काठमाडौं । रामेछापमा विद्यालयले विद्यार्थीबाट शुल्क लिएर रसिद नदिने गरेको पाइएको छ । जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँको गोठपानीस्थित चण्डेश्वरी माध्यामिक विद्यालयले मनपरी गर्दै विद्यार्थीबाट शुल्क लिएर रसिद नदिने गरेको पाइएको हो ।
विद्यालयले विद्यार्थीबाट विभिन्न शुल्क लिए पनि रसिद नदिने गरेको विद्यार्थी रविन थापाले बताए । शुल्क बुझाएको रसिद माग्दा उल्टै विद्यालयका शिक्षकले ‘रसिद दिन मिल्दैन’ भन्दै थर्काउने गरेको उनको आरोप छ । ‘विद्यालयले आजसम्म विद्यार्थीहरुलाई कुनै पनि शुल्क तिरेको रसिद दिएको छैन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘बरु रसिद माग्दा शिक्षकहरुले उल्टै थर्काउनुहुन्छ । यो विद्यालयमा रसिद दिन मिल्दैन भन्नुहुन्छ ।’ थापाका अनुसार उनले सो विद्यालयमा अध्ययन गरिरहँदा कक्षा ११ मा कम्प्युटरको वार्षिक शुल्क ३६ सय रुपैयाँ तिरेका थिए । त्यसपछि कक्षा ११ मा उनले भर्ना शुल्क २ हजार, मासिक शुल्क २४ सय, रजिष्ट्रेशन फर्मको ११ सय ५०, परीक्षा शुल्क १ हजार, प्रयोगात्मक परीक्षा शुल्क १ हजार र कक्षागत किताब (लाईब्रेरी) शुल्क रु पाँच सय गरी कुल ८ हजार ५० रुपैयाँ तिरेका छन् । तर, विद्यालयमा भने उनले थप ३ हजार रुपैयाँ तिर्नुपर्ने देखिएको छ ।
आफुले तिर्नुपर्ने शुल्क सबै तिरिसक्दा पनि अझै बाँकी देखिएपछि विद्यालयमा पैसा तिरेको रसिद मागेको थापाले बताए । ‘मैले विद्यालयको नियमानुसार तिर्नुपर्ने सबै शुल्क तिरिसकेको छु । तर, विद्यालयमा अझै पनि मेरो नाममा बाँकी रकम देखिएको छ ।’, उनले भने, ‘त्यसपछि मैले विद्यालयसँग शुल्क बुझाएको रसिद मागेको हुँ । तर, आजसम्म कुनै पनि रसिद विद्यालयले दिएको छैन । मैले तिर्न बाँकी रकम के को हो ? भन्ने पनि थाहा छैन ।’
विद्यालयमा बुझाएको रसिद नदिएसम्म बाँकी तिर्नुपर्ने रकम नदिने अडान लिएपछि विद्यालयले परीक्षाको रिजल्ट नै रोकेको थापाको आरोप छ । ‘मैले तिर्न बाँकी देखिएको रकम के को हो ? त्यो त थाहा हुनुपर्यो नि, रसिद माग्दा दिन मिल्दैन भन्नुहन्छ ।’, उनले भने, ‘मैले रसिदको लफडा निकालेपछि मेरो वार्षिक परीक्षाको रिजल्ट नै रोकिएको छ । रिजल्ट किन रोकियो भन्दा ‘प्राविधिक कारणले विथहेल्ड (रद्ध गरिएको वा रोकिएको) रोकियो’ भन्नुहुन्छ, तर रसिदको लफडा निकालेकै कारणले मेरो रिजल्ट रोकिएको हो ।’

के भन्छ विद्यालय ?
यता विद्यालयका प्रध्याध्यापक केशवराज सापकोटाले भने विद्यालयमा रसिद दिने चलन नभएको स्वीकार गरेका छन् । ‘हामीले धेरैजसो त शुल्क नै उठाउँदैनौँ ।’, उनले भने, ‘कक्षा ११ र १२ मा विद्यार्थी संख्या थोरै छ, उनीहरुको आम्दानी/खर्च विवरण त राखेकै छौँ तर रसिद छपाएरै चाहिँ दिने गरेको छैन ।’ विद्यार्थी संख्या धेरै भए रसिद दिने थोरै भए नदिने नियम हो र ? भन्ने हाम्रो प्रश्नमा उनले जवाफ दिँदै भने– ‘होइन, कानूनतः त्यसो होइन । तर, हामीले अहिलेसम्म गरिआएको चाहिँ छैनौँ ।’
त्यस्तै, रिजल्ट रोकिएको विषयमा प्रअ सापकोटाले रसिद मागेकै कारण रिजल्ट रोकिएको भन्ने विषयमा सत्यता नभएको भन्दै विद्यालयको बचाउ गरे । ‘रसिद मागेकै कारण रिजल्ट रोकिएको भन्ने कुरा गलत हो ।’, उनले भने, ‘उहाँको रिजल्ट प्राविधिक कारणले रोकिएको हो । उहाँले प्रयोगात्मक परीक्षाको केही बुझाउन बाँकी थियो होला त्यसैले रोकिएको हो ।’, उनले भने, ‘अहिले त्यो समस्या समाधान भइसक्यो ।’
तर, विद्यालयमा प्रध्यानाध्यापक सापकोटाले रिजल्टको समस्या समाधान भयो भनेर सरासर झुठ बालेका छन् । विद्यालयका प्रअले समस्या समाधान भयो भने पनि रोकिएको रिजल्टबारे कुनै पनि समस्या समाधान नभएको र यस विषयमा विद्यालयका शिक्षक र आफूबीच कुनै पनि छलफल नभएको पीडित विद्यार्थी रबिन थापाले बताएका छन् ।

‘छानविन समिति बनाएर अनुसन्धान गर्छौं’- वडा अध्यक्ष
यसो त विद्यालयको उक्त मनपरीको विषयमा पीडित रबिन थापाले वडा कार्यालयमा समेत निवेदन दिएका छन् । शुल्क तिरेको रसिद पनि नदिने र रिजल्ट पनि रोकेर विद्यालयले भ्रष्टाचार गर्न खोजेको भन्दै थापाले वडा कार्यालयमा निवेदन दिएका हुन् ।
यता वडा नम्बर १ का अध्यक्ष रेखबहादुर खत्रीले उक्त विषयमा अनुसन्धान गर्न छानबिन समिति नै बनाएको बताएका छन् । ‘शुल्क बुझाएको रसिद नदिएको भन्ने विषयमा हाम्रो ध्यानाकर्षण भएको छ ।’, उनले भने, ‘हाल म काठमाडौंमा छु, फर्किने वित्तिकै यो विषय छानबिन गरेर टुङ्गो लगाउछौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्