काठमाडौँ । अहिले सामाजिक संजालमा एउटा स्ट्याटस भाइरल छ । जसमा लेखिएको छ- ‘कुमारी बैंक घोटाला प्रकरणमा पूर्व सिइओसहित ११ जनाको नाममा १ अर्ब १० करोड बिगो दाबी गर्दै पक्राउ पुर्जी जारी गरिएको छ।
धन्यवाद क. प्रचण्ड / Comrade Prachanda सरकार ।’ एक होइन, दुई होइन, दर्जनौंले यो स्ट्याटस आफ्नो फेसबुकमा सेयर गरेका छन् । धेरैले कुमारी बैंकका पूर्व सीइओ अनुजमणि तिमिल्सिनाको फोटो नै राखेर उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको भन्ने खबर लेखेका छन् ।





तर यो हल्ला गलत भएको पाइएको छ । हालसम्म तिमिल्सीनाका विरुद्ध कुनै पनि पक्राउ पूर्जी जारी भएको छैन । बरु उनीसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले १ अर्ब २० करोडको मागदाबी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको भने हो । यो प्रकरण कुमारी बैंकमा भएको घोटाला प्रकरणसँग जोडिएको घटना हो ।
तिमिल्सीना लगायत कुमारी बैंकका अन्य कर्मचारी मिलेर फर्जी कागजात बनाएर लिएको कर्जा रकम मेरालायन इन्टरप्राइजेज कम्पनी प्रालिको नाममा प्रयोग गरी सम्पत्ति शुद्धीकरणको कसुर गरेको विभागको दाबी छ । विभागले जारी गरेको विज्ञप्ति अनुसार उनीहरुबिरुद्द सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा १, २, ७ र ८ बमोजिम अलग–अलग सजाय माग गरेको छ । विभागले त्यसै ऐनको दफा ३४ को उपदफा १ र २ बमोजिम अपचलन भएको रकम जफत गर्न समेत विशेष माग गरेको छ ।
यद्यपी तिमिल्सीना लगायत अन्य कुनै कर्मचारी पनि पक्राउ परेको वा उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको भन्ने खबर भने गलत हो ।