×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धु बिकास बैंकमा डरलाग्दो घोटाला, जनताले बैंकमा डिपोजिट गरेको रकम मेनेजरद्वारा झ्वाम् ! (भिडियो ब्रिफिङ)

PRIME CA

सिन्धु बिकास बैंकमा डरलाग्दो घोटाला, जनताले बैंकमा डिपोजिट गरेको रकम मेनेजरद्वारा झ्वाम् ! (भिडियो ब्रिफिङ)

२१ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: < ६ मिनेट

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा ठगीका घटनाहरु खास नौला होइनन् । ठग्न पाएपछि न सप्तकोशी डेभलपमेन्ट बैंकका सीइकओले ठग्न छोडे, न सिन्धु बिकास बैंकमा मेनेजरले । अझ बैंकभित्र घोटाला हुनु, बैंकबाटै पैसा हराउनु लगायतका घटना झन् झन् बढिरहेका छन् हाम्रो देशमा । धन्न राष्ट्र बैंक छ, र नेपाली जनताको पैसा कसैगरी पनि सुरक्षित छ बैंकमा । नत्र त बैंक नामधारी तर सहकारी भन्नजति पनि लायक नरहेका केहि बैंकहरु उहिले नै डुबिसक्थे । र आज हामी तपाईंहरुलाई एक बैंकमा भएको त्यस्तो घटनाबारे बताउँदैछौं, जसबारे सुनेपछि तपाईंहरुले जिब्रो टोक्नुहुनेछ, र भन्नुहुनेछ, ओहो ! कसरी सम्म ठग्न सकेको  होला ग्राहकहरुलाई ! कति आँट आएको होला, ग्राहक ठग्न । त्यसमाथि पनि महिला नै महिला भएको ब्रान्चमा महिला ब्रान्च मेनेजरको ग्राण्ड डिजाइनमा यसरी ठगी भएको छ कि मानौं यो नेपालको कुनै बैंकको घटना होइन, बरु कुनै हिन्दी फिल्मको कहानी हो ।
हो दर्शकवृन्द, सिन्धु बिकास बैंकमा ४ महिला बैंकरहरु मिलेर निक्षेपकर्ताको करोडौं रुपैयाँ हिनामिना भएको पाइएको छ । बैंककी ब्रान्च मेनेजर रुक्सा श्रेष्ठको मुख्य डिजाइनमा बैंकका अन्य कर्मचारीहरु एलिसा श्रेष्ठ बस्नेत, नीतिका श्रेष्ठ, र अस्पना श्रेष्ठको ‘ग्याङ’ नै मिलेर निक्षेपकर्ताको करोडौं रुपैयाँ हिनामिना भएको पाइएको हो । हाल रुक्सा श्रेष्ठ, अस्पना श्रेष्ठ र एलिसा श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने नीतिका श्रेष्ठ फरार छिन् । प्रहरीले उनीविरुद्ध वारेन्ट जारी गरेको छ ।
के हो सिन्धु बिकास बैंकको करोडौं घोटाला प्रकरण- २ ?
२०७६ साल देखि रुक्सा श्रेष्ठ सिन्धु बिकास बैंकको बाह्रबिसे साखामा साखा प्रबन्धक थिईन् । बैंकमा रिलेसन मेनेजर र अपरेशन इन्जार्च हुँदै बैंककी मेनेजर भएकी थिईन् उनी । यो बीचमा उनको कारोबार पदम प्रधान नाम गरेका व्यक्तिसँग हुँदै थियो । पदम प्रधान बैंकिङ कसुरका धेरै मुद्धा भोगिसकेका व्यक्ति रहेको पाइएको छ । पेशाले सुन व्यापारी रहेका प्रधान श्रेष्ठबाट पैसा लिन्थे र चलाउँथे । यसवापत प्रधान श्रेष्ठलाई चर्को व्याज पनि तिर्थे । चर्को व्याज आउने भएपछि रुक्सा श्रेष्ठले बैंकमा आएका ग्राहकको पैसा लिन्थिन्, भौचरमा छाप र सहि गरेर पठाउँथिन् तर पैसा डिपोजिटरको खातामा नराखी आफैँ राख्थिन् । र सो पैसा पदम प्रधानलाई दिन्थिन् उनी ।
यसरी पैसा चलाउने ग्राहकमध्ये अधिकांश सोझा जनता र उनका आफन्त नै छन् । उनी सिधै आफुलाई भेटेर पैसा डिपोजिट गरिदिए राम्रो ब्याज आउनेगरी पैसा डिपोजिट गरिदिने प्रलोभन देखाउँथिन् । उनको प्रलोभनमा लोभिएका उनका आफन्त र अन्य निक्षेपकर्ता काउन्टरमा नगएर सिधै उनलाई भेटेर पैसा दिन्थे । रुक्साले उनीहरुको चेकबुकपछाडी पैसा यति भयो भनेर लेखेर पठाईदिन्थिन् । कुनै दिन पैसा झिक्नुपर्यो वा ब्याजको हिसाब लिनुपर्यो भने ती डिपोजिटरहरु पुन: रुक्साकहाँ पुग्थे । उनी आफुले राखेको हिसाब र उनीहरुको चेकबुकमा राखेको हिसाब रुजु गरेर उनीहरुको ब्याज र चाहिएको पैसा दिन्थिन् । यसरी बैंकको सिष्टममा पैसा नै नछिरी निक्षेपकर्ताको करोडौं रुपैयाँ रुक्साले चलाईरहिन् । यो केस थाहा पाउँदाको दिनसम्म उनको डिजाइनमा हिनामिना भएको रकम पौने ३ करोड पुगिसकेको थियो ।
कसरी भयो घोटाला ? 
एक दिन बार्हबिसेबासी एक ग्राहक बैंकको हेडअफिसमा आएर आफुले बैंकमा राखेको पैसा खातामा नभएको दाबी गरे । बैंकले उनको खातामा पैसा हेर्यो, तर त्यहाँ पैसा थिएन । बैंकले उनलाई डिपोजिट गरेको भौचर माग्यो । उनले सो भौचर हरायो वा कहाँ छ खोजेर पठाईदिन्छु भने । बैंकले भौचर नभएको र खातामा पैसा नभएको भन्ने हुनै नसक्ने भन्ने ठानेर यो केसलाई सामान्य लियो । र ‘तपाईं ढुक्क हुनुहोस्, तपाईंसँग भौचर छ भने तपाईंको पैसा कतै जाँदैन, बैंक सुरक्षित ठाउँ हो’ भनेर पठाए ।
तर केहि दिनपछि केसले अर्कै मोड लियो । सो ग्राहकले आफुले बैंकमा जम्मा गरेको रकमको भौचर पठाए । बैंकका कर्मचारी त्यतिबेला अचम्ममा परे, जतिबेला सो भौचर सक्कली भएको पाइयो, तर भौचरमा उल्लेख भएझैं पैसा नीजको खातामा थिएन । त्यसपछि बैंकले यस विषयमा आन्तरिक अनुसन्धान गर्यो । बैंकको एक टोली बार्हबिसे साखामा पुगेर आन्तरिक अनुसन्धान गर्दा सो भौचरको रकममात्र होइन, धेरै ठाउँमा कैफियत भेट्टायो । बैंकले आफ्ना कर्मचारीहरुबाट बदमासी भएको ठहर गर्दै यस विषयमा थप अनुसन्धान गर्दै अगाडी बढ्यो । बैंकले करिव ३ महिना लगाएर आन्तरिक अनुसन्धान गर्दा बैंकमा आफ्नै कर्मचारीबाट चरम बदमासी भएको पाइयो ।
बैंकको आन्तरिक अनुसन्धानका क्रममा रुक्सा श्रेष्ठको ग्राण्ड डिजाइनमा यस्तो बदमासी हुने गरेको पाइयो । रुक्साको बदमासीमा बैंकका अन्य कर्मचारीहरु एलिसा श्रेष्ठ बस्नेत, नीतिका श्रेष्ठ, र अस्पना श्रेष्ठको पनि मिलेमतो देखियो । यसरी नीतिका श्रेष्ठले गरेजसरी अन्य कर्मचारीले पनि ग्राहकको पैसा लिने, सिष्टममा नदेखाउने र सो रकम अन्य ठाउँमा प्रयोग गर्ने गरेको तथ्य आन्तरिक अनुसन्धानबाट पत्ता लाग्यो । यतिसम्मकि बैंकका कर्मचारीले आफ्ना श्रीमानलाई निक्षेपकर्ताको पैसा चलाउन दिएकोसमेत पत्ता लाग्यो ।
यतिन्जेलसम्म धेरै ग्राहक बैंकमा आएर आफ्नो पैसाको क्लेम गरिरहेका थिए । उनीहरुसँग बैंकको डिपोजिट भौचर थियो, तर उनीहरुको खातामा पैसा थिएन । यसरी बैंकका कर्मचारीहरुको मिलेमतोमा थुप्रै पैसा हिनामिना गरेको पत्ता लागेपछि बैंक उनीहरुविरुद्ध केस गर्ने तयारीमा जुट्यो । तर यसअघि बैंकको दोलालघाट साखामा भएको करोडौंको घोटाला प्रकरणमा प्रहरी केस गर्दा पैसा नउठेको अनुभव भोगेको बैंकले पहिला पैसा उठाउने रणनीति बनायो । बैंकले आफ्ना कर्मचारी, र पैसा अपचलनमा संग्लग्नहरुलाई बोलाएर पैसा तिर्न, अन्यथा प्रहरीमा केस गर्ने भन्दै धम्की दियो । प्रहरीले समात्ने डरले पैसा अपचलन गरेकाहरुले केहि पैसा तिरे पनि । कतिले जग्गा बेचेर पैसा तिरे, कतिले गाडी बेचेर पैसा तिरे । तर सबै पैसा बैंकले उठाउन सकेन, किनकि उनीहरुको पैसा पनि अन्यत्र लगानी भईसकेको थियो । तर यो घटनामा बैंककै गल्तीका कारण अहिले अभियुक्तहरु फरार पनि छन्।
बैंकले तत्काल प्रहरीलाई खबर नगर्दा भागे अभियुक्त ! 
बैंकले तत्काल यो केस थाहा पाउने बित्तिकै प्रहरीको सहयोग लिनुपर्थ्यो । तर तत्काल प्रहरीलाई खबर गर्दा सबै हिरासतमा जाने र डिपोजिटरको पैसा पनि फस्ने भन्दै बैंकले त्यसो गरेन । यहि नगर्दा रुक्सा श्रेष्ठबाट सबै भन्दा बढी पैसा लिएर अपचलन गर्ने पदम प्रधान र रुक्साका श्रीमान् बासु श्रेष्ठ प्रहरीबाट उम्कन भागे । अहिले उनीहरुलाई प्रहरीले खोजी त गरिरहेको छ तर भेट्न सकेको छैन । यो बीचमा सुन व्यापारीसमेत रहेका पदम प्रधानले आफु पैसा तिर्न तयार भएको तर केहि समय चाहिएको बताउँदै आएका थिए । बैंकसँग त्यसो भनेकै दिन उनले १२ लाख रुपैयाँ बैंकमा जम्मासमेत गरेका थिए । तर आफ्नो पैसा हराएको बताउँदै बैंक आउने डिपोजिटरहरुको संख्या ह्वात्तै बढ्न थालेपछि बैंकले सो प्रेसर धान्न सकेन र प्रहरीमा जाहेरी दियो ।
प्रहरीमा जाहेरी दिएपछि प्रहरीले सुरुमा गत जेठ २५ गते रुक्सा श्रेष्ठलाई पक्राउ गर्यो । त्यसपछि क्रमश: अन्य कर्मचारीहरु पनि पक्राउ परे । अस्पना श्रेष्ठका श्रीमान राज भाई श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गर्यो । आफ्ना साथीहरु पक्राउ परेको थाहा भएपछि बैंककी अर्की कर्मचारी नीतिका श्रेष्ठ पनि फरार भईन् । फरार भएकाहरुविरुद्ध प्रहरीले वारेन्ट जारी गरेको छ । झट्ट हेर्दा, सबै महिला कर्मचारी, हेर्दै सबै सोझा देखिने, यस्ता सोझा केटीहरुले के गलत काम गर्छन् होला र भनेझैं लाग्ने । तर निधारमा कसैको यसले गलत गर्छ लेखेको हुने रहेनछ, सिन्धु बिकास बैंकमा पनि त्यस्तै भयो।
बैंकको साखाभरी सबै महिला कर्मचारी, एक बाहेक सबैको मिलेमतो !
बैंकका सूचना अधिकारी रविन कुँवर क्षेत्रीले दिएको जानकारी अनुसार बैंकको सो साखामा सबै महिला कर्मचारीहरु थिए । ५ कर्मचारीहरुमध्ये एक जनाको यस घटनामा संलग्नता रहेको पाइएन भने अरु सबै कर्मचारीहरुको मिलेमतो पाइएपछि बैंकले प्रहरीमा जाहेरी दिएको हो । बैंकले गरेको आन्तरिक अनुसन्धानका क्रममा पनि यो घोटाला प्रकरणमा सबैभन्दा ठुलो हात रुक्सा श्रेष्ठको रहेको, सबै भन्दा बढी पैसा उनले पैसा दिने पदम प्रधान र उनका श्रीमानले अपचलन गरेको र बाँकी कर्मचारीहरु पनि रकम अपचलनमा संलग्न रहेको पाइएको छ । कुल घोटाला भएको पौने ३ करोडमध्ये १ करोड ४४ लाख रुपैयाँ उठ्न बाँकी देखिएको छ । तर यो केस चलिसकेपछि अन्य निक्षेपकर्ता पनि उजुरी लिएर आएको र सबैलाई चौतारा प्रहरीकहाँ पठाइएको सूचना अधिकारी गिरीको भनाई छ । यसले सिन्धु बिकास बैंक कति असुरक्षित छ भन्ने पनि पुष्टी गरेको छ।
सार्है असुरक्षित देखियो सिन्धु बिकास बैंक
यसो त सिन्धु बिकास बैंकमा भएको घोटाला यो पहिलो भने होइन । यसअघि पनि बैंकको दोलालघाट साखामा बैंकका कर्मचारीको मिलेमतोमा करोडौं रुपैयाँ घोटाला भएको थियो । सो घोटालामा संलग्न बैंकका कर्मचारी अहिले जेल जीवन बिताईरहेका छन् । त्यतिबेला पनि ग्राहकबाट पैसा लिने, सिष्टममा चढाउने तर पैसा जम्माचाहिं नगर्ने गरेको पाइएको थियो । पछि बैंकले यो केस पत्ता लगाएर प्रहरीमा जाहेरी दिएपछि प्रहरीले दोलालघाट साखाका कर्मचारीहरुलाई पनि पक्राउ गरेको थियो । पछि अन्य कर्मचारीहरु रिहा भएका थिए भने घटनाका मुख्य अभियुक्त जेल चलान भएका थिए । यसरी थोरै मात्र साखा संजाल भएको बैंकमा यसरी पटकपटक करोडौं रुपैयाँ घोटाला भएको तथ्यले बैंकको सुरक्षामाथि नै प्रश्न उठाएको छ ।
हरेक पटक सिन्धु बिकास बैंकमा नै यस्तो किन भईरहन्छ ? यस्ता घटना किन बैंकको आन्तरिक इन्सपेक्सन वा राष्ट्र बैंकको इन्सपेक्सन वा लेखापरीक्षणका क्रममा भेटिंदैन । सुन्दा सामान्य तर यी गम्भीर प्रश्नहरुमाथि नियामक पनि गम्भीर बनोस् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: