×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाज पचेका टोपबहादुर : पहिला लुके, राजनीतिक आडमा हाँस्दै हिरासत पुगे, कार्वाही होला ? (भिडियो ब्रिफिङ)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि गाडीका गाडी, कार्यकर्ताको लावालस्कर लगाएर सार्वजनिक कार्यक्रममा भाषण छाँटेका टोप बहादुर रायमाझी एकाएक फरार भए । उनी फरार भएपछि धेरैको चासो थियो, टोपबहादुर कता गए ? उनलाई कसले लुकायो ? पक्राउ पूर्जी जारी भएपछि रायमाझीले सुरुमा त कानुनलाई सघाउँछु भन्दै ठूलो फुर्ती लगाए तर चोरको खुट्टा काट भन्दा चोरले नै खुट्टा लुकाउँछ भनेझै उनी एकाएक मोबाइल अफ गरे अनि फरार भए । बैशाख २० गते अर्घाखाँचीको एक विद्यालयको कार्यक्रममा रहेका टोपबहादुरले त्यही बेला आफूविरुद्ध पक्राउ पूर्जी जारी भएको खबर पाएका थिए । त्यसपछि भैरहवा विमानस्थल हुँदै काठमाडौं जाने भरेर उनी बुटवलसम्म आए । त्यसपछि प्रहरी महानिरीक्षक बसन्त कुँवरसँग टेलिफोनमा संवाद गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै दोष छैन, म प्रहरीमै आएर आफ्ना कुरा राख्छु भनेका टोपबहादुर त्यसपछि एकाएक फरार भए । फरार भएका पनि के भन्नु फरार गराइए । चर्चा त यतिसम्म चलाइयो कि केही एमालेले उनलाई जोगाउन भारत पुगेको हल्ला चलाए तर उनी काठमाडौंमै आरामले बसिरहेका थिए । बालकोट र बालुवाटारको हल्लाकाबीच रायमाझी बुढानीलकण्ठबाट पक्राउ परे ।

तर, मानव तस्करीको बात लागेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बाहिर निस्किदा यसरी निस्किए मानौं उनी ठूलै युद्ध जितेर निस्किदैछन् । जब सोमबार रायमाझीलाई हिरासमतमा राख्न म्याद थपका लागि प्रक्रिया पुरा गर्न भन्दै सरकारी वकिलको कार्यालय लगियो, उनी पूरै प्रफुल्लित मुद्रामा देखिए । उनी प्रहरीको भ्यानबाट निस्किनेबित्तिकै सञ्चारकर्मीहरुले उनको तस्बीर खिच्न थाले । यत्रो काण्ड मच्याएर प्रहरीले पक्राउ गर्यो भनेर मुख लुकाउनुपर्ने बेला कुन्नी के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजसरी उनी मुस्कुराउँदै सेलिब्रेटी पोज दिन थाले ।

हुनत कोहीभन्दा कोही कम होइनन् तर पक्राउ पर्दा पत्रकारले फोटो खिच्छन् प्लिज मलाई छेकिदिनुस् भन्दै यसअघि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले प्रहरीलाई बिन्ती गरेका थिए, मास्क छ ? भनेर सोधेका थिए । तर लाजै पचाएका टोपबहादुर भने हँसिलो मुद्रामा उल्टै हिरोझैँ स्टाइल स्टाइलमा पोज दिन थाले । हिजो खाएको एक ग्लासले आजसम्म नछोडेको हो कि बाको आशिर्वाद परेपछि मामासँग केको डर भन्ने भएर हो ? टोपबहादुरले त चुनाव जितेझैँ गरि पोज दिए, त्यो पनि लाज पचाएर । हैन, कुनै युद्ध नै जिते जस्तो आत्मविश्वास चाहिँ कति खरोड खाएपछि आउँछ हँ ? टोपबहादुर को यो हर्कत देखेर सायद लाज पनि लजायो होला ।

वरिपरि प्रहरीले टोपबहादुर फेरी भागी पो हाल्छन् भनेजसरी घेरेको छ । संगठित अपराधको अभियोगमा प्रहरीले पक्राउ गर्दा टोपबहादुर कमरेड भने अभिवादन ठोकिरहे, नेपालका लागि ओलम्पिक स्वर्ण पदक प्राप्त गरेझैँ । यतिविधी तमासा गरेर, यत्रो काण्ड मच्चाएर अझ यसरी हिरोझैँ प्रस्तुत भएको देख्दा त उही रवि लामिछोनेले भनेझैँ भन्न मन लाग्छ । लाज पचेका नकचराहरुलाई टुँडीखेलमा राखेर, उडेर, घुमेर एक–एक किक हान्न मन छ, त्यो पनि नाकको डाडी भाँचिने गरी ।

अब भो, यो भन्दा धेरै नभनौँ । एउटा उखानै छ नि ‘गु मा ढुँगा हाने आफ्नै मुखमा छिट्टा’ । हो, पद र ओहोदाको ख्यालै नगरी देश बेच्ने बेचुवाहरुका बारेमा जति जे भनेपछि यसरी लाजै पचाउनेका अघि केही लाग्दैन । जे होस् ढिलै भए पनि भागेका, ए ए भागेका होइन भगाइएका तर पनि भाग्न नसकेका टोपबहादुर प्रहरीको हिरासतमा परेका छन् । अब उनी पनि पूर्वगृहमन्त्री खाँणसँगै हिरासतको चिसोमा उडुस र लामखुट्टेसँग दोहोरी खेल्नेछन् । आशा गरौँ, कुनै पनि राजनीतिक पावरका भरमा यो केस ढिसमिस पार्ने चेष्टा गरिनेछैन । र फेरी पनि भन्छौँ, निर्दोष नफसुन् र दोषी नउम्किउन । बाँकी त समयले देखाउनेछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: