काठमाडौं । एक आर्थिक वर्षको वित्तीय विवरण नै पारित नगरी मर्जर सम्पन्न गरी एकीकृत कारोबार गरेको भन्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सलाई कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ ।
सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को लेखा परिक्षण र वित्तीय विवरण नै तयार नगरी पुस ७ गतेबाट एकीकृत कारोबार गरेकोले कार्वाहीका लागि अख्तियारबाट पत्र आएको प्राधिकरणका एक कर्मचारीले पुष्ठी गरे । ‘पत्र आएको सत्य हो, के कार्वाही गर्ने भन्नेमा अन्यौलता छ’, ती कर्मचारीले भने, ‘अहिले यो विषय छलफलमा छ, के हुन्छ ? वा के गर्ने ? भन्ने बारेमा टुंगो लागेको छैन ।’
तर, यस विषयमा बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको तर्क भने अलि फरक छ । दुवै कम्पनीको मर्जर प्रक्रिया कानुन बमोजिम नै भएकोले कुनै पनि अफ्ठ्यारो वा कार्वाही गर्नुपर्ने स्थिति नभएको अध्यक्ष सिलवालले बताएका छन् ।
‘आर्थिक वर्ष २०७७/७८ सम्म उनीहरुको वित्तीय विवरण पारित भईसकेको छ र आर्थिक वर्ष २०७७/७८ लाई नै बेस बनाएर मर्जर भएको हो’, अध्यक्ष सिलवालले भने, ‘सूर्याले ज्योति लाइफलाई आफुभित्र गाभेको हो, पुरानो कानुन अनुसार आव २०७८/७९ को ब्यालेन्स सिट हामीकहाँ बैशाखमा आईपुग्नु पर्ने हो । तर, हामीले फास्ट ट्रयाकमा ल्याउ भनेकाले अवको १० दिन भित्रमा भ्यालुयसन आउँछ ।’
अख्तियारले कार्वाही गर्न भन्दै पत्र पठाएको चाही सत्य हो ? भन्ने प्रश्नको जवाफ दिँदै अध्यक्ष सिलवालले भने- ‘मैले चाहीँ हेरेको छैन । पत्र आएको छ भने पनि जवाफै पठाउने त हो नि, ठिकै छ नि ।’
त्यस्तै, मर्जरपछि सूर्यज्योति लाइफ इन्स्योरेन्सको बारेमा बाहिर आएको हल्ला वास्तवमा त्यस्तो नभएको प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले बताएका छन् । ‘त्यो बाहिर भएको हल्लाजस्तो यथार्थमा छैन, यो ठूलो विषय नै होइन’, अर्थ सरोकारसँग कुराकानी गर्दै पौडेलले भने, ‘ज्योति लाइफले ६ महिनाको विशेष साधारणसभा गरेर यताको आर्थिक वर्षको हिसाब क्लोज गर्छ, सूर्य लाइफको एक वर्षको उसैले क्लोज गर्छ, अनि कुरो मिलिहाल्यो नि ।’
अनि अख्तियारले कार्वाहीका लागि लिखित पत्र नै पठायो भन्ने छ नि के हो ? भन्ने प्रश्नको जवाफ दिँदै पौडेलले भने- ‘अख्तियारले कार्वाही गर भनेको होइन, के भएको हो भनेर साधेको मात्रै हो । उनीहरुको हिसाब आ-आफै गर्छन् नि, फछ्र्यौट गर्दा पनि यो हिसाब पछिल्लो चरणमा मिल्दै जान्छ, त्यो केही होइन मर्ज गर्या हुन् कम्पनीले ।’
सूर्या लाइफ र ज्योति लाइफ दुवै कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको मात्रै वार्षिक वित्तीय विवरण पारित गराई मर्जरमा गएका हुन् । दुवैको आर्थिक वर्ष २०७८/७९ को लेखा परिक्षण गरिएको छैन । उक्त आर्थिक वर्षको लेखा परिक्षण मर्जरपछि बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले पारित गर्ने बताइएको छ ।
मंसिर २८ गते अख्तियारमा दर्ता भएको सी ०२९७२७ नम्बरको उजुरीमा सूर्या लाइफ र ज्योति लाइफले धितोपत्र बोर्डको नियमविपरीत तथा वित्तीय मूल्य मान्यताविपरीत आव २०७८/०७९ को लेखा परीक्षण समेत नगराई, वित्तीय विवरण नै तयार नगरी तथा बीमांकीय मूल्यांकन समेत नगरी मर्जरमा जान लागेको भन्दै उजुरी परेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्