×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाचार टिप्पणी : १ बर्ष जेल बस्दा पल शाहलाई झण्डै ५ करोड आर्थिक घाटा, निर्दोष ठहर भएपछि खोई त क्षतिपूर्ति ? (भिडियो)

PRIME CA

समाचार टिप्पणी : १ बर्ष जेल बस्दा पल शाहलाई झण्डै ५ करोड आर्थिक घाटा, निर्दोष ठहर भएपछि खोई त क्षतिपूर्ति ? (भिडियो)

१६ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < ५ मिनेट

काठमाडौँ । संयोग नै भन्नुपर्छ, २०७८ फाल्गुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका अभिनेता पल शाह २०७९ साल फागुन १५ गते रिहा भएका छन् । अदालतले उनलाई निर्दोष फैसला गरेपछि उनी रिहा भएका हुन् । नाबालिग बलात्कारको जाहेरी परे पनि पछि जाहेरी दिनेले नै ममाथि बलात्कार भएको होइन भन्ने आशयको बयान दिएपछि जिल्ला अदालत नवलपुरले पललाई जवर्जस्ती बलात्कारको केसमा त सफाई दियो तर बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् । र अन्तत: उनी जेलमुक्त भएर खुला आकाशमुनि देखिएका छन् ।
तर पल निर्दोष छन् भन्ने फैसला त १ बर्षपछि भयो । यो बीचमा उनी १ बर्ष जेल परे । करियरमा अल्पबिराम लाग्यो, सबैतिर बेइज्जत भयो । त्यसको क्षतिपूर्ति कसले दिने ? यो १ बर्षमा पलले के के गर्न सक्थे होलान्, कति फिल्म खेल्न सक्थे, कति धेरै पैसा कमाउन सक्थे त्यसको क्षतिपूर्ति खोइ ? मन मिल्दासम्म रोमान्स हुने अनि रिस उठेपछि बलात्कार हुने नजिर स्थापित गर्न खोजेर जसले पलमाथि राजनीति गर्यो, उसलाई कारवाही खोई ? अदालतले ठहर गरेको छ, उनीसँग जाहेरी दिने पक्षको जे भयो, त्यो न बलात्कार थियो, न यौन दुर्ब्यबहार । अनि केहि पनि थिएन भने पलले जेल बस्नुपरेको क्षतिपूर्ति, उनको इज्जतमाथि कसैले लिएको हुर्मतको क्षतिपूर्ति कसैले तिर्नुपर्दैन ? के यो न्यायोचित भयो ?
करोडौं डुब्यो !
पलले एउटा म्युजिक भिडियोमा अभिनय गरेको झन्डै १ लाख रुपैयाँ लिन्थे । उनी सातै दिन म्युजिक भिडियोमा अभिनय गरिरहने वा भनौं डिमाण्ड भएका कलाकार थिए । फिल्ममा उनको रेट राम्रै थियो । दिनमा एक लाख कमाउन उनका लागि गाह्रो थिएन । यसरी सरसर्ती हेर्दा नै ३६५ दिन जेल बस्दा उनलाई ३ करोड ६५ लाख रुपैयाँ घाटा भयो । म्युजिक भिडियो बाहेक हुने अन्य आम्दानी, विभिन्न कार्यक्रममा हुने आम्दानी, विज्ञापन खेलेर पाउने आम्दानीको हिसाब गर्ने हो भने यो एक बर्षमा झन्डै ५ करोड बढी आर्थिक क्षति भयो । त्यसमाथि मुद्धा लड्न लागेको खर्च छुट्टै छ । अव निर्दोष भएपछि यो क्षतिपूर्ति एउटा कलाकारले पाउनुपर्दैन ? तर कसले दिने ?
पल शाह निर्दोष भएपछि अव अर्को बहस सुरु भएको छ । अव त कसैलाई सिध्याउनु पर्यो भने केस गरे भो । उ निर्दोष छ भने पनि निर्दोष सावित हुन त १ बर्ष नै लाग्ने भो । १ बर्षसम्म त के के बिग्रीसक्छ के के ! करियर बिग्रिन्छ, आर्थिक अवस्था बिग्रिन्छ, माहोल बिग्रिन्छ, मुड बिग्रिन्छ । समग्रमा जिन्दगी बिग्रिन्छ । अनि यस्तो हुँदै नभएको मुद्धा हालेर सबै थोक बिगारिदिनेको त केहि पनि नबिग्रिने रहेछ । यस्तो पनि न्यायोचित कानुन भयो त ? तपाईं आफैं भन्नुस् त पल जेलबाट त छुटे, तर के पल शाहलाई पूर्ण रुपमा न्याय भयो त ?
फर्केर हेरौं घटना…
एक पटक यो घटनालाई फर्केर हेरौं । एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । उच्च अदालतको अहिलेको फैसलाले यी दुवै घटना बलात्कार पनि थिएन र यौन दुर्व्यवहार पनि थिएन भन्ने फैसला गरेको छ । यसको अर्थ पल र जाहेरी दिनेबीच जे भएको थियो, त्यो दुर्व्यवहार पनि थिएन, र बलात्कार पनि थिएन । अनि थियोचाहिं के त ? अहँ त्यो त उनीहरुबीचको सहमतिमा भएको सहबासबाहेक केहि थिएन । अनि केहि थिएन भने पललाई १ बर्षसम्म किन जेल कोचियो त ? यसको जवाफ कानुनी प्रक्रिया मात्र भनेर सुख पाइन्छ र ? जो कसैलाई पनि बेतुककमा दुख दिन पाइन्छ र ?
उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यो बेला अदालतले जाहेरी दिने पक्ष १८ बर्ष भन्दा मुनिको भएकाले यस्तो फैसला गरिएको उल्लेख गरेको थियो । यदि १८ बर्षभन्दा मुनि भएकै कारणले सो फैसला गरिएको थियो र उनी दोषी थिए भने पुनरावेदनले पललाई कसरी सफाई दियो त ? केस उही, कानुन उही, मात्र अदालत फरक । कहीं न कहीं त हाम्रो कानुनी सिष्टममै समस्या देखियो नि, होइन र ? पल दोषी थिए भने निर्दोष भनिदिने अदालत गलत छ होला, उनी निर्दोष थिए भने दोषी भन्ने अदालत गलत थियो होला । कतै न कतै त गल्ती भएछ नि कानुनी राज्यमा पनि, कानुनी व्याख्यामा पनि होइन र ?
अव कानुनका ठेली बोकेर यस विषयमा ब्यापक व्याख्या अपव्याख्या गर्नेले भन्लान्, उच्चले जिल्ला अदालतको फैसला पल्टाउनु सामान्य नै हो । हुन पनि होला । तर पल अन्तत: निर्दोष ठहर भए । कि निर्दोष भएर नै निर्दोष ठहर भए,  कि न्यायाधीशको चित्तमा लागेर निर्दोष ठहर भए । एक पटक दोषी ठहर हुँदा गएको पलको इज्जत फर्केर आउंदैन भने, काटिया न कतै त गल्ती भएन र ?
‘सानो दु:ले आर्जेको करियर थिएन’ 
पलले सानो दुखले करियर बनाएका थिएनन् । उनी सार्है संघर्ष गरेर पुगेका हुन् आजको स्थानसम्म । अनि कसैले आफ्नो कन्याजाली च्यातियो भनेर दिएको जाहेरीले कसैको इज्जत सखाप गर्न मिल्छ ? जवर्जस्ती थियो भने किन अन्तिसम्म त्यो जवरजस्ती नै थियो भन्न सकेन जाहेरी दिने पक्षले ? सुरुमा जवर्जस्ती भयो भनेर कराउने, पछि होइन होइन, हामीले सहमतिमै रमाइलो गरेको हो भन्ने । यस्तो पनि हुन्छ ? कहाँ कुरो मिल्यो ? हिजो जवर्जस्ती भएको थियो भने पछि किन कुरा फेरियो ? जवर्जस्ती भएकै थिएन भने किन पल शाहमाथि दाग लगाउन खोजियो ? यसको हिसाबकिताब अव कसले गर्ने ?
पलका दुखका कथा धेरै छन् । अहिले गाडी, घर हेरेर हुन्छ ? कुनै बेला उनले गरेको संघर्ष कसले देख्छ ? घरभाडा तिर्न धौधौ भएको, भाडा तिर्न नसकेर घरभेटीले नै निकालिदिएको कथा कसले खोताल्छ, तर यस्तै थियो पलको बिगत । उनी केहि काम नपाएर गाडी चलाउँछु भनेर लागेका थिए कुनै बेला । घरभाडा तिर्न नसकेर घरभेटीबाट निकालिएका थिए कुनै बेला । आर्थिक संकटका कारण आफुले काम गरेको तराई टिभी बन्द भएपछि ११ महिनाको तलब नपाउँदा कोठा भाडा तिर्न नसकेर घरबेटीले उनको कोठामा ताला नै लगाइदिएको पीडा पलले भोगे । उनीसँग खाजा खाने पैसा समेत हुन्नथियो । उधारो खाएको पसलबाट लुकेर हिँड्थे । आफ्नै कर्म र भाग्यले आज सबै थोक छ पलसँग । तर टुप्पो बाट पलाएजसरी कसैले उनलाई एक बर्ष सम्म जेल पुग्नेगरी जाहेरी दियो, र पलले १ बर्षसम्म दुख पाउनुपर्यो । के यो न्यायोचित भयो त ?
बहसमाथि बहस : अव पुरुष हिंशामाथि पनि बहस गर्ने कि !
र सँगै अर्को बहस पनि चुलिएको छ । कतै सेलिब्रेटी भएकै कारण उनलाई दोषी ठहर गरिएको फैसला उल्टाईएको त होइन ? कतै जाहेरी दिने पक्ष र उनीबीच बीचमा मेलमिलाप त भएन ? कतै योबीचमा कानुनी रुपमा गर्न नमिल्ने लेनदेन त भएन ? यसको सम्पूर्ण जवाफ फैसलाको पूर्ण पाठले पक्कै देला ।  तर देशमा न कानुनप्रतिको विश्वास मर्न छुट छ, न त न्याय मर्न नै । पल गलत थिए भन्ने ठाउँ अव रहेन किनकि उच्च अदालतले उनलाई दोषी नभएको फैसला गरेको छ ।  तर दोषी ठहर गर्ने जिल्ला अदालतले के आधारमा दोषी ठहर गरेको थियो र उच्चले किन त्यसलाई उल्टायो भन्ने तथ्य भने एक पटक होइन बारम्बार खोतल्न जरुरी छ ।
यो देशमा महिला हिंशाका कुरा धेरै हुन्छ । तर १ बर्षसम्म निर्दोष मान्छेलाई जेल हालिंदा के पल शाहमाथि हिंशा भएन ? के महिलाले जे भनिदिंदा पनि हुन्छ ? जे बोलिदिदा पनि हुन्छ ? के कानुन भनेको महिलामैत्रीमात्र हुनुपर्छ ? पल जेलबाट त छुटे, तर के उनीमाथि १ बर्षसम्म अन्याय भएन ? उनीमाथि भएको अत्याचार थिएन त्यो ? कसैले एक खेस्रा जाहेरी दिएकै भरमा गर्दै नगरेको कामका लागि १ बर्ष जेल बस्नु, नर्क गएसमान भएको थिएन होला र ? यसको क्षति छैन होला र ? जरुर छ । बस्, बहस हुन जरुरी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: