×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

काभ्रेको सामुदायिक लघुवित्तमा ताला, लघुवित्तकर्मी भन्छन्-‘राज्य निरिह भयो’, प्रहरी भन्छ- ‘घटनाबारे थाहा छैन’

काठमाडौं । काभ्रेको सामुदायिक लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ । बुधबार काभ्रेको भकुण्डेबेसीमा रहेको लघुवित्तको शाखा कार्यालयमा नेकपा (बहुमत)का कार्यकर्ताले तालाबन्दी गरेका हुन् । यसअघि सो पार्टीले लघुवित्त संस्थाहरुविरुद्ध कार्वाही अभियान चलाउने निर्णय गरेको भन्दै सार्वजनिक विज्ञप्ती जारी गरेको थियो । उनीहरुले कार्यालयमा तालाबन्दी गरेपछि संस्थाको काम प्रभावित भएको छ भने संस्थाका कर्मचारीहरु अब कसरी काम गर्ने भन्ने अलमलमा छन् ।

यता जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक डुण्डीराज न्यौपानेले तालाबन्दीको विषयमा कुनै पनि जानकारी नभएको बताएका छन् । ‘कुन लघुवित्तको कुन शाखामा तालाबन्दी भएको हो, यो विषयमा हामीकहाँ कुनै पनि जानकारी छैन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै डिएसपी न्यौपानेले भने ।

यता लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्तविरुद्धको अभियान चल्नु समग्र वित्तीय सिस्टममाथिकै प्रहार भएको भन्दै दुःख प्रकट गरेका छन् । नेपाल राष्ट्र बैंकको नियमनमा रही काम गरिरहेका लघुवित्त वित्तीय संस्थामाथि धरपकड हुँदा पनि राज्यको उपस्थिति नहुनू थप चिन्ताजनक रहेको उनको भनाई छ । यता लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार बसन्त लम्सालले पनि चौतर्फी रुपमा लघुवित्तमाथि आक्रमण भईरहँदा राज्यले देखाएको निरिहताले आफूहरुलाई राज्यविहिनताको महशुस भएको बताएका छन् । प्रचलित कानुनविपरित लघुवित्त वित्तीय संस्था तथा ति संस्थामा कार्यरत कर्मचारीहरुमाथि आक्रमण हुनु राज्यको लाचारीको पराकाष्टा भएको उनको दाबी छ ।

केही समय अघिदेखि सुरु भएको लघुवित्तविरुद्धका कार्यक्रम अहिले उत्कर्षमा छ । एकातिर मनिराम ज्ञवालीको नेतृत्वमा संघर्ष समितिका नाममा लघुवित्तविरुद्ध आन्दोलन चर्किएको छ भने अर्कोतर्फ व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा पनि लघुवित्तका ऋणीहरुले लघुवित्तको विरोध जनाईरहेका छन् । उता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि लघुवित्तका कर्मचारीहरुलाई कालोमोसो दल्ने लगायतका गतिविधि गरिरहेको छ । यस्तो स्थितिमा नेकपा बहुमतले सुरु गरेको लघुवित्तविरुद्धको अभियानले लघुवित्तकर्मीहरु अझै मारमा परेका छन् ।

अझै त्यसमाथि गृहमन्त्रालयको सर्कुलरका बाबजुत सम्बन्धित जिल्लाको सुरक्षा संयन्त्रले लघुवित्तहरुलाई सुरक्षा दिन नसक्दा स्थिति थप त्राहिमाम बनेको छ । केही समयअगाडि बैंक तथा वित्तीय संस्था तथा तिनका कर्मचारीलाई सुरक्षा व्यवस्था मिलाउन र बैंक तथा वित्तीय संस्था, सहकारीविरुद्धका गतिविधि हुन नदिन, अलर्ट अवस्थामा रहन गृहले सबै जिल्लाका प्रहरी कार्यालयमा सर्कुलर जारी गरेको थियो ।

काभ्रेमा मात्र होइन नेकपा बहुमतका कार्यकर्ताले अन्य थुप्रै स्थानका लघुवित्तहरुमा पनि तालाबन्दी गरेका छन् । पार्टीका कार्यकर्ताले दोलखामा एनआईसी एशिया लघुवित्त, सिन्धुपाल्चोकमा राष्ट्र उत्थान लघुवित्त, सिरहाको ग्लोबल आइएमई लघुवित्त, पाल्पाको आरम्भ चौतारी लघुवित्तसहित लुम्बिनीमा विभिन्न ६ लघुवित्तमा तालाबन्दी गरेका छन् । यो क्रम निरन्तर जारी रहने र देशभरका लघुवित्तमा तालाबन्दी गर्ने अभियानमा आफूहरु रहेको पार्टीका कार्यकर्ताको दाबी छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: