×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्रममन्त्रीमा गलत मान्छे रोज्दा रविको पार्टी विवादमा (भिडियो)

रवि लामिछानेको सबैभन्दा ठुलो प्रशंसक कोहि छ भने, त्यो म नै हुँ । रवि लामिछानेलाई गलत गर्ने छुट छँदै छैन भन्ने बहसमा सबैभन्दा अगाडी बोल्नुपर्छ भने त्यो बोल्ने मान्छे म नै हुँ । अव हामी नागरिकको भविष्य कसैले बनाउँछ भने त्यो रवि नै हुन् भनेर कसैले अन्तिमसम्म भनिरहन्छ भने, त्यो पनि म नै हुँ । त्यो म नै हुँ, जो रवि आशाका दियो हुन् भन्थ्यो र भनिरहन्छ । रवि लामिछानेले चुनाव जित्दा सबैभन्दा बढी खुसी कोहि थियो भने त्यो म नै थिएँ । रवि गृहमन्त्री हुँदा अवचाहिं देश बन्यो है भनेर कसैले सबैभन्दा पहिला सोच्यो भने त्यो मैले नै सोचेको थिएँ । तर पछिल्लो समय मन्त्रीपरिषद विस्तार हुँदा कसैले रवि लामिछानेसँग सबैभन्दा बढी चित्त दुखाएको छ भने त्यो म नै हुँ ।
ओहो रविलाई के आईलाग्यो यस्तो, यसले रविलाई अफ्ट्यारोमा पार्ने त होइन ? भन्ने सोच्ने म नै हुँ । विवादित व्यवसायी रविकै पार्टीको सिफारिसमा मन्त्री भयो रे भन्ने खबरले सबैभन्दा दुखी कोहि भयो भने त्यो म नै हुँ । अनि विवादित ठेकेदार मंत्री हुँदा रवि लामिछानेको सहमति भयो भन्ने सुन्दा सबैभन्दा दुखी कोहि भयो भने त्यो म नै हुँ । म अर्थात ममात्र होइन, यो मको भीड ठुलो छ । रविको समर्थनमा भोट हालेका लाखौँलाई यहि लागेको छ – कतै रविको अभियानममा पूरानै प्रवृतिले पो जडा गाडेन ? किन विवादितलाई नै मन्त्री बनाइयो ? विवादित ठेकेदार मन्त्री बन्दा किन रविले प्रतिकार गरेनन् ? आज खुब नमज्जा लागेको छ । रवि स्वयम् त बिग्रिन सक्दैनन्, उनलाई बिग्रिन छुट छैन।  तर उनलाई अफ्ट्यारोमा पारे भन्ने पीरले आज मन दुखेको छ ।
रवि लामिछाने । टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदा नै उनी फगत संचारकर्मी थिएनन्, बरु धेरैका आशाका केन्द्रबिन्दु थिए । स्थिति यस्तो थियो, रवि लामिछानेकहाँ पुगेमात्र वा रविले बोलिदिएमात्र कुनै पनि समस्याको समाधान हुन्छ भन्ने विश्वास धेरैमा थियो । तत्कालीन न्युज २४ मा रहँदा शालिकराम पुडाशैनी प्रकरणमा उनी पक्राउ पर्दा आम नागरिकले दिएको अगाध मायालाई उनीप्रति जनता कति धेरै विश्वास गर्छन भन्ने प्रमाणित गरिदिएको थियो । न्युज २४ हुँदै ग्यालेक्सी टिभि र ग्यालेक्सी छोडेर नेपाली राजनीतिमा आउँदै गर्दा धेरै जनताको आश छ -‘यसपाली रविले काम गरेर देखाउनेछन् । बुढा खाडा नेताले धमिल्याएको राजनीति रविले संग्लो बनाउनेछन्, रविले बिकासको लहर ल्याउनेछन् ।
रविले चुनाव जितेपछि भनेका थिए – हामी सरकारमा गए पनि सरकारभित्र पनि प्रतिपक्षझैं रहनेछौं । गलत काम एउटा पनि हुन दिने छैनौँ । एक इन्च पनि दायाँबायाँ हुन दिने छैनौं । र जनताको ठुलो भीडले उनलाई गरेको विश्वास जस्तै मैले पनि विश्वास गरेको थिएँ, रविले भनेजस्तै उनी सरकारभित्रकै प्रतिपक्ष बन्नेछन् । सरकारभित्रै बसेर सरकारलाई खबरदारी गर्नेछन् । भ्रष्टाचारमा मुछिएकाहरुलाई, स्वार्थ्य बाझिनेहरुलाई माओवादी वा एमालेले मन्त्री बनाउन खोज्यो भने उनले रोक्नेछन् । तर अहँ स्थिति त्यस्तो रहेन । विवादित ठेकेदार मन्त्री हुँदा उनले त्यसको प्रतिकार गर्नु त परकै कुरा, उल्टो ताली बजाईदिए । अरुको पार्टीको कुरा के गर्नु, आफ्नै पार्टीभित्र पनि राम्रालाई छोडेर समानुपातिकबाट आएका, सम्पत्ति शुद्धिकरणमा तानिएका व्यापारीलाई स्वार्थ बाझिनेगरी मन्त्री बनाइदिए । देख्दा यस्तो लाग्छ- बाध्यताले होस् वा जानी जानी रविले सव बिर्सिए । रवि पनि धमिलो राजनीतिको अर्को एक अध्याय बन्दैछन् ।

रवि नेतृत्वसँग हामी जनताले खोजेको र उनले दिन्छु भनेको तथ्य पनि मात्र एक हो- विधिको शासन । र उनले सबैभन्दा बढी वकालत गरेको बिधिको शासनको पहिलो सिद्धान्त हो स्वार्थ बाझिने जिम्मेवारी नलिनु वा नदिनु । किनकि स्वार्थ बाझिनु भनेको भ्रष्टाचार हो । घुसखोरी हो । जनताप्रतिको धोकाधढी हो । तर रविकै दिमाग चलेको नपत्याउँदा पनि सत्य यहि हो, यसपालीको मन्त्रीमण्डल गन्हाउन थालिसकेको छ । रवि फूल भएर के गर्नु, रविले मनोनित गरेका विवादित व्यवसायी मन्त्री वा रविले समर्थन गरेका ठेकेदार मन्त्री  कुहिएका आलुजस्तै छन् भन्ने सबैलाई थाहा छ ।

रवि दाई, तपाईंको जितमा सबैभन्दा बढी खुसी भएको मलाई सायद तपाईंको उँधोगतिको यात्राको सबैभन्दा बढी चिन्ता पनि छ । त्यसैले तपाईं एउटा मन्त्री भएर होइन, एउटा नेता भएर होइन, जनताको अगाध विश्वास पाएको एउटा विश्वासको धरोहर भएर हेर्नुहोस्, के तपाईंले ठिक गर्नुभयो त ?  राप्रपाले विवादित ठेकेदार बिक्रम पाण्डेलाई मन्त्री बनाउँदा तपाईंले सरकारभित्र प्रतिपक्षको भूमिका किन निभाउनु भएन ? हिजो बिक्रम पाण्डे जस्ताले भ्रष्टाचार गरे भनेर खुलेरै कराउने तपाईं नै होइन ? यसमा तपाईंलाई अलिकति पनि अफ्ट्यारो लागेन ?

अरु पार्टीका मन्त्रीको मात्र के कुरा ? तपाईं स्वयम्ले म्यानपावर एजेन्ट डोलप्रसाद अर्याललाई श्रममन्त्री बनाइदिनुभयो । उनी विवादित थिए र छन् भन्ने पनि थाहा छ, उनी सम्पत्ति शुद्धिकरणको छानविनमा छन् भन्ने पनि थाहा छ, उनको श्रम मन्त्रालय स्वार्थ बाझिने मन्त्रालय हो भन्ने पनि थाहा छ । तपाईंको पार्टीमा अरु कति राम्रा नेता छन् भन्ने पनि थाहा छ । सबै थाहा हुँदा पनि उनलाई नै मन्त्री बनाउनुपर्ने बाध्यता के आईलाग्यो त्यस्तो ? दीपक बोहोराजस्ता होनहार युवालाई संसद नबनाएर पनि भएको थियो भने यस्ता विवादित व्यक्तिलाई मन्त्री नबनाएको भए के बिग्रिन्थ्यो । हदै भए समानुपातिक पदमा आउँदा उनले दिएको चन्दा फिर्ता दिनुपर्थ्यो होला । हदै भए उनको पार्टीमा गरेको आर्थिक सहयोग टुट्थ्यो होला । हदै भए पार्टी आर्थिक रुपमा समस्यामा पर्थ्यो होला । यति होइन ? यतिका लागि तपाईंले जनमतकै बाजी लगाईदिनुभयो ? तपाईं पनि पैसाका भरमा नेता भएकाहरुकै नेता बन्नुभयो होइन ? यो भन्दा नमिठो कुरा अरु के हुन सक्छ र ? रवि लामिछानेले मिठो बोलेर, चर्को बोलेर, राजनीति गरेर, फरक भनेर गर्ने राजनीति पनि पैसाकै लागि हो भन्ने आलोचकहरुलाई अव म के जवाफ दिउँ रविदाई ?

तपाईंलाई राम्रोसँग थाहा छ, व्यापारीले व्यापार हेर्छ, पैसा हेर्छ । र व्यापारीलाई नेता बनेर पनि व्यापार नै गर्नु छ । तपाईंलाई यो पनि थाहा छ, बिक्रम पाण्डेले   विकास निर्माणका काम हुने केन्द्रीय मन्त्रालयको जिम्मेवारी पाएका छन् जहाँ चालु आर्थिक वर्षका लागि ३२ अर्ब ७ करोड ९१ लाख रुपैयाँ बजेट छ । यहींबाट भ्रष्टाचार झन् मौलाउँछ भन्ने पनि थाहा छ । सहरी विकास मन्त्रालयअन्तर्गत ५४ वटा नयाँ सहर घोषणा गरिएको छ र त्यहाँ टन्न बिजनेश छ भन्ने थाहा पाएर पाण्डेले सो मन्त्रालय छाने भन्ने पनि तपाईंलाई थाहा छ । अव यहींबाट भ्रष्टाचारको थप यात्रा सुरु हुन्छ भन्ने पनि थाहा छ तपाईंलाई । अनि कसरी ? हुन्छ भनिदिनुभयो यस्तालाई मन्त्री बनाउन ? तपाईंले हुन्छ भनेका मन्त्रीले देशभर कति ठेक्का पाएका छन् र कति कमिसन पचाएका छन् भन्ने सबै लेखाजोखा तपाईंलाई थाहा छ । अनि यस्तालाई मन्त्री बनाएर तपाईं सहि हुनुहुन्छ भन्ने कुरा भ्रम हो भनिरहेकाहरुलाई अव म कुन मुखले जवाफ दिउँ ?

कालिका कन्स्ट्रक्सन त्यही कम्पनी हो, जसका मालिकलाई तपाईंले मंत्री बन्न रोक्नु भएन । अनि तिनी तिनै हुन्  जसले सिक्टा सिँचाइ आयोजना अलपत्र पारेर साढे ८ अर्ब भ्रष्टाचार गरेको अभियोग लागेको थियो । भलै, पाण्डेसहित २१ जनाविरुद्ध परेको मुद्दामा विशेष अदालतले सफाइ दिएको छ, अख्तियारले सर्वोच्चमा पुनरावेदन गर्ने समय गुज्रिसकेको छैन ।अव यो मुद्धा ढिसमिस हुन्छ भन्ने बुझ्न गाह्रो छैन । अनि तपाईंले यस्तालाई मंत्री बनाउँदा ताली पिटेर बस्नुभयो ? नैतिकताले दियो रवि दाई ?

रवि दाई, तपाईंको पार्टीबाट श्रममंत्री बनेका तपाईंका माईडियर दाई आफैं ‘सृष्टि ओभरसिज इम्प्लोयमेन्ट सर्भिसेज’ का अन्तर्राष्ट्रिय बजार निर्देशक हुन्  भन्ने थाहा हुँदा हुँदै, उनी सफा मान्छे होइनन्, र विवादको कठघरामा छन् भन्ने जान्दाजाँन्दै उनलाई नै किन मन्त्री बनाउनुभयो ? एजेन्सीहरूलाई नियमन गर्दै श्रमिकको हकहितका लागि काम गर्नुपर्ने मन्त्रालयको नेतृत्व म्यानपावर एजेन्टलाई दिने निर्णय कुनहदसम्मको जनताप्रतिको बेइमानी हो भन्ने किन सोच्नुभएन ? तपाईंले त बाचा गर्नुभएको थियो, राम्रो काम गर्न नसकेपनि नराम्रो काम एउटा पनि गर्ने छैन भनेर । तर तपाईंले त सुरुवात नै विवादित कामबाट गर्नुभयो ।

तपाईं त भ्रष्टाचार रोक्न सरकारमा जानुभएको थियो, तर तपाईं नै कलंकको टिका लगाएर फर्कनुहुन्छ भन्ने पीर भयो रवि दाई । तपाईंलाई के बुझाईरहनुपर्छ र, स्वार्थ बाझिने गरी कुनै नियुक्ति गर्नु वा आफैं संलग्न भएर कुनै त्यस्तो काम गर्नु आफैंमा एउटा छद्म भ्रष्टाचार हो र कानुनी दर्शनबाट सिधै खारेजभागी ठहर्छ । यसको अर्थ तपाईंले स्वार्थ बाझिने गरी जसरी मन्त्रालय बाँड्नुभयो, त्यो आफैंमा ठुलो भ्रष्टाचार हो । तर अझै पनि समय बाँकी छ, यस्तो स्वार्थ बाझिनेहरुलाई तत्काल सरकारबाट फिर्ता पठाउनुहोस र नयाँ मन्त्री बनाउनुहोस्, यसैमा तपाईंको भलो छ । हामी सबै जनताको भलो पनि यसैमा छ ।

रवि दाई, तपाईं पनि बिग्रनुभयो भने, तपाईं पनि घुसिया हुनुभयो भने अव यो देश कसले बनाउँछ ? तपाईंले पनि पैसावालहरुलाई पैसा कमाउनकै लागि मंत्री बनाउनुभयो भने अव कसको आशा गर्ने हामी जनताले ? अव फेरी दुईचार दिन श्रममन्त्री पत्रकारझैं बनेर स्टन्टबाजी गर्नेछन्, के के न काम गरेको जस्तो देखाउनेछन् अनि भित्रभित्र करोडौं खान्छन् भन्ने आलोचकहरुलाई जवाफ दिनकै लागि भए पनि तपाईंले यस्ता व्यक्तिहरुलाई सरकारबाट हटाउनुपर्छ । पार्टीमा समानुपातिकतर्फको नाम राख्नु तपाईंको कस्तो बाध्यता हो भन्ने तथ्य हामीले बुझेका छौं ।

आफ्नो गल्ती तत्काल सच्याउनुहोला । राजनीतिलाई झन् धमिलो नबनाउनुहोला । तपाईंले जति दाबी गरे पनि स्वार्थ बाझिने व्यापारीहरुले व्यापार नै गर्ने हो। त्यसैले जनताका अगाडी झन् छाती चौडाहा पार्न यस्तालाई मन्त्रीबाट हटाउनुहोला । किनकि हरि ढकालजस्ता क्षमतावान, शोभिता गौतमजस्ता अडिग, सांसदहरु अझै पनि तपाईंकै पार्टीमा छन् । बाँकी तपाईंकै मर्जी । यति गरे दिल खोलेर भनौंला जय घन्टी ! होइन भने तपाईंको सरकार पनि घन्टी होइन, त्यो के जाति भन्छन् नि यहाँ भन्न नमिल्ने, त्यस्तै हो भन्नेहरुका कुरा सुनेर दुखी हुँदै घर पसौला र तपाईंका पूराना भिडियो हेरेर बिचरा म र म जस्ता घन्टीको भलो चिताउनेहरु भनौला । (भिडियो)

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: