काठमाडौँ । व्यवसायीको टोलीले गृहमन्त्री रवि लामिछानेलाई भेटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई भेटेपछि नेपाल उद्योग बाणिज्य महासंघको टोलीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर अर्थतन्त्रका विभिन्न आयामहरुबारे ब्रिफिङ्ग गरेका हुन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको पदाधिकारी टोलीले गृह मन्त्रीलाई सिंगो निजी क्षेत्रका तर्फबाट बधाई दिइएको थियो। प्रधानमन्त्री र अर्थमन्त्री दुवैसंगको भेटमा सँगै रहेका व्यवसायी पशुपति मुरारकालाई भने रवि लामिछानेले भेट दिएनन् ।
खानीको दुरुपयोग गरेको भन्दै उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा चलाईरहेको छ । भ्रष्टाचारको अभियोग लागेको व्यक्तिलाई नभेट्ने रविको अडानपछि उनी फोटोमा नदेखिने सर्तमा बाहिरै बसेका थिए ।
भेटका क्रममा गृहमन्त्री लामिछानेले महासंघको शुभकामना तथा सदासयताका लागि आभार प्रकट गरेका थिए । उनले महासंघले राखेका सुझावलाई आफूले गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा सकेको सहयोग गर्ने विश्वाससमेत दिलाए ।