×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली सर्टिफिकेट देखाएर जागिर खाने ६ जना ‘साथीभाई’ पक्राउ परेपछि सिटिजन्स बैंकमा अन्य नक्कलीहरुको छटपटी !

PRIME CA

नक्कली सर्टिफिकेट देखाएर जागिर खाने ६ जना ‘साथीभाई’ पक्राउ परेपछि सिटिजन्स बैंकमा अन्य नक्कलीहरुको छटपटी !

३० श्रावण २०८०, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । नक्कली सर्टिफिकेटका आधारमा जागिर खाएको भन्दै सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ परेपछि बैंकका अन्य नक्कली सर्टिफिकेटधारीहरुको छटपटी देखिएको पाइएको छ । बैंकमा नक्कली सर्टिफिकेट देखाएर जागिर खाएका तर अहिलेसम्म जोगिएकाहरुको छटपटी देखिएको हो । सोमबार प्रहरीले नक्कली सर्टिफिकेटका आधारमा काम गरिरहेको भन्ने सूचनाका आधारमा बैंकका विभिन्न शाखाका ६ जना कर्मचारीलाई पक्राउ गरेको थियो । बैंकले नै उजुरी गरेपछि उनीहरु पक्राउ परेका थिए ।
बैंकले उजुरी नगरेसम्म जोगिने भन्दै केहि नक्कली सर्टिफिकेटधारीहरुले यतिबेला हाकिमको खुब चाकडी गरिरहेको बैंकका कर्मचारीको दाबी छ । ‘देशभरका साखाहरुमा कार्यरत साथीहरुको सर्टिफिकेट छानविन गर्ने हो भने सिटिजन्स बैंकमा ३० बढी अन्य कर्मचारीको सर्टिफिकेट नक्कली छ । कतिपय साथीहरु त अन्य बैंकमा सर्टिफिकेट नक्कली भएको थाहा भएपछि निकालिएका तर सिटिजन्स बैंकले राखेका कर्मचारीहरु पनि छन् ।’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बैंकका एक उपल्लो तहकै कर्मचारीले अर्थ सरोकारसँग भने -‘सीइओ सापले कसलाई जोगाउने, कसलाई सिध्याउने भन्ने मात्र हो । छानविन गर्ने हो भने सिटिजन्स बैंकका धेरै कर्मचारी पक्राउ पर्छन् ।’
उनले पक्राउ परेकाहरुलाई सिटिजन्स बैंकले नै उजुरी गरेर पक्राउ गर्न लगाएको दाबी गरे । ‘अहिले पक्राउ परेकाहरुलाई बैंकले उजुरी गरिदिएको हो । बैंकले उजुरी नगरेका तर नक्कली सर्टिफिकेटका आधारमा जागिर खाने यहाँ (सिटिजन्स बैंकमा) धेरै छन् ।’
बैंकको विभिन्न शाखाबाट नक्कली सर्टिफिकेटका आधारमा काम गरिरहेका ६ कर्मचारी पक्राउ परेपछि यस विषयमा सम्बन्धित निकायले थप छानविन गर्नुपर्ने माग स्वयम् बैंकका अन्य कर्मचारीहरुले गरेका छन् । बैंकका कतिपय कर्मचारीहरु नक्कली सर्टिफिकेटधारीहरुविरुद्ध गोप्य रुपमा उजुरी गर्ने तयारीमा समेत रहेको बताइएको छ । ‘हाम्रो सेक्युरिटीको पनि रिस्क छ । हामी गोप्य रुपमा उजुरी गर्दैछौँ । अर्थ सरोकारलाई बोद्धार्थ पठाउनेछौँ ।’ प्रहरीसमक्ष उजुरी गर्ने तयारीमा रहेका ती कर्मचारीले अर्थ सरोकारसँग भने ।
यसो त अनुशासनको कारवाही भोगेका व्यक्ति गणेश राज पोखरेल नै बैंकको सीइओ भएपछि आफुले कम्प्लाइन्सको विषयमा सिटिजन्स ठिक छैन भनेर निष्कर्ष निकालिसकेको उनको दाबी छ । ‘अर्थ सरोकारले नै प्रमाणसहित सिटिजन्स बैंकका सीइओ गणेश राज पोखरेल नियामकबाट अनुशासनको कारवाही भोगेका व्यक्ति हुन् भनेर प्रकाशित गरेको थियो  । यति हुँदा पनि राष्ट्र बैंकले पोखरेललाई केहि गरेन । उनको दोश्रो कार्यकाल पनि नवीकरण भयो । यसमा राष्ट्र बैंकमा कसले लविङ्ग गर्यो होला भन्ने कुरा मैले भन्नै परेन । तर अव नक्कलीहरुको भन्डाफोरचाहिं गर्नुपर्छ । यति भएपछि पोखरेल स्वयम् नै सीइओ हुन नैतिक समस्या भएका व्यक्ति हुन् भन्ने तथ्य पनि बाहिर आउँथ्यो कि !’
हाल नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ पर्नेमा बैंकको बुटवलको ड्राइभर टोल ब्रान्चकी मनिषा मास्के, मणिग्राम ब्रान्चकी गोमा ज्ञवाली, कालिकानगर ब्रान्चकी कल्पना खत्री र प्रतिक्षा रेग्मी तथा बुटवल ब्रान्चका खिमानन्द गौतम र दिपक विष्ट छन् । हाल उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: