काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्थामा तोडफोड भएको छ । ऋण तनिरेको भन्दै लघुवित्तका कर्मचारीले अभद्र व्यवहार गरेपछि आक्रोशित बनेका स्थानीयले लघुवित्तको दाङको राप्ती गाउँपालिका ७ सिसहनिया शाखा कार्यालयमा तोडफोड गरेका हुन् ।
पिडितका अनुसार खाना खाँदै गरेको अवस्थामा लघुवित्तका कर्मचारी ऋण असुल्न पुगेका थिए । ऋण नतिरेको भन्दै कर्मचारीले खाना खाँदै गरेको थालीमा थुकेपछि स्थानीय आक्रोशित बनेको पिडितको भनाई छ । ‘ऋण नतिर्ने भन्दै कर्मचारीले खानाको थालीमै थुकेका हुन्’, उनले भनिन , ‘खाएको ऋण तिर्नुपर्छ हो, तर यसरी घृणित हर्कत गरेपछि आक्रोशित भीडले कार्यालयमा तोडफोड गरेका हुन् ।’
‘अर्कोपटक किस्ता लिन आउँदा किस्ता भएन भने मार्छुसम्म पनि भनेका छन्’ पिडीतले भनिन्, ‘यसपाली त किस्ता दिएन भनेर खाना खाँदै गर्दा थालीमा थुकेका छन् । लघुवित्तमा मेरो डेढ लाख मात्रै ऋण छ, मासिक किस्ता ८ हजार पर्छ । तर, मानसिक तनाव करोडौंको दिईसक्यो ।’
‘असुली गर्न गएको हो, तर थालीमा थुकेको होइन’
तर, लघुवित्तको सिसहनिया शाखाका ब्रान्च मेनेजर सन्तोष पौडेलले भने थालीमा थुकेको आरोप झुठो भएको बताएका छन् । लामो समयदेखि संस्थाबाट लिएको ऋणको किस्ता/ब्याज नतिर्नेहरुकोमा असुली गर्न गएको भन्दै कार्यालयमा तोडफोड गरेको पौडेलले बताए । ‘कुनै पनि कर्मचारीले कसैको पनि थालीमा थुकेको छैन, त्यो सब झुठो आरोप हो’, उनले भने, ‘असुलीका लागी पटक-पटक आयो भनेर उनीहरुले तोडफोड गरेका हुन् ।’
‘पहिलेदेखि नै ‘हामी संघर्ष समितिमा छौँ, हाम्रोमा पैसा माग्न नआउनु’ भनेका थिए, तर नियमसंगत दिएको ऋण त उठाउनुपर्यो नि ? त्यसैले हाम्रा कर्मचारी असुलीका लागि घरमा पुगेका हुन्’, पौडेलले भने, ‘पैसा माग्न गएकै कारण कार्यालयमा तोडफोड गरिएको हो, यतिसम्म कि हामीलाई ज्यानै मार्नेसम्मको धम्की आएका छन् तर थालीमा थुकेको भन्ने कुरा गलत हो ।’
‘अत्याचार सहन नसक्दा आक्रोश बिस्फोट भयो’
यता लघुवित्त विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले उन्नती लघुवित्तमा भएको तोडफोड अत्याचारको प्रतिकार भएको बताएका छन् ।
‘त्यत्तिकै कसैले मेरो थालीमा थुक्यो भन्छ ? आरोप सत्य हो, कर्मचारीले हदै गरेपछि सहनै नसकेर बचतकर्ता प्रतिकारमा उत्रिएका हुन्’, उनले भने, ‘मनलागी आरोप लगाएर तोडफोड गर्ने भएको भए अरु ठाउँमा किन भएन ? त्यहाँमात्रै किन भयो ? त्यहाँका कर्मचारीले हदै गरेपछि अत्याचार सहन नसक्दा आक्रोश बिस्फोट भएको हो । अहिले आफ्ना कर्मचारीलाई बचाउन मेनेजरले जे पायो त्यही बोल्दैछन् ।’
सिडिओ भन्छन्- ‘यो बारेमा जानकारी छैन’
यता जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले सो विषयमा आफुलाई कुनै पनि जानकारी नभएको बताएका छन् । ‘हामी राष्ट्रपतिको सवारीमा व्यस्त थियौं, त्यसैले पनि यो विषयमा जानकारी नै पाएको छैन’, उनले भने, ‘तपाईले भनेर थाहा पाएँ, के रहेछ अब बुझ्छु ।’ यता कार्यालयकी सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले भने तोडफोड भएको विषयमा जानकारी आए पनि विस्तृतमा भने थाहा नभएको बताइन् । उन्नति लघुवित्तको कार्यालयमा तोडफोड:
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्