काठमाडौं । नेपाल राष्ट्र बैंकले न्यूनतम कर्जा प्रवाहको समय सिमामा बैंकहरुलाई सहुलियत प्रदान गरेको छ । बुधबार एकीकृत निर्देशिका जारी गर्दै राष्ट्र बैंकले इजाजत प्राप्त वाणिज्य बैंकहरुलाई तोकिएको क्षेत्रमा गर्नुपर्ने न्यूनतम कर्जा प्रवाहमा सहुलियत दिने जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार २०८२ असारसम्म कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने भनी तोकिएको कर्जा अब २०८३ असार मसान्तसम्म प्रवाह गरिसक्नुपर्नेछ । वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले दिएको सहुलियत अनुसार २०८० को असार मसान्तसम्म ११ प्रतिशत, २०८१ को असार मसान्तसम्म १३ प्रतिशत, २०८२ असार मसान्तसम्म १४ प्रतिशत र २०८३ असार मसान्तसम्म १५ प्रतिशत पुर्याए हुनेछ ।
त्यस्तै, २०८२ सम्म भेटाउनुपर्ने गरी तोकिएको उर्जा क्षेत्रमा न्यूनतम १० प्रतिशत कर्जा प्रवाहको लक्ष्य अब २०८३ असार मसान्तसम्म पुर्याए हुनेभएको छ । योसँगै लघु, घरेलु, साना तथा मझौला उद्यममा प्रवाह गर्नुपर्ने न्यूनतम १५ प्रतिशत कर्जाको सीमा २०८२ असार मसान्तबाट लब्याउँदै राष्ट्र बैंकले २०८३ असार मसान्तसम्म पुर्याएको छ ।
राष्ट्र बैंकले प्रदान गरेको सहुलियतका अनुसार ‘ख’ र ‘ग’ वर्गका वित्तइि संस्थाले तोकिएको क्षेत्रमा प्रवाह गर्नुपर्ने न्यूनतम कर्जाको समय समेत असार मसान्त २०८१ मा दुई वर्ष थप गरी २०८३ असार मसान्तसम्म पुर्याइएको राष्ट्र बैंकले जनाएको छ ।