Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र उत्थान लघुवित्तमा पनि तालाबन्दी !

अर्थ सरोकार

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तमा तालाबन्दी गरिएको छ । बुधबार नेकपा (बहुमत)का कार्यकर्ताले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको राष्ट्र उत्थान लघुवित्तको कार्यालयमा तालाबन्दी गरेका हुन् । पार्टीका कार्यकर्ताले तालाबन्दी गर्दै ‘….लघुवित्तमा तालाबन्दी किन ?’ भन्ने ब्यानरसमेत टाँसेका थिए ।

यता लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष एवम् बर्तमान सल्लाहकार बसन्त लम्सालले जुन वर्गको हितको लागि भन्दै आन्दोलन भईरहेको छ, सोही वर्गको हितको लागि काम गर्ने लघुवित्तमाथि लगातार आक्रमण हुनु दुखद भएको बताएका छन् । निम्न वर्गको उत्थानका लागि भन्दै राष्ट्र बैंकबाट स्वीकृति लिएरै काम गरिरहँदा पनि लघुवित्तमै तालाबन्दी गर्नू अराजक भएको र यति हुँदा पनि राज्य गम्भीर नहुनु उदाशिनताको पराकाष्टा भएको उनको भनाई छ ।

एनआईसी एशिया लघुवित्तमा तालाबन्दी गरिएको छ । नेकपा (बहुमत)का कार्यकर्ताले दोलखाको चरिकोटस्थित संस्थाको कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले कार्यालय सञ्चालन भईरहेकै समयमा कर्मचारीलाई निकालेर कार्यालयमा ताला लगाएका हुन् । कर्मचारीलाई नै कार्यालयबाट निकालेर तालाबन्दी गरेपछि अहिले संस्थाको सम्पूर्ण सेवा प्रभावित भएको छ ।

केही समय अघिदेखि सुरु भएको लघुवित्तविरुद्धका कार्यक्रम अहिले उत्कर्षमा छ । एकातिर मनिराम ज्ञवालीको नेतृत्वमा संघर्ष समितिका नाममा लघुवित्तविरुद्ध आन्दोलन चर्किएको छ भने अर्कोतर्फ व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा पनि लघुवित्तका ऋणीहरुले लघुवित्तको विरोध जनाईरहेका छन् । उता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि लघुवित्तका कर्मचारीहरुलाई कालोमोसो दल्ने लगायतका गतिविधि गरिरहेको छ । यस्तो स्थितिमा नेकपा बहुमतले सुरु गरेको लघुवित्तविरुद्धको अभियानले लघुवित्तकर्मीहरु अझै मारमा परेका छन् ।

अझै त्यसमाथि गृहमन्त्रालयको सर्कुलरका बाबजुत सम्बन्धित जिल्लाको सुरक्षा संयन्त्रले लघुवित्तहरुलाई सुरक्षा दिन नसक्दा स्थिति थप त्राहिमाम बनेको छ ।

सिन्धुपाल्चोकमा मात्र होइन नेकपा बहुमतका कार्यकर्ताले अन्य थुप्रै स्थानका लघुवित्तहरुमा पनि तालाबन्दी गरेका छन् । पार्टीका कार्यकर्ताले काभ्रेमा सामुदायिक लघुवित्त, दोलखामा एनआइसी एशिया लघुवित्त, सिरहाको ग्लोबल आइएमई लघुवित्त, पाल्पाको आरम्भ चौतारी लघुवित्तसहित लुम्बिनीमा विभिन्न ६ लघुवित्तमा तालाबन्दी गरेका छन् । यो क्रम निरन्तर जारी रहने र देशभरका लघुवित्तमा तालाबन्दी गर्ने अभियानमा आफूहरु रहेको पार्टीका कार्यकर्ताको दाबी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK