×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकमा मनपरीको हद : रकम अपचलन गर्नेलाई स-सम्मान बिदाई, ग्राहकको नागरिकता दुरुपयोग गर्ने अझै जागिरमा !

PRIME CA

एभरेष्ट बैंकमा मनपरीको हद : रकम अपचलन गर्नेलाई स-सम्मान बिदाई, ग्राहकको नागरिकता दुरुपयोग गर्ने अझै जागिरमा !

३१ श्रावण २०८०, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । पछिल्लो समय ग्राहकको पैसा हराएको प्रकरणदेखि कर्मचारीले चरम रकम अपचलन गरेको प्रकरणमा मुछिएको एभरेष्ट बैंकमा मनपरीको हद रहेको पाइएको छ । प्रहरीमा उजुरी गर्नुपर्ने केसलाई सुटुक्क भित्रभित्रै मिलाएर सो कर्मचारीलाई ससम्मान बिदा गर्नेदेखि ग्राहकको नागरिकता लगायत गोप्य रहनुपर्ने कागजको हदैसम्मको दुरुपयोग गर्नेलाई अझै जागिरमा राखिएको प्रकरणसम्म आईपुग्दा बैंकको हदैसम्मको मनपरी छताछुल्ल भएको हो ।
नागरिकता दुरुपयोग गर्ने कर्मचारी अझै जागिरमा !
बैंकको पुलचोकस्थित साखाकि एक कर्मचारीले केहि समय अगाडी ग्राहकको नागरिकता दुरुपयोग गरी नक्कली डिम्याट खाता खोली गैरकानुनी कारोबार गरेको रहस्य बाहिरिएको थियो । बैंकका २ दर्जन बढी ग्राहकको नागरिकता दुरुपयोग गरी ती कर्मचारीले ग्राहकहरुको संवेदनशील डकुमेन्टहरुको दुरुपयोग गरेको केस बाहिरिएको थियो । बैंकले त्यतिबेला नै ती कर्मचारीलाई प्रहरीको जिम्मा लगाउनुपर्ने थियो । तर पावरका भरमा ती कर्मचारीहरुलाई ती डिम्याट खाता बन्द गर्ने सर्तमा छोडियो । अहिले पनि ती कर्मचारी बैंकको अर्को एक शाखामा कार्यरत छिन् । उनले त्यहाँ पनि बदमासी नगर्लिन् भन्न सकिने अवस्था नरहँदा नरहँदै बैंकले हदैसम्मको बदमासी गरिरहेको र ग्राहकका गोप्य कागजातको दुरुपयोग गर्नेहरुलाई संरक्षण गरेर ग्राहकमाथि नै अन्याय गरेक पाइएको छ ।
प्रहरीको जिम्मा लगाउनुपर्नेलाई सुटुक्क ससम्मान बिदाई ! 
यस्तै केस बैंकको एलसी विभागमा घटेको छ । एलसी विभागमा काम गरेका महर्जन थरका एक कर्मचारीले एलसी खोल्दा ग्राहकले राखेको मार्जिन रकमको चरम दुरुपयोग गरे । यतिसम्म कि बैंकमा रहेको रकम उनले आफ्ना आफन्तको नाममा ट्रान्सफर गरे, र दुरुपयोग गरे । पछि उनको अर्को एक शाखामा सरुवा भयो । उनले त्यहाँ पनि सो बदमासी रोकेनन् र त्यहाँ रहेको पैसा पनि चरम दुरुपयोग गरे । बैंकभित्र व्यापक रकम दुरुपयोग गरेको भेटिएपछि बैंकले त्यतिबेला आशुतोष शर्माको नेतृत्वमा छानविन समिति बनायो र छानविनका क्रममा पनि ती कर्मचारीले हदैसम्मको बदमासी गरेको पाइयो । तर प्रहरीलाई जिम्मा लगाउनुपर्ने ती व्यक्तिलाई बैंकले सबै हिसाब गरेर स-सम्मान बिदा गरिदियो । उनले अरु पनि बदमासी गरेका छन् कि भन्ने विषयमा बैंकले अलिकति पनि सोचेको पाइएन ।
सूचना अधिकारी सूचना लुकाउँछन्, सीइओ फोन उठाउँदैनन्, आसुतोष शर्मा भेट्न बोलाएर बिदामा बस्छन्
बैंकमा यस्ता थुप्रै गलत काम भएका छन् । तर ती घटना मिडियामा आउने डरले बैंक प्रहरीलाईसमेत खबर गर्दैन । मिडियाले सूचना माग्दा सूचना अधिकारी केशब पौडेलको रेडिमेड उत्तर हुन्छ- कि थाहा छैन, बुझेर खबर गर्छु, कि हो र ? मलाई त थाहा नै भएन त । त्यसपछि न उनको फोन उठ्छ, न उनको खबर आउँछ ।
यता बैंकका मनपरी बारे गुनासो गर्न वा धारणा माग्न फोन गर्दा सीइओ फोन उठाउँदैनन् । अर्कोतर्फ आफैंले छानविन गरेको केसमा थप जानकारी मिडियाले माग्दा आसुतोष शर्मा भेटेर सबै कुरा भन्छु भन्छन्, भेट्न पनि बोलाउँछन् अनि भेट्ने समय हुन लागेका बेला म बिदामा छु भोलि भेटौं भन्छन् । भोलिपल्ट कुन बेला भेट्ने भन्ने खबर पठाउँदा उनी फेरी बेखबर हुन्छन् ।
यता एभरेष्ट बैंकभित्र यो हदसम्मको मनपरी हुँदा पनि नेपाल राष्ट्र बैंक भने चुप देखिएको छ । नेपाल राष्ट्र बैंकको यो मौनतालाई पनि शंकाको दृष्टिले हेर्न थालिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: