×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

के गगन थापा रास्वपा प्रवेश गर्दैछन् ? कि प्रधानमन्त्री बन्न बार्गेनिङ गर्दैछन् ? (भिडियो ब्रिफिङ)

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनै लाग्दा धेरैको अपेक्षा थियो, अव रवि मात्र होइन नयाँ पुस्ताका अन्य दलका नेताहरु पनि रास्वपा आउँछन् र आउनुपर्छ । चुनावपछि त यो दल युवाहरुको दलझैं बन्यो । रवि, बिराजभक्त, तोशिमा, शोभिता, लगायतले भारी मतका साथ पार्टी शीर उँचो बनाए । ६ महिनाको प्रयासमै २० सिटको दल बनेको रास्वपामा नेपाली काँग्रेसका स्वर्णिम वाग्ले प्रवेश गरेर, चुनावमा गएर जितेर सांसद भएपछि त झन् अव कांग्रेस, एमालेका युवा नेताहरु रास्वपा ल्याउने प्रयासलाई स्वयम् रास्वपाका नेताहरुले जोड दिए । पछिल्लो समय नेपाली काँग्रेसका ठुला नेताहरुको नाम नै भ्रष्टाचारमा मुछिएपछि गगन थापाले अव त अत्ति भो भनेर दिएको अभिव्यक्ति रास्वपा प्रवेशको तयारीका रुपमा धेरैले लिएका छन् ।
हुन त काँग्रेस भित्र गगन, विश्वप्रकाशको आलोचना गर्नेहरुले राष्ट्रिय स्वतन्त्र पार्टी गगन र विश्वप्रकाशहरुकै सहयोगमा जन्मिएको पार्टीसमेत भन्न भ्याउने गरेका छन् । रास्वपाले गत चुनावमा गगन थापाको क्षेत्रमा आफ्नो उम्मेदवार फिर्ता गराउनुले सो आरोपमाथि बल पुगेकै हो । पछि स्वर्णिम वाग्लेको रास्वपाको प्रवेश सोहि आरोपलाई बल पुग्नेगरी संयोग बन्यो । र यहि शंका, उपशंकाका बीच नेपाली आएको नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापाको अभिव्यक्तिले खास अर्थ राख्न सक्छ नेपाली राजनीतिमा ।
थापाले पार्टीको निर्णय र पद्धति मन नपर्दा पनि धेरै समय मौन रहेको तर अब अति भएको भन्दै फेसबुकमा लेखेपछि यतिबेला नेपाली राजनीति तरंगित बनेको छ । धेरैपटक प्रतिरोध गर्न खोजेको तर पार्टीको जिम्मेवारीमा रहेको सम्झिएर मौन रहेको, पार्टीभित्रै मत र अडान राखेको तर अहिले अति भएको उनको भनाई छ । यसो त आफ्नो फेसबुकमा उनले कुनै निश्चित घटना उल्लेख गरेका छैनन् । तर पार्टीका निर्णय मन नपरेको, आफूले राखेका कतिपय विषयले प्रवेश नै नपाएको बेला प्रतिरोध गर्न मन लाग्दा पनि रोकिएको उनको भनाई छ । ‘तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’ उनले फेसबुकमा लेखेका छन् ।
राजनीतिक विश्लेषकहरुले गगन थापाको सो अभिव्यक्तिलाई विद्रोहका रुपमा लिएका छन् । विश्लेषकहरुको दाबी छ- कि गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्दैछन्, कि नेपाली काँग्रेस नै फुट्दैछ । यहि बेला कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले महामन्त्रीबाट राजिनामा दिने चर्चाले यी दुवै विषयलाई थप बढावा दिएको छ । अव गगन थापा र विश्वप्रकाश शर्मा कि त रास्वपा प्रवेश गर्छन्, कि काँग्रेस फुटाउँछन् कि यस्तै धम्की दिएर पार्टीमा आफ्नो पकड जमाउँछन् भन्ने विश्लेषण धेरैको छ ।
के गगन थापा र विश्वप्रकाश शर्मा रास्वपा प्रवेश गर्न सम्भव छ ?
यसको सहज जवाफ हो- छ । राजनीति एक त सम्भावना नै सम्भावनाको खेल हो, त्यसैले पनि यहाँ जे पनि हुन्छ र हुन सक्छ भन्ने कुरालाई नकार्न सकिन्न । दुई, युवाहरुको पार्टीमा युवाहरु आउनु ठुलो कुरै भएन । धेरैको जिज्ञासा हुन सक्छ, यति पूरानो र ठुलो पार्टी छोडेर गगन रास्वपा प्रवेश गर्लान् त ? किन नगर्नु ? पूरानै पार्टी छोडेर स्वर्णिम रास्वपा आएकै हुन् त । अव फेरी कुरा उठ्छ, स्वर्णिम त सभाषद थिएनन् र गए  होलान् नि, गगन त सांसद पनि छन् । तर यो बीचमा सत्य के पनि हो भने, गत चुनावमा गगन थापाको क्षेत्रमा रास्वपाले उम्मेद्वारी फिर्ता नलिएको भए गगन हार्थ्ये । यो सत्य गगन थापालाई राम्रोसँग थाहा छ । अव अर्को पटक चुनावमा हार्ने कि पार्टी नै परिवर्तन गर्ने विकल्प भईरहँदा गगन थापा रास्वपा प्रवेश गर्न सक्छन् भन्ने कुरामा दुई मत नै छैन ।
अव कुरा रह्यो विश्वप्रकाश शर्माको । विश्व प्रकाश शर्मा त झन् रास्वपाले ठाउँ दिने हो भने रास्वपा प्रवेश गर्नुका कति फाइदा छन् कति । एक त उनी जितिरहने नेता होइनन् । यसपटकचाहिं बल्ल जितेका नेता हुन् । अर्कोपटक उनलाई हराउन त रास्वपाका केन्द्रीय सदस्य रमेश प्रसाईं नै काफी छन् । बरु रास्वपाले उनलाई ठाउँ पो दिन्छ कि दिंदैन भन्ने हो । ठाउँ दिएको खण्डमा विश्वप्रकाश रास्वपा प्रवेश गर्नु कुनै ठुलो र नौलो कुरा अव रहन्न ।
गगन थापाको विद्रोह देखिने स्ट्याटसले कतै काँग्रेस फुट्ने संकेत गरेको त होइन ? भन्ने प्रश्न पनि उठेको छ । यदि कांग्रेस फुट्यो नै भने पनि अचम्म नमाने हुन्छ । नेपाली काँग्रेसमा सधैं देउवाकोमात्र कुरा चल्ने हुँदा अरु नेताहरु यसै पनि तनावमा छन् । गगन थापा र विश्वप्रकाशहरुले शेखर कोइरालाको साथ लिएर ल पार्टी फुटाउने निर्णय गरौँ भन्ने हो भने, असम्भव कुरा केहि पनि छैन । यसो हुँदा यता रास्वपा लाइटमा आउने, नयाँ काँग्रेसको हाइट पनि बढ्ने, नेपाली राजनीतिमा पूरानो कांग्रेसको हालतको अहिलेको माओवादी र समाजवादीझैं पनि हुन सक्ने सम्भावना बढ्ने लगायतका कारण नेपाली राजनीतिमा धेरैको आश  यस्तै होस् पनि छ । त्यसैले, यसलाई पनि सम्भावना मान्न सकिन्छ ।
गगन थापाको विद्रोहले अव पार्टीको नेतृत्व आफुले लिनुपर्छ भन्नेतर्फ पनि हुन सक्छ । यसअघि पनि उनले यो प्रयास गरेकै हुन् । अहिले सतहमा आएको नक्कली भुटानी सरणार्थी प्रकरणमा आरजुको नाम पनि जोडिएकाले देउवाले राजिनामा दिनुपर्ने, बालकृष्ण खाँडहरु साइड लाग्नुपर्ने र आफुले पार्टीको नेतृत्व लिनुपर्छ भन्ने गगन थापाको स्वाभाविक दाबी हुन सक्छ । यसमा उनलाई धेरै काँग्रेस नेताहरुले साथ दिने पनि पक्का छ । यसो भएको खण्डमा त  गगन थापा प्रधानमन्त्री हुने सम्भावना पनि बढेको छ । राजनीतिमा यो सम्भावनालाई निकै गहिरो अर्थ लगाएर हेरिएको छ ।
हुन त राजनीतिमा हर चीज सम्भव छ । यसपाली गगन थापाले कि कांग्रेस फुटाउछन्, कि रास्वपा प्रवेश गर्छन्, कि काँग्रेसकै नेतृत्व हत्याएर प्रधानमन्त्री बन्छन् भन्ने सम्भावनाले बलियो रुप लिंदै गरेको छ । यी तीनै चीजले समग्र माहोल थापाकै पक्षमा छ भन्ने देखाउँछ । हुन त यी तीनै चीजले स्वयम् नेपाली कांग्रेसलाई पनि फाइदा छ । गगनले पार्टीको नेतृत्व लिए यसै पनि पार्टी बलियो भईहाल्यो, गगनले काँग्रेस फुटाए पनि सच्चिने मौका भयो, यसै पनि नेपाली कांग्रेसलाई राम्रो भईहाल्यो, गगन रास्वपा प्रवेश गरे भने त यसै पनि काँग्रेसमा युवा भन्ने सिद्धिने जोखिम भयो, त्यसपछि नयाँ युवाहरुले काँग्रेसमा ठाउँ पाउने भए । यसलाई यसरी विश्लेषण गर्दा अन्याय पक्कै हुँदैन ।
गगन थापा कांग्रेसमै पनि एउटा आशा हुन् । अव उनीसँग सधैं भ्रष्टनेता हाम्रै पार्टीमा छन् भनिरहने छुट छैन । भाषण चर्का गर्ने तर पार्टीभित्र लाचार भईरहने छुट छैन । सोचेर, अझ हजार पटक सोचेर, हजार पनि किन, लाख, करोड पटक सोचेर अव परिवर्तनका पक्षमा गगन थापाहरु लाग्नुपर्छ । जय नेपाल भन्दै परिवर्तनको घन्टी बजाउन सायद समयले गगन थापाकै एक निर्णय कुरेको हो कि । देशको समृद्धिमा गगनको त्यहि निर्णय निर्णायक बन्छ कि ! आश गरौँ, तर राजनीति हो, भर नपरौं ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: