×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थानमा ‘नक्कली सर्टिफिकेट’धारीको भागाभाग !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

निर्धन उत्थानमा ‘नक्कली सर्टिफिकेट’धारीको भागाभाग !

२६ मंसिर २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएको, र बढुवा लिएको विषयमा नियामक नेपाल राष्ट्र बैंकले छानविन सुरु गरेपछि निर्धन उत्थान लघुवित्तमा नक्कली सर्टिफिकेटधारीहरुको भागाभाग भएको छ । जागिरमा बढुवा हुन भारतबाट किनेर ल्याएको सर्टिफिकेट पेश गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा नेपाल राष्ट्र बैंकले छानविन सुरु गरेपछि त्यस्ता ‘नक्कली सर्टिफिकेटधारी’हरुले धमाधम कम्पनीको जागिर छोड्न थालेका छन् ।
अख्तियारमा परेको उजुरीका आधारमा छानविन गर्दा आन्तरिक बढुवाका लागि निर्धनका कतिपय कर्मचारीले ‘नक्कली’ शैक्षिक प्रमाणपत्र पेस गरेको  पाइएको थियो । यसरी भारतबाट ल्याई नेपालमा समकक्षता नभएका सर्टिफिकेटका आधारमा बढुवा लिएको भन्दै राष्ट्र बैंकले प्रश्न उठाएपछि जागिर छोड्नेहरुको संख्या बढेको हो ।
निर्धन उत्थान लघुवित्तका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार आइतबारसम्ममा सहायक स्तरका ३७ कर्मचारीले राजीनामा दिइसकेका छन् । तीमध्ये आधाजसोको सर्टिफिकेटमाथि राष्ट्र बैंकले प्रश्न गरेको छ ।
‘केहि सर्टिफिकेट सक्कलीजस्तो भए पनि नेपालमा कुनै पनि विश्वविद्यालयले समकक्षता नदिएका खालका छन् भने कतिपय त सिधै किनेर ल्याएका सर्टिफिकेट छन् ।’ लघुवित्तका एक उच्च अधिकारीले भने- ‘राष्ट्र बैंकले अनुसन्धान सुरु गरेको खबरपछि सबैको सातो गएको स्थिति छ । धेरैले व्यक्तिगत कारण भन्दै जागिर छोडीरहनुभएको छ।’
उनका अनुसार नेपाल राष्ट्र बैंकले ५९ फाइल अनुसन्धानका लागि भन्दै लगेको छ । राष्ट्र बैंकले सो फाइल लगेपछि ३७ कर्मचारीले राजिनामा दिएको र केहिको बाहेक सबैको राजिनामा संयोग नभई कारवाही हुने डरले भएको छ ।
राष्ट्र बैंकले भारतबाट अध्ययन गरिएको भनिएका शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठाएको थियो । नेपालको त्रिभुवन विश्व विद्यालयबाट समकक्षता नभएको भन्दै राष्ट्र बैंकले ती सर्टिफिकेटहरुमाथि प्रश्न उठाएको थियो ।
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले छानविन गरी जानकारी गराउनु भनी पत्र राष्ट्र बैंक पठाएको थियो ।  अख्तियारको पत्रपछि राष्ट्र बैंकले मंसिर ९ गते निर्धन उत्थान लघुवित्तको केद्रीय कार्यालयबाट ५९ जना कर्मचारीको फाइल नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । अध्ययनका क्रममा राष्ट्र बैंकले अधिकांश प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयले समक्षकता नदिने गरेका विश्वविद्यालयको भएको पाएको थियो ।
राष्ट्र बैंकले सबै सर्टिफिकेटबारे अध्ययन गरेर सोको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाईसकेको छ ।  राष्ट्र बैंकका एक उच्च अधिकारीले निर्धन उत्थान लघुवित्तका कर्मचारीका सर्टिफिकेटका विषयमा छानविन गरी अख्तियारलाई पठाएको पुष्टी गरेका छन् । ‘अख्तियारबाट पत्र आएपछि हामीले यस विषयमा छानविन गर्यौं । छानविनको प्रतिवेदनसमेत हामीले अख्तियारलाई पठाईसकेका छौं । बाँकी काम अख्तियारले नै गर्छ ।’ ती अधिकारीले भने -‘अख्तियारबाटै छानविन गरी प्रतिवेदन पठाउनु भन्ने पत्र आएपछि हामीले यस विषयमा छानविन गरेका हौँ ।’
यता यस विषयमा लघुवित्तका सीइओ जनार्दनदेव पन्तलाई बुझ्न खोज्दा उनले हाम्रो फोन नै उठाएनन् । फोन नउठेपछि हामीले उनलाई एसएमएसमार्फत सम्पर्क गर्न खोज्दा पनि उनले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । सम्बन्धित भिडियो:
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: