×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गर्दै नगरेको अपराधको सजाय भोग्दै बैंकर पवित्रा कटवाल, ‘ब्वाईफ्रेण्डलाई गिफ्ट दिन बैंक ठगेको कुरा १०० % झुटो’

खाँदै नखाएको बिष लाग्नुको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । भोग्नेलाई मात्र थाहा हुन्छ, गर्दै नगरेको अपराधको सजाय पाउनुको असीम दु:ख । गर्दै नगरेको कामको दोष पाउनुको बेदना भोग्नेलेबाहेक अरुले बुझ्न सक्दैन । जीवन चलाउन खाएको केहि हजारको जागिर गर्दागर्दै आफ्नो चरित्रमाथिनै प्रश्न उठेपछि कसलाई सह्य हुन्छ होला र ? हो, अहिले यस्तै पीडामा छिन् पवित्रा कटवाल । एभरेष्ट बैंक घोटाला प्रकरणमा प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएसँगै उनका बारेमा उनकै आफन्त र साथीभाईले चलाइदिएको गलत हल्लाको सिकार बनेकी छिन् पवित्रा यतिबेला ।
पवित्रा कटवालले ब्वाईफ्रेण्डलाई उपहार दिन बैंक ठगेको हल्ला फैलिएपछी अर्थ सरोकारले उनका केहि साथीहरुसँग सम्पर्क गर्ने प्रयास गर्यो । तर हाम्रो सम्पर्कमा आएका उनका साथीहरुमध्ये कसैले पनि यस्तो हल्ला सहि हो भनेनन् । बरु भेटिएका अधिकांसले पवित्रामाथि अन्याय भएको र यसको पनि कानुनी उपचार खोज्नुपर्ने बताईरहे । ‘कसैले कुन जुनीको रिस पोख्यो थाहा छैन, तर कसैले हल्ला चलाइदियो पवित्राले त ब्वाईफ्रेन्डलाई बाइक उपहार दिन बैंकको करोडौं रुपैयाँ ठगिन् भनेर । अनि कुरा बुझ्दै नबुझी, यथार्थ थाहा नै नभई लाइक कमेन्ट र सेयर गर्नेहरु बढे । एक पछि अर्कोले नबुझेर त्यसै लेख्यो, नबुझेरै लेखिएको चीज पढेर अर्कोले फेरी नबुझेरै कमेन्ट गर्यो, अर्कोले नबुझेरै सेयर गर्यो । हुँदा हुँदा एक रातमा एउटा नभएको असत्य यसरी फैलियो कि मानौं सामाजिक संजालका प्रयोगकर्ताहरुका लागि त्यहि नै सहि जस्तो भईसकेको छ । र यहि बेला पवित्राको सुन्दरताको रिस गर्नेहरुले, पवित्राले कति राम्रो काम गरिरहेकी छिन् है भन्ने सुन्ने नसक्ने डाहाडेहरुले, पवित्राको सानो र खुसी परिवार भएको देख्नै नसक्ने अपराधिक मानसिकताका फटाहाहरुले यो झुटो खबर फैलाईरहे । अझ, त्यसमा थपिए, केहि भ्युजको लोभ गर्ने मिडियाहरु, थपिए केहि थान टिकटकर र युट्युबरहरु । अनि त हुँदै नभएको गलत हल्ला फिजिएपछि अहिले पवित्राको परिवार असीम पीडामा छ ।’ अर्थ सरोकारको सम्पर्कमा आएका उनका एक साथी भन्छिन्- ‘हो, पवित्रा अहिले प्रहरी हिरासतमा रहेको कुरा सत्य हो । उनी काम गर्ने एभरेष्ट बैंकका कर्मचारी, जो उनका हाकिम थिए, उनले बैंकलाई ठगेको सत्य हो, बैंकबाट ग्राहकको करोडौं रुपैयाँ तीनै निरज प्रधान नाम गरेका व्यक्तिको डिजाइनमा हिनाहिमा भएको पनि सत्य हो । तर हाकिमले गलत गर्दैछ भन्ने थाहा नहुँदै हाकिमले गर भनेको काम गर्दा यतिबेला अनुसन्धानका लागि पवित्रा हिरासतमा छिन् । तर एभरेष्ट बैंकको सबै पैसा ठग्ने यीनै पवित्रा हुन् भनेजसरी उनका विरोधीहरुले हल्ला चलाए । हल्ला चलाउने अधिकांस अबुझहरु एभरेष्ट बैंकमै काम गर्नेहरुका आफन्त छन् । यसले पवित्राका विरुद्ध नियोजित प्रहार भईरहेको बुझ्न गाह्रो छैन ।’
उनका सार्है नजिकका साथीहरु पनि पवित्राको रिस गर्नेहरुले मौका यहि हो भन्ने शैलीमा उनको मानहानी गरेको दाबी गर्छन् । ‘बैंकमा निरज प्रधानको डिजाइनमा भएको करोडौंको घोटालामा पवित्राको संलग्नता छ वा छैन भन्ने कुरामा प्रहरीले अनुसन्धान गरिरहेको छ । तर बैंक स्वयम् भन्छ- बैंकले गरेको अनुसन्धानमा निरज प्रधान मात्र दोषी देखिएको थियो । अनुसन्धानका क्रममा अन्य कर्मचारीहरु पनि परेका हुन् । घटनाको सबै प्रकृति हेर्दा जे गलत भएको छ, त्यसमा प्रक्रियागत रुपमा पवित्राको काम, जो हाकिमले नै अर्हाएका थिए, मुछिएको छ । तर पूरा घटना, र घटनामाथि कसको नियत के छ भनेर विश्लेषण गर्दा पवित्रा निर्दोष देखिएकी छिन् । बैंकको प्रारम्भिक बुझाई पनि यहि हो । प्रहरीको पाटो हेर्दा अनुसन्धानका लागि शंकास्पद व्यक्तिहरु पक्रनु पनि प्रहरीको काम नै हो । तर मानवअधिकारको विश्वव्यापी सिद्धान्त हेर्दा, जघन्य अपराधका अभियुक्तहरुको तस्विर पनि बाहिर देखाइन्न । तर यहाँ त पवित्राको फोटो राखेर मनपरी लेख्नेहरु दिनदिनै बढीरहेका छन् । यो पवित्रामाथि सरासर अन्याय हो ।’ आफुलाई पवित्राको निकट साथी बताउने अर्की एक बैंकर भन्छिन्- ‘पवित्राले गलत नै गरेको भए पनि, यो केस अहिले अनुसन्धानका क्रममा छ । उनी अभियुक्त मात्र हुन्, अपराधी होइनन् । अझ प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पनि उनको खासै दोष छैन तर प्रक्रियामा उनी पनि मुछिएकी छिन् भन्ने छ । यता न उनको ब्वाईफ्रेन्ड छ, न ब्वाईफ्रेन्डलाई मोटरसाइकल गिफ्ट गर्न उनले बैंक ठगेकी हुन् । अनि हुँदै नभएको यस्तो हल्ला चलाएर सामाजिक संजाललाई असामाजिक बनाईरहेका छन् फटाहाहरुले । यहाँ त हामीले पवित्राको पक्षमा बोल्दा हाम्रैविरुद्ध पनि मानहानी हुने डर भयो ।’
यसो त यता प्रहरीसमक्ष पनि यस प्रकरणमा आफ्नो केहि पनि गल्ती नभएको बताएकी छिन् । हाकिमले गर भनेको काम बैंककै काम हो भनेर गरेको तर गलत काम गर्ने कुनै पनि बदनियत नभएको तर्क उनले गरेको स्वयम् प्रहरीको भनाई छ । प्रहरीले पनि बाहिर आएका हल्ला कसैले बदनियत राखेर चलाएको हल्ला भनेर बुझेको छ । उनका साथीभाई यो हल्ला कसले चलायो भनेर बुझ्ने प्रयासमा छन् । प्रारम्भिक रुपमा बुझ्दा हल्ला एभरेष्ट बैंककै कर्मचारीले चलाएको निष्कर्ष उनी निकटहरुको छ । समग्रमा ‘ब्वाईफ्रेण्डलाई गिफ्ट दिन बैंक ठगेको कुरा १०० % झुटो’ हो भन्ने निष्कर्षमा अधिकांस छन् । अनुसन्धान सकिएपछी पवित्रालाई कति गाह्रो हुन्छ होला भन्ने तनावले यतिबेला उनका शुभचिन्तकहरु ठुलो चिन्तामा छन् ।
हाम्रो भन्नु,
कुरा बुझ्दै नबुझी पवित्राको पवित्रतामाथि प्रश्न गर्ने हे समाजका असामाजिक कुलंगारहरु हो, किन बुझ्दैनौ, पवित्रा गलत भए उनलाई कानुनले सजाय दिन्छ । के तिम्रा घरका दिदिबहिनीलाई कसैले यस्तै लेखे तिमी साहना सक्छौ ? तिम्रा घरबाट विदाई भएर पराईघर गएकी तिम्री विवाहित बहिनीलाई कसैले यसको ब्वाईफ्रेन्ड छ र ब्वाईफ्रेन्डलाई गिफ्ट दिन यसले बैंक ठगेकी हो भन्दा तिमी सहन सक्छौ ? यदी सक्दैनौ भने पवित्राका दाजु वा भाईले यस्तो हुँदै नभएको हल्ला कसरी सहेका होलान् । कुरै नबुझी पवित्राबारे लेखिएको बदनियतपूर्ण स्ट्यातसमा कमेन्ट गर्नेहरुलाई प्रश्न, तिम्री श्रीमतीलाई कसैले यस्तै बात लगाए तिमी सहन सक्छौ ? अहँ सक्दैनौ । अनि आफ्नी श्रीमतीलाई कसैले नभएको बात लगाएको तिमी सहन सक्दैनौ भने कसैकी श्रीमतीमाथि किन यस्तो अपराध गर्छौ ! त्यसैले बिन्ती, दुई हात जोडेर बिन्ती छ, पवित्रा पनि कसैकी बहिनी हो, कसैकी श्रीमती हो, कसैकी आमा हो, नारीमाथि यति धेरै अन्याय विन्ती नगर ।
पवित्राले केहि गल्ती गरेकी रहिछिन् भने उनलाई कानुनले सजाय दिन्छ, र त त्यसैको छिनोफानो गर्न प्रहरीले अनुसन्धान गरिरहेको छ । उनी यस प्रकरणमा निर्दोष सावित भईन् भने उनले फेरी सोहि एभरेष्ट बैंकमा जागिर खानुछ, पाल्नु छ नि आफ्नो सन्तानलाई, बनाउनुछ नि आफ्नो भविष्य, बनाउनुछ नि आफ्नो करियर । अनि कसैको हल्लामा भड्किएर सिध्याउन खोजेको इज्जतमा टेक्न कति गाह्रो हुन्छ उनलाई भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ । एक त आफ्नो मान्छे प्रहरी हिरासतमा, दोश्रो हुँदै नभएको अफवाह, तेश्रो पीडामाथि पीडा, यति साह्रो अत्याचार त दुश्मनमाथि पनि कसैले गर्दैन, पवित्रालाई यति नचाहिने सजाय नदेउ कसैले प्लीज।
होला, पवित्रा राम्री छिन् भन्ने कुरा कसैलाई मन परेन होला, पवित्राको बोली बानी कसैलाई मन परेन होला । तर कसैले बदनियत राखेर उनको बेइज्जत गर्न खोज्दा अहँ, तपाईं हामीले सामाजिक संजालमा त्यस्ता कुराको प्रसय दिनु हुँदैन । हुँदै हुँदैन । किनकि हामी मान्छे हौँ । मान्छे भएपछि मान्छेजस्तै व्यवहार गर्नुपर्छ । अव, मान्छेका नाममा अरुको बेइज्जत गर्ने कुकुररुपी मान्छेहरुलाई त के नै गर्न सकिन्छ र !
फेरी पनि अनुरोध, आफुले राखेको पवित्रासम्बन्धि गलत पोष्ट हटाउनुहोला । सके माफी माग्नुहोला, माफी मागेर कोहि सानो ठुलो हुँदैन, नसके पनि पोष्टचाहिं हटाईदिनुहोला । यस्तो बदनियत राखेर आएको पोष्टमा कसैले पनि कमेन्ट वा लाइक नगरिदिनु होला । किनकि यो काम भनेको नैतिक जिम्मेवारीको मात्र होइन, कानुनीरुपमा अपराधमाथि संग्लनता पनि हो । पवित्रा जसरी हाकिमले गरेको गलत कामका विषयमा अनुसन्धानको पात्र बनेकी छिन्, उनका बारेमा गलत हल्ला चलाएर फेसबुकमा गलत कुरा पोष्ट गर्नेहरु त सिधै जेल जानुपर्ने विषय हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: