Skip to content
LAXMI SUNRISE BANK

सेयर लगानीकर्ताका लागि धितोपत्र बोर्डका २० टिप्स

अर्थ सरोकार

नेपाली पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ताका लागि २० वटा टिप्सहरु सार्वजनिक गरेको छ । विश्व वित्तीय सप्ताहका अवसरमा सेबोनले लगानीकर्ताहरुका लागि २० वटा टिप्सहरु सार्वजनिक गरेको हो । हेर्नुहोस् धितोपत्र बोर्डले सार्वजनिक गरेका २० टिप्स:
१. धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भई लगानी सम्बन्धी निर्णय लिनुहोस् ।
२. धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वित्तीय विवरण लगायतका जानकारी लिई आफ्नो स्वविवेकमा जोखिम बहन गर्ने क्षमता अनुसार लगानी उपकरण छनौट गरी लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।
३. धितोपत्र बजारमा नवप्रवेशीले प्राथमिक बजारबाट लगानी प्रारम्भ गर्नुहोस ।
४. प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङ्गस्तर जस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गर्नुहोस् ।
५. नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको दश प्रतिशत सेयर विदेशमा रोजगारी गरिरहेको नेपालीका लागि छुटयाई बाँडफाँट गर्नुपर्ने व्यवस्था २०७९ मंसिर १७ देखि लागू भई कार्यान्वयमा आईसकेको सन्र्दभमा श्रम स्वीकृति लिई विदेशमा काम गरिरहेका नेपालीहरूले आस्वा सदस्य बैंक मार्फत आफ्नो नाममा विप्रेषण बचत खाता खोली सिआरएन नं लिई गरिएको व्यवस्थाको परिपालना गरी सेयरमा आवेदन गर्नुहोस ।
६. धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारीक वा प्रमाणित रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, धितोपत्रको मूल्य प्रवृत्ति, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) र कम्पनीसंग सम्बन्धित उद्योग र क्षेत्रको अवस्था आदि जस्ता महत्वपूर्ण पक्षहरुको अध्ययन गर्नुहोस् ।
७. धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनितिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहनुहोस् ।
८. धितोपत्र बजारमा मुद्रास्फिति, बैंकको तरलता तथा व्याजदरले प्रत्यक्ष असर गर्ने हुनाले लगानी गर्दा यस्ता विषयलाई मनन् गरी लगानी सम्बन्धी निर्णय लिनुहोस् ।
९. धितोपत्रको लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधिकरणमा ध्यान दिनुहोस् । दीर्घकालीन, नियमित तथा विविधीकृत लगानीका फाइदा सम्बन्धमा जानकार रहनुहोस ।
१०. धितोपत्र बजारमा लगानी गर्दा आवश्यक वा अपेक्षित प्रतिफल दर निर्धारण गरेर गर्नुहोस ।
११. धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई दिन भित्रमा कारोबारको राफसाफ हुनुपर्ने कुराको जानकारी लिनुहोस् ।
१२. धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल (जस्तै: फेसबुक, क्लब हाउस, युटयूब तथा टिकटक आदि) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारीक नहुने भएकोले ती अनुमान, प्रक्षेपण, विचार र परामर्शको आधारमा मात्र लगानी सम्बन्धी निर्णय नलिनुहोस् ।
१३. नयाँ नयाँ प्रविधि प्रयोग गरी हुने कारोबार सम्बन्धमा सचेत रहनुहोस् ।
१४. धितोपत्र कारोवार गर्दा रकमको लेनदेन गर्दा बैंकमार्फत गर्नुहोस धितोपत्र कारोबार वापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा रहेको कानुनी व्यवस्थाको जानकारी लिनुहोस् ।
१५. आफुले लगानी गर्न लागेको सेयर कुन प्रकारको सेयर ९जस्तै संस्थापक सेयर साधारण सेयर अग्राधिकार सेयर र त्यसको विशेषता फाइदा वा वेफाइदाको बारेमा जानकारी लिएर मात्र लगानी सम्बन्धी निर्णय लिनुहोस् ।
१६. नेपाल स्टक एक्सचेञ्जबाट सूचिकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरुको धितोपत्रहरु ओभर द काउन्टर बजारबाट कारोवार गर्न सकिने व्यवस्था भएको हुंदा सो बारे जानकारी राख्नुहोस् ।
१७. धितोपत्रको दोश्रो बजारमा कारोबार गर्दा बोर्डबाट अनुमतिपत्र प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) मार्फत मात्र कारोबार गर्नुहोस् ।
१८. धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरु सम्बन्धी आधिकारीक जानकारीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्नुहोस् ।
१९. धितोपत्रमा लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचीकृत कम्पनी सिडिएससी, नेप्से या बोर्डमा सम्पर्क राख्नुहोस् ।
२०. बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नियमित रुपमा प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम तथा प्रकाशन मार्फत संचालन गर्दै आएकोमा त्यस्तो कार्यक्रममा सक्रिय सहभागी भै बजार तथा लगानी सम्बन्धी आवश्यक ज्ञान हासिल गर्नुहोस् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK