Skip to content
LAXMI SUNRISE BANK

‘साधारण खर्च पनि धान्न नसक्ने गरी आय घट्नु दुर्भाग्यपूर्ण हो’ – अर्थमन्त्री महत

अर्थ सरोकार

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिएका छन् । भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका हुन् ।

भन्सारमा कडाईका साथ काम गर्नु भन्नुको अर्थ व्यवसायीलाई अनावश्यक दुःख दिनु भन्ने नरहेको अर्थमन्त्री महतको भनाई छ । ‘आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन ।’, उनले भने, ‘जायज कुराहरु के हुन् ? ती तपाईंहरुलाई नै थाहा छ । तर, कार्यान्वयन भइरहेको छैन । त्यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यस्तै, अर्थमन्त्री महतले आफ्नो नेतृत्वमा अर्थ मन्त्रालय पारदर्शी ढङ्गबाट काम गर्न लागिपरेको दाबी गरेका छन् । ‘जवाफदेही र जिम्मेवार बनाउने परम्पराको सुरुवात गरौँ ।’, उनले भने, ‘धेरै कारणबाट राजस्व घटेको छ । र राजस्व घट्नुमा सबै दोष भन्सारको पनि छैन ।’ योसँगै राजस्व चुहावट रोक्न सुरक्षा निकायसँग पनि गम्भीर छलफल गरिएको बताउँदै अर्थमन्त्री महतले दुवै सुरक्षा निकाय र भन्सार कर्मचारीको समन्वयमा निगरानी गर्न आग्रह गरेका छन् ।

‘धेरै भन्सार नाकाबाट राजस्व सङ्कलन घटेको छ । ती नाकाबाट पनि राजस्व चुहावट भएको खबर छ । भैरहवा, वीरगञ्ज, रसुवा नाकामा पनि त्यस्तै अवस्था छ । यसलाई गम्भीर ढङ्गबाट लिनुहोला ।’,– अर्थमन्त्री महतले भने ।

त्यस्तै, साधारण खर्च धान्न नसक्ने गरी आय घट्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै उनले अहिलेको अवस्थालाई राजनीतिक नेतृत्वले उच्च महत्व दिएको बताए । ‘राजनीतिक नेतृत्व यसमा गम्भीर छ । यो गम्भीरतालाई मध्यनजर राखेर जहाँजहाँ समस्या छन् ती समस्यालाई समाधान गर्न हाम्रोतर्फबाट कुनै कसर बाँकी राखिने छैन ।’, उनले भने, ‘उद्योगी व्यवयायीलाई अनावश्यक झन्झट, पीरमर्का परिरहेकाप्रति हामी संवेदनशील छौँ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK