Skip to content
LAXMI SUNRISE BANK

‘बैंकिङ क्षेत्रका अराजकहरुलाई कार्वाही गरियोस्’- सिबिफिन

अर्थ सरोकार

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंकिङ क्षेत्रमा अराजक गतिविधि गर्नेलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारवाही गर्न माग गरेको छ । बैंकिङ सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका यस्ता उछृंखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्न कडा निर्देशन जारी गर्न सिबिफिनले माग गरेको छ ।

कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारवाही गर्न नेपाल सरकार तथा मातहतका निकायहरुको सिबिफिनले  ध्यानाकर्षण गराएको छ ।

देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका अवाञ्छित क्रियाकलापहरु यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आंकलन नै गर्न नसकिने हुने हुँदा यसप्रति सचेत रहदै देशको अर्थतन्त्रको रक्तसंचारकोरुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालन हुने अवस्थाको सृजना गर्न/गराउन नेपाल सरकार, मातहतका निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरुमा सिबिफिनले अपिल गरेको छ ।

साथै, वर्तमान जटिल अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएर ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको सिबिफिनले जनाएको छ ।

नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाहरुले प्रत्यक्ष/परोक्षरुपमा लाखौको संख्यामा रोजगारीका अवसरहरुको सृजना, अरबौं रकम राजस्व परिचालनसहित संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै मोफसलदेखि दुरदराजसम्म आफ्ना शाखा कार्यालयमार्फत सामाजिक–आर्थिक रुपान्तरणका लागि अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

अतिविकसित देशदेखि विकासोन्मूख अधिकांश देशहरुले तरलता, ब्याजदर र मुद्रास्फिती जस्ता चुनौती भोगिरहेको तथ्य जगजाहेरै रहेकोले स्वयं नेपाल सरकार, आम उद्यम/व्यवसाय र सर्वसाधारण समेतले अनपेक्षितरुपमा भोगिरहेका समस्याहरुको उचित समाधानका लागि सबै जना एकजुट भएर लाग्नुपर्ने सिबिफिनले उल्लेख गरेको छ। राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग तथा आपूर्ति जस्ता विषयहरुले ब्याजदर निर्धारण हुने विषय पनि घाम जत्तिकै छर्लङ्ग रहेको सिबिफिनले उल्लेख गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK