×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कान्तिपुर सहकारी डुबानमा, सञ्चालककै बदमासीले बचतकर्ताको अर्बौ रुपैयाँ फस्यो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

कान्तिपुर सहकारी डुबानमा, सञ्चालककै बदमासीले बचतकर्ताको अर्बौ रुपैयाँ फस्यो

काठमाडौं । तरलता अभाव चुलिएपछि कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड संकटमा परेको छ । काठमाडौंको मिनभवनस्थित सो सहकारीले गत सातादेखि नै सम्पूर्ण वित्तीय कारोबार पूर्ण रुपमा बन्द गरेको छ ।

संस्थाको सम्पूर्ण वित्तीय कारोबार बन्द भए पनि कार्यालयहरु भने खुला नै रहेको संस्थाका एक कर्मचारीले बताए । ‘तरलता अभाव बढ्न थालेपछि गत सातादेखि संस्थाको सम्पूर्ण वित्तीय कारोबार बन्द गरिएको हो’, उनले भने, ‘दैनिक सयौँ बचतकर्ता कार्यालयमा आउनुहुन्छ । तर, उहाँहरुकै बचत पनि फिर्ता गर्न सकिरहेका छैनौँ ।’ संस्थाले बचतको रकम फिर्ता नगरेपछि अहिले बचतकर्ताहरु आन्दोलित बनेका छन् ।

पैसा झिक्न सहकारीमा पुगेका बचतकर्ताले सहकारीका पदाधिकारीले नै रकम हिनामिना गरेको आरोप लगाएका छन् । ‘हामीले दुःख गरेर जम्मा गरेको पैसा हामीलाई नै नदिने भए सहकारी किन खोलेको ?’, सहकारीमा पुगेका एक सेवाग्राहीले भने, ‘पैसा झिक्न जाँदा पैसा छैन भन्छ । सहकारीमा पैसा छैन भने हामीले जम्मा गरेको रकम कहाँ गयो ?’

सहकारीको पैसा सञ्चालकले गैर वित्तीय सम्पत्तीमा लगानी गर्दा यस्तो समस्या निम्तिएको संस्थाका एक उच्च अधिकारीले बताएका छन् । ‘सञ्चालकले पैसा गैर वित्तीय सम्पत्तीमा लगाए, लगानी गरेको पैसाको सही ढंगबाट परिचालन गर्न सकेनन् अनि अहिले यो अवस्था सृजना भएको छ ।’ –ती पदाधिकारीले भने ।

त्यस्तै, संस्थाका प्रबन्ध सञ्चालक प्रेमध्वज लामाले पनि बचतकर्ताको पैसा फिर्ता गर्न नसकिरहेको स्वीकारेका छन् । ‘संस्थामा अहिले तरलता अभाव व्यापक छ । बचतकर्ताको पैसा फिर्ता गर्न सकेका छैनौँ’, उनले भने, ‘तर, हामी फण्ड म्यानेज गर्दै छौँ । जसरी भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं ।’

कान्तिपुर सहकारीले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: