काठमाडौं । सिराहामा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गरिएको छ । बुधबार लघुवित्तले दुःख दिएको भन्दै लघुवित्तको विरोधमा नेकपा (बमुमत)को नेतृत्वमा उत्रिएको आन्दोलनले पतारी गाउँपालिकामा रहेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा ताला लगाएको हो । सयौँको संख्यामा आन्दोलनमा उत्रिउका महिलाहरुले संस्थाको कार्यालयसमेत घेराउ गरेका थिए ।
यता जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरिक्षक टेकुनन्द लिम्बुले बुधबार तालाबन्दीको प्रयास भए पनि सफल नभएको बताएका छन् । ‘बुधबार महिलाहरुको ठूलो समूह आन्दोलन गर्दै लघुवित्तको कार्यालयमा पुगेका थिए ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एसपी लम्बुले भने, ‘सुरुमा ताला लगाउन खोजिरहेका थिए तर सोही बेलामा प्रहरी पुगेपछि ताला लगाउन पाएनन् । अपसी समन्वयपछि भीड फिर्ता भएको हो ।’
लघुवित्त संस्थाहरुमा यसरी तालाबन्दी गर्ने क्रम बढ्नु बैंकिङ प्रणालीका लागि ठूलो चुनौति हुने लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले बताएका छन् । मुलुकनै आर्थिक परेका बेला एकअर्कालाई सहयोग गर्नुपर्ने बेला दोषारोपण गर्दै अराजक गतिविधि गर्नू दुखद भएको शर्माको भनाई छ । ‘यो गलत कार्य हो । यसरी समग्र सिस्टम नै बिथोल्ने गरी आन्दोलन गर्नू, संस्थाहरुमा तालाबन्दी गर्नू र कर्मचारीमाथि दुव्र्यवहार गर्नूले प्रणालीगत संकट निम्त्याउन सक्छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै शर्माले भने, ‘यस्तै चल्ने हो भने राज्यले ठूलो संकटको सामना गनुपर्छ । होइन भने तत्काल यस्ता गतिविधि रोक्न कडा पहल गर्नुपर्छ नत्र ढिला हुनसक्छ ।’
यसै पनि अहिले मनिराम ज्ञवाली, व्यवसायी दुर्गा प्रसाईं, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (बहुमत) लगायतका संगठनहरु अहिले लघुवित्त खारेजीको माग गर्दै सडकमा उत्रिएका छन् । यहीबेला लघुवित्तमा लाताबन्दी गर्ने र लघुवित्तकर्मीहरुमाथि दुव्र्यवहार गर्नुले लघुवित्तक्षेत्र थप त्राहिमाम बनेको छ । यतिसम्म कि कर्मचारीहरुले आफू लघुवित्तकर्मी भएको पहिचानसमेत लुकाउन थालेका छन् । लघुवित्तहरुलाई कार्य सम्पादनमा झनै ठूलो चुनौती सृजना गरेको छ ।
अझ त्यसमाथि गृहमन्त्रालयको सर्कुलरका बाबजुत सम्बन्धित जिल्लाको सुरक्षा संयन्त्रले लघुवित्तहरुलाई सुरक्षा दिन नसक्दा स्थिति थप त्राहिमाम बनेको छ ।
सिराहामा मात्र होइन नेकपा बहुमतका कार्यकर्ताले अन्य थुप्रै स्थानका लघुवित्तहरुमा पनि तालाबन्दी गरेका छन् । पार्टीका कार्यकर्ताले काभ्रेमा सामुदायिक लघुवित्त, दोलखामा एनआइसी एशिया लघुवित्त, सिन्धुपाल्चोकमा राष्ट्र उत्थान लघुवित्त, पाल्पाको आरम्भ चौतारी लघुवित्तसहित लुम्बिनीमा विभिन्न ६ लघुवित्तमा तालाबन्दी गरेका छन् । यो क्रम निरन्तर जारी रहने र देशभरका लघुवित्तमा तालाबन्दी गर्ने अभियानमा आफूहरु रहेको पार्टीका कार्यकर्ताको दाबी छ ।













