×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेन शाहका ‘बोल्ड’ कामले माफियाहरु थुरुरु, नयाँ पूराना दललाई बालेनकै डर… (भिडियो ब्रिफिङ)

PRIME CA

बालेन शाहका ‘बोल्ड’ कामले माफियाहरु थुरुरु, नयाँ पूराना दललाई बालेनकै डर… (भिडियो ब्रिफिङ)

२० असार २०८०, बुधबार

पढ्न लाग्ने समय: < ४ मिनेट

मेरो देश त यसरी नै चलेको छ, जसरी बर्षौंदेखि बस् चल्नका लागि चलिरहेको थियो । भन्न त पशुपतिनाथले मात्र रक्षा गरेका छन् भन्छन् मेरो देशलाई, तर त्यहि पशुपतिको सुनमा पनि अनेक कुरा सुन्नुपर्यो हामी जनताले । र त जनताहरु बारम्बार भनिरहेका छन्, मेरो देश, जे आउँछ मज्जाले पचाउँछ ।

मेरो देश यहि हो, जो बर्षौंदेखि दुई सन्तान इश्वरको बरदान भनेर पाठ रटाउथ्यो अनि, अहिले त्यहि देशको स्थानीय तह जनसंख्या कम भो भनेर २ सन्तान भन्दा बढी जन्माउनेलाई ५ हजार रुपैयाँ पुरस्कार घोषणा गर्छ । मेरो देश त्यहि हो, जहाँ जनप्रतिनिधिहरु स्कुलका जस्तापाता चोरेर सुँगुरको खुर बनाउँछन् । मेरो देश त्यहि देश हो, जो अरवौंको धान आयात गरेर असार १५ मा खेतमा सुकिलो लुगामा नेताहरु रमिता देखाउँछन् अनि मेरो देश त्यहि हो, जहाँ भ्रष्टाचार, अनियमितता, मनपरी, बेथिति सामान्यजस्तै बनिसकेको छ । र पनि मेरो देश चलिरहेछ ।

खैर, यी त देशभित्रका दु:खका कुरा भए, अव केहि सम्भावनाका कुरा गरौँ । मेरो देशमा देशको राजधानी काठमाडौँमा काठमाडौँ महानगरपालिका छ, र त्यो महानगरमा अहिले बालेन्द्र शाह (बालेन) मेयर छन् । आजकल बालेनले गरेका कामहरु देख्दा लाग्छ, ओहो, एउटा मेयरको कति धेरै पावर हुने रहेछ है ? ओहो ! एउटा मेयरले चाहादा त कति धेरै परिवर्तन हुने रहेछ है । नेताहरुले गर्न नसकेका, नचाहेका, नखोजेका काम त एउटा मेयरको इक्षाशक्तिले सम्पन्न हुने रहेछ । यस्तो लाग्छ, यो देशमा मात्र २५ जना बालेन जस्ता नेता हुने हो भने यो देश साच्चै लोभलाग्दो देश बन्ने थियो । बालेनजस्ता केहि थान अरु मेयर मात्र हुने हो भने, जनताले कति सुविधा पाउने थिए होलान् ।

काठमाडौँ महानगरको मेयर हुँदादेखि नै बालेनले जे जे गरे, गर्दैछन् वा गरिरहेका छन्, त्यसले काठमाडौँ मात्र होइन नेपाली हुँ भन्न पनि बडो सान हुने खालको छ । यहि सहकारीकै केस हेरौं न । सहकारीका संचालक भकाभक जनताको अरवौं रुपैयाँ ठगेर भाग्दा पनि यो देशको सरकार चुइक्क बोल्दैन । तर यहि बेला काठमाडौँका मेयर बालेन्द्र शाहले सहकारीको समस्याप्रति चासो देखाएका छन् । पछिल्लो समय सहकारी भाग्ने र बचतकर्ताको बिचल्ली हुने क्रम बढेपछि मेयर शाहले सहकारीका बचतकर्तालाई सहकारीको ठगीबाट जोगिने ‘टिप्स’ दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायत तोकिएका विवरण नबुझाउने सहकारीलाई विवरण बुझाउन ३० दिनको समय दिँदै मेयर शाहले सहकारीको ठगीबाट जोगिन विभिन्न १० आग्रह पनि गरेका हुन् ।

मेयर शाहले सहकारी संस्थाहरु बैंक नभएर यी संस्थाहरु सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रण रहने हुँदा सहकारी सुशासनकालागि सदस्यहरुको निरन्तर निगरानी आवश्यक रहेको बताएका छन् । उनले सहकारी संस्थाको साधारण सभामा अनिवार्य उपस्थित हुन र संस्थाको कारोबारको बारेमा नियमित रुपमा जानकारी लिन पनि बचतकर्तालाई आग्रह गरेका छन् । योसँगै नियमित रुपमा साधारण सभा नगर्ने सहकारीहरुको बारेमा विभागमा जानकारी गराउन पनि मेयर शाहले आग्रह गरेका छन् ।

त्यस्तै, सञ्चालक समितिका पदाधिकारीहरुको आनीबानी र इमान्दारिताका बारेमा नियमित जानकारी लिन, बढी ब्याजको लोभमा लामो अवधिको अत्यधिक बचत नगर्न, सहकारी संस्थाका बारेमा अतिरञ्जित हल्लाका पछाडि मात्र नलागी यथार्थ अवस्थाबारे जानकारी लिन, कार्यक्षेत्रभन्दा बाहिर गएर कार्य गर्ने संस्थासँग कारोवार नगर्न, सञ्चालक समितिका पदाधिकारीहरुको पहिचान गरेर मात्र संस्थासँग कारोवार गर्न र सञ्चालक समितिका पदाधिकारीसँग नियमित संवाद र सम्पर्क राख्न मेयर शाहले बचतकर्तालाई आग्रह गरेका छन् । यस्तै, बालेनले आवधिक बचत जम्मा गर्दा जिम्मेवार पदाधिकारीको हस्ताक्षरयुक्त कागजातसहित निक्षेप निस्सा लिन र ऋण लिँदा सेवा शुल्क र ब्याज रकम यकिन गरी सम्झौता गरेर मात्र ऋण लिने र समयमा नै तिर्ने बानी बसाल्न पनि सहकारीका सदस्य तथा बचतकर्तालाई आग्रह गरेका छन् । बालेनले गरेको यस्तो सचेतना कार्यक्रमले महानगरबासीलाई मेयरका रुपमा भए पनि यो देशमा सरकार छ भन्ने प्रत्याभूति भएको छ ।

यता बालेनले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएका छन् । महानगरका संस्थागत (निजी) विद्यालयका शिक्षकबाट तलबका विषयमा गुनासो आउने गरेको समेत उनले उल्लेख गरेका छन् । ऐन अनुसारको तलव नदिनेहरुलाई कारवाही गर्छु भन्ने आँट गरेका छन् बालेनले ।

यति मात्र होइन शिक्षा क्षेत्रमा त क्रान्ति नै गरेका छन् बालेनले । काठमाडौँका स्कुलहरुमा नो बुक फ्राईडे लगायतका काम गरेर सबैको मनमनमा बसेका छन् बालेन । यति मात्र होइन, काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी आफैं छनोट गर्ने भएको छ । मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत् महानगरपालिले आफैंले विद्यार्थी छनोटका लागि पहल गरेका हुन् । उक्त परीक्षाबाट सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी, गरिब आदि आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गर्ने उनको दाबी छ । बालेन शाहले गरेको यो कामले पनि अहिले शिक्षाका नाममा लुट मच्चाउन पाईरहेकाहरु बाहेक सबै दङ्ग छन् ।

यता काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन् । प्राचीन सम्पदाको मौलिकता र सौन्दर्यतालाई जोगाउनका लागि सवारी प्रवेशमा निषेध लगाइएको मेयर शाहले बताएका छन् ।

बालेन शाहकै नेतृत्वमा काठमाडौँका सडकहरु सुन्दर बनिरहेका छन् । अव्यवस्थित पार्किङ्ग हटेको छ । काठमाडौँमा परिवर्तन देखिएको छ । राष्ट्र, राष्ट्रियताका सबालमा झन् अब्बल देखिएका बालेनले काठमाडौँमा गरेको शिक्षा क्रान्ति, महानगरभरी अव्यवस्थित वस्ती र पार्किङ्ग हटाउन गरेको पहल, नक्सा विपरित निर्माण भएका संरचना हटाउन गरेको पहल, स्कुलहरुको बदमासी विरुद्ध गरेको पहल लगायतका कामले उनी एक पछि अर्को गर्दै जनताको नजरमा हिरो बनिरहेका छन् ।

काठमाडौँका कलेजहरुलाई मनपरी शुल्क नलिन उनले चेतावनी दिईसकेका छन् । कति के शुल्क लिईराखिएको छ, त्यसको विवरण महानगरमा बुझाउन पनि उनले सम्बन्धित सबैलाई जानकारी गराईसकेका छन् । हरेक दिन केहि न केहि राम्रो कामको थालनी गरिरहेका बालेनले यसरी नै जनताको मन जितिरहेका छन् ।
बालेन शाहका यस्तै गज्जबका काम देखेर अहिले जनताहरु भनिरहेका छन्, अव बालेन देशको प्रधानमन्त्री हुनुपर्छ । बालेनले अव दल खोल्नुपर्छ र संसदमा जानुपर्छ । बालेनसँग सबै नेतालाई ठिक पार्ने ल्याकत छ, त्यसैले बालेनले नै यो देशको नेतृत्व लिनुपर्छ अव । बालेनको काम गराईले आफु र आफ्नो दललाई जनताले विश्वास नै नगर्ने देखेपछि अहिले बालेनलाई आफ्नो दलमा ल्याउन हरेक जसो दलले कोसिस गरिरहेका छन् । तर बालेन निरन्तर आफ्नो काममा लागिरहेका छन् । र त आज बालेन फगत एक नेता मात्र होइन, बालेन अव एउटा नीतिझैं बनिसकेको छ । अव कम्युनिजम वा क्यापिटलिजम होइन यो देशमा बालेनिजम चाहिएको छ भन्न थालिसकेका छन् नागरिक । र त काठमाडौँ यो देशको राजधानी भन्दा पनि बढी जनताको नजरमा बालेनको शहर भएको छ । (भिडियो)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: