काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले डाक्टर अर्थमन्त्री हुँदा नेपालको पूँजी बजारलाई झनै समस्या देखिने स्थिति बनेको बताएका छन् । सेयर लगानीकर्ताद्धारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सांसद ढकालले यस्तो बताएका हुन् ।
‘नेपालको राजनीतिक इतिहासमा जबजब नामको अगाडी डाक्टर भएका व्यक्ति अर्थमन्त्री बनेका छन् तबतब सेयर बजार विरोधी केही न केही नीति आएको देखिएको छ । यसअघि पनि डाक्टर अर्थमन्त्री हुँदा बजार विरोधी नीति आएको थियो र यसपाली पनि त्यही भयो ।’, सांसद ढकालले भने, ‘यो हामी सारा सेयर लगानीकर्ताका लागि दुर्भाग्य हो । झन् बुझेका, धेरै पढेका, डाक्टर भएका अर्थमन्त्री हुँदा सेयर बजारमैत्री नीति आउला भन्दा ठ्याक्क उल्टो भयो ।’
सरकारले ल्याएको विधेयक फिर्ता वा परिमार्जनका प्रक्रिया नबुझी केहि लगानीकर्ताहरुले आन्तरिक राजश्व विभागले जारी गरेको विज्ञप्तिअनुसार हुने भनेर बुझेको भन्दै उनले खासमा त्यस्तो नहुने र सरकारले नै विधेयक फिर्ता गर्नुपर्नेसमेत बताएका छन् । उनले आफु सेयर बजारका पक्षमा बिगतमा पनि लागेको र हाल पनि लगानीकर्तासँगै रहेको भन्दै आफु लगानीकर्तामाझ नै रहेकोसमेत बताएका छन् ।
‘विधेयक पारित भईसकेको छ । विधेयकमा उक्त विषय बुँदागत रुपमा उल्लेख भइसकेको छ । अनि विभागले प्रष्टिकरण दिएर के हुन्छ ?’, उनले भने, ‘यो नीतिले ५४ लाख लगानीकर्तालाई डुबाउँदैछ । त्यसैले यसको विरुद्धमा आवाज उठाउनै पर्छ र सांसद भएको हैसियतले यो विषयमा संसदमा जोडदारका साथ उठाउँछु ।’








प्रतिक्रिया दिनुहोस्