विथ सुरज प्याकुरेल स्पेस फोके टेलिभिजनमा हरेक शुक्रबार बेलुकी ९ बजे प्रशारण हुन्छ भने त्यसपछि अर्थ सरोकार डटकममा प्रशारण हुन्छ । हेर्नुहोस् पूरा कार्यक्रम:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: