×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्टरनेटमा भाइरल छ चीनबाट फैलिएको जासुसी एप ‘नेपाली गर्ल’ ! एक क्लिकमै रित्तिन्छ तपाईंको बैंक खाता (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार

PRIME CA

इन्टरनेटमा भाइरल छ चीनबाट फैलिएको जासुसी एप ‘नेपाली गर्ल’ ! एक क्लिकमै रित्तिन्छ तपाईंको बैंक खाता (भिडियो रिपोर्ट)

काठमाडौँ । मोबाइल फोन । अहिले ‘मोबाइल फोन’, फोन गर्ने मेशिनमात्र होइन, हाम्रो दैनिकीसमेत बनेको छ । विहान आँखा मिच्दै मिच्दै, निन्द्रा नै नखुल्दै हेरिने चिज भनेको यो फोन नै हो । राती झप्प-झप्प आँखा बरु बन्द हुन थालिसक्दा पनि, तपाईं हाम्रो मोबाइल फोन बन्द हुँदैन । आजकल सिरानीमा कसैको तस्विर होइन, फोन हुन्छ धेरैको । बरु जुत्ता लगाउँदा मोजा लगाउन बिर्सिन्छन् मान्छेहरु, तर साथमा फोन बोक्न छुटाउदैनन् । बरु घरको चाबी कहाँ राख्यो भन्ने बिर्सिन्छौं हामी, तर हाम्रो फोन कहाँ छ भन्ने बिर्सनै सक्दैनौं ।

कोहि बिरामी हुँदा बरु के चिन्ता हुन्छ र, जति चिन्ता हामीलाई फोन बिग्रंदा हुन्छ । ठेस लागेर औंलाबाट रगत आउँदासम्म त्यति तनाव हुँदैन, जति फोन खसेर फुट्यो भने हुन्छ । बरु ३००० को ठाउँमा १५०० को ज्याकेटले काम चल्छ, बरु एक दिन भात नखाँदा चल्छ, तर अहँ हामीलाई फोनचाहिं ठ्याक्कै बबाल खालको चाहिन्छ । मोबाइल फोनले हाम्रो जीवनलाई यति मिठो तरिकाले सहज जति बनाइदिएको छ, त्यति नै नमिठो तरिकाले यहि फोनले हाम्रो अर्थतन्त्र बिगारिदिएको छ । र त १० हजारको कमाई नहुनेले पनि जोडजाम गरेर २५ हजारको स्मार्ट फोन बोकेकै छन् । बरु घरमा अनशन बस्न किन नपरोस्, गिफ्ट आईफोन माग्नेहरुको संख्या घटेको छैन ।

विहान सवेरै भजन होइन, फोन चाहिन्छ हामीलाई । खाना पकाउँदा तरकारी डढेको पत्तो नहुने गरी हामीलाई मोबाइलको बानी परेको छ । अफिस जाँदा अफिसको काम बरु याद हुँदैन, मोबाइल याद नभई हुँदैन । के केटाकेटी, के बुढाबुढी, के युवा के युवती, सबैलाई मोबाइल फोन नै चाहिन्छ ।

यसो त यो मोबाइल फोनले सार्है गज्जबको काम गरेको छ । फोन गर्न त मोबाइलको काम आईनै हाल्यो, फोटो खिच्न फोन, केहि बिल तिर्न फोन, हिसाब गर्न हिसाबकिताब राख्न फोन, परदेशिएकाहरुसंग बातजित गर्न फोन । यतिसम्म कि अर्को कोठामा भएको छोरोलाई खाना पाक्यो खान आइजो भन्न आमाले भिडियो कल गर्ने जमाना आइसक्यो । मतलव हामीले मोबाइल फोनलाई होइन, मोबाइल फोनले हामीलाई चलाउन थालिसक्यो ।

तर त्यहि फोनमा आउने कतिपय स्क्यामहरु क्लिक हुँदा सर्वश्व गुम्ने खतरा बढेको छ । तपाईंले ध्यान नदिए एक मिनेटमै तपाईंको फोन कसैको नियन्त्रणमा जाने र त्यसले तपाईंको बैंक खातामा रहेको सबै पैसा स्वाहा हुने सम्भावना बढेको छ । तपाईंको एक गल्तीले तपाईं करोडपतिबाट रोडमा आउनुहुनेछ । तपाईंको एक असावधानीले तपाईंको बैंक खातामा रहेको सबै पैसा स्वाया हुनेछ । हो अहिले बजारमा त्यस्तै स्क्याम लिंकहरु आएका छन्, जो क्लिक गर्यो भने तपाईंको सर्वश्व गुम्नेछ । यस्तै स्क्यामको नाम हो ‘नेपाली गर्ल’

‘नेपाली गर्ल’ क्लिक गर्दा रित्तिन सक्छ तपाईंको बैंक खाता
यसै पनि नेपाली गर्ल भन्ने नाम भएपछि धेरैले त्यसलाई क्लिक गर्छन् । नेपालीको यहि मनोविज्ञान बुझेर भाइरस बनाउनेहरुले यस्तो एपीके फाइल बनाएका छन् जून तपाईंको फोनमा आउँछ । तपाईंले झुक्किएर वा जानीजानी त्यो लिंक के रहेछ भनेर क्लिक गर्नुभयो भने सो मोबाइल एप तपाईंको फोनमा इन्स्टल मात्र हुँदैन बरु तपाईंको बैंकमा रहेको रकम पनि ह्याकरले झ्वाम पार्छ । यतिमात्र होइन तपाईंका सबै खालका पासवर्ड उसको नियन्त्रणमा हुन्छ । तपाईंको मोबाइलमा रहेका फोटो, भिडियो, डकुमेन्ट, पासवर्ड सबै ह्याकरको नियन्त्रणमा जान्छ । एउटा सानो भाइरसले तपाईंको फोन मात्र होइन तपाईंको जिन्दगी नै बर्बाद बनाईदिन्छ ।

यस्तो डरलाद्गो नेपाली गर्ल आखिर के हो त ?
यो ह्याकरहरुले इन्टरनेटमा फैलाएको एक खालको ह्याकिङ भाइरस हो । मोबाइल र इन्टरनेटका प्रयोगकर्ताहरुलाई साइबर आक्रमण गरी उसको फोन आफ्नो नियन्त्रणमा लिने र उसको मोबाइलमा भएको सबै जानकारी आफुले नियन्त्रणमा लिने एउटा खराव एपलिकेसन हो यो । तपाईंको मोबाइलमा नेपाली गर्ल लेखिएको एउटा एपीके देखिन्छ । तपाईंले झुक्किएर यो यसलाई क्लिक गर्नुभयो भने तपाईंको बैंक खाता त रित्तो हुन्छ नै तपाईंका सबै गोप्य चीजबीज पनि ह्याकरको हातमा पुग्छ ।

नेपाली गर्ल त एउटा उदाहरण मात्र हो । तपाईं बैंकमा काम गर्नुहुन्छ भने उसले ‘मी बैंकर’ नामको फाइल पठाईदिन्छ । तपाईंले प्रयोग गर्ने बैंककै नाममा उसले यस्ता एपीके फाइल पठाईदिएको हुन्छ । समग्रमा भन्दा तपाईंले इन्टरनेटमा जे खोज्नुहुन्छ, त्यसैको नाम राखेर ह्याकरले यस्तो फाइल पठाईदिन्छन् । तपाईं जव यो के रहेछ भनेर क्लिक गर्नुहुन्छ, तव तपाईंसँग फोन अफ गरेर खोलामा फालिदिनुको कुनै विकल्प हुँदैन ।

मोबाइलमा अश्लील भिडियो हेर्नेहरुको डिभाइसमा यस्ता फाइल बढी आउँछन् । असुरक्षित साइट खोल्नेहरुको डिभाइसमा यस्ता लिंक आउँछन् । तपाईंको फोन नम्बर पठाएर फलानी केटीको भिडियो, फलानो फुटबलरको काण्ड भन्दै तपाईंको डिभाइसमा भिडियोजस्तो लिंक देखिन्छ । त्यस्तो लिंक क्लिक गर्नेबित्तिकै तपाईंको फोन ह्याकरको नियन्त्रणमा जान्छ र तपाईंको बर्बादी सुरु हुन्छ ।

प्रविधिका जानकारहरुका अनुसार यस्ता मेसेजमा क्लिक गर्ने बित्तिकै ब्याक इन्डमा एपीके इन्स्टल गरी आवश्यक सम्पूर्ण पर्मिसन लिई तपाईंको फोनको सम्पूर्ण अनुमति ह्याकरले लिन्छ । जव ह्याकरले तपाईंको फोन नियन्त्रणमा लिन्छ उसले तपाईंको हरेक कल रेकर्ड गर्न सक्छ । तपाईंको फोटो ग्यालरीमा उसको नियन्त्रण हुन्छ । तपाईंको पासवार्ड उसले पत्ता लगाउँछ । यतिसम्मकि तपाईंले कसैसंग गरेका भिडियो कलको स्क्रिन रेकर्डसमेत उसले गर्न पाउँछ । ह्यकारहरुले बनाएको यो जासुसी एपले अहिले धेरैको जिन्दगी बर्बाद बनाईसकेको छ ।

यस्तो एपीके एकपटक मोबाइलमा इन्स्टल भइसकेपछि रिस्टोर तथा डिलिट गर्दा समेत लुकेर बस्छ । सुरुमा चीनमा देखिएर अहिले चीनबाट नेपाल भित्रिएको यस्तो भाइरस नेपालमा बिगत ३ महिनादेखि सक्रिय छ । ‘नेपाली गर्ल’ त्यहि चिनियाँ एपको परिवर्तित नाम मात्र हो । यो एप मेसेन्जर, व्हाट्सएप, तपाईंको बैंक, राम्री केटीको काण्ड, नेपाली हिरोइनको काण्ड लगायतका नाममा अहिले इन्टरनेटमा छ्यापछ्याप्ती छन् ।

यस्ता एपहरुबाट आफू ठगिएको भन्दै साइबर ब्यूरोमा अहिले उजुरीका चाङ्ग बढेका छन् । साइबर ब्यूरोका प्रवक्ता पशुपति रोयका अनुसार यसरी ठगिएको भन्दै ब्युरोमा सम्पर्क गर्नेहरु बढेका छन् । ‘नेपाली गर्ल’ एपीकेमार्फत ईसेवा, फोनपे, एफवन सफ्ट, विभिन्न मोबाइल बैङ्किङका प्रयोगकर्ताहरू ठगिएका छन् ।

यस्तो एपीकेबाट कसरी जोगिने त ?
यसरी ठगिमा पर्ने भनेको तपाईं हाम्रै लापरवाहीले हो वा तपाईं हामी नै सचेत नहुँदा हो । मोबाइलमा पोर्न हेर्ने बानी परेकाहरुलाई लक्षित गरेर यस्तो लिंक मोबाइलमा पठाउने गरेका छन् ह्याकरहरुले। ‘के तपाईँ पनि सेक्स पार्टनर खोजिरहनु भएको छ, अब ढुक्क भएर बस्नुहोस् ! लेखेर लिंक पठाइएको हुन्छ । त्यो क्लिक गर्ने बित्तिकै मोबाइल ह्याकरको हातमा अनि तपाईंको जिन्दगी खत्तम ।

यसरी अहिलेसम्म विभिन्न बैंक खाताबाट २ करोड भन्दा बढी नेपाली रुपैयाँ चोरी भईसकेको छ । कुन बैंकबाट कति रकम चोरी भईरहेको छ भन्ने यकिन तथ्यांक नभए पनि थुप्रै नेपालीहरुको रकम चिनियाँ ह्याकरकहाँ पुगिसकेको छ । र यस्तो घटना बढीचाहिं एण्ड्रोइड मोबाइलमा देखिएको छ ।

आफ्नो मोबाइलमा पोर्न भिडियो हेर्दै नहेर्नुहोस । असुरक्षित मानिएका एपहरु प्रयोग गर्दै नगर्नुहोस् । जुन एप इन्स्टल गर्दा पनि ओके ओके ओके, वा एस एस एस थिच्नु अघि त्यहाँ के लेखिएको छ पढ्नुहोस् । मोबाइल बैंकिङ प्रयोग गर्दा ख्याल गर्नुहोस्, आफ्नो मोबाइलमा अनावश्यक साइटहरु नाखोल्नुहोस । आफ्नै साथीले पठाएको लिंक किन नहोस्, ५ पटक भेरिफाइ गरेर मात्र क्लिक गर्नुहोस् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: