×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंकका मेनेजरमाथि ऋण मिलाईदिन ९० लाख घुस खाएको आरोप, के भन्छन् मेनेजर ? (भिडियोसहित)

अर्थ सरोकार

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार

PRIME CA

नेपाल एसबिआई बैंकका मेनेजरमाथि ऋण मिलाईदिन ९० लाख घुस खाएको आरोप, के भन्छन् मेनेजर ? (भिडियोसहित)

काठमाडौं । ऋण मिलाईदिएवापत बैङ्कका कर्मचारीले घुस खान्छन् भन्ने गाईगुईं यसअघि पनि अलिअलि सुनिने गरेको जरुर थियो । हुन त ऋणीको रकम नै आफ्नो खातामा सार्ने एभरेष्ट बैंकका कर्मचारीको हर्कत देखेका नेपालीले, ग्राहकको रकम आफैं हजम गरिदिने सिन्धु बिकास बैंकका कर्मचारीको मनपरीसमेत देखेका नेपालीका लागि बैंकका कर्मचारीले ऋण मिलाईदिएवापत घुस खान्छन् भन्ने चर्चा यसै पनि पत्याउने नै भए । अर्कोतर्फ देशका विभिन्न ठाउँहरुमा त बैंकका कर्मचारीले ऋण मिलाउँदा घुस खाने मात्र होइन, ऋणको रकम नै आफैँ खाईदिने गरेका विभिन्न उदाहरणहरु यसअघि पनि हामीले पटक पटक देखेका छौँ । त्यसैले पनि बैंकका कर्मचारीले ठुलो ऋण मिलाईदिँदा केहि पैसा खाए भन्ने तथ्य कतिपयका लागि त सामान्यजस्तै लाग्छ होला । तर अहँ, १ रुपैयाँ नै सहि, ऋण मिलाईदिएवापत कसैले घुस खान पाउँदैन, किनकि यो गैरकानुनी काम हो ।
यसैबीच अहिले एउटा घुस प्रकरण सतहमा छ । सहकारी ठगी प्रकरणमा अहिले प्रहरीको हिरासतमा रहेका शिव शिखर अर्जनाईजेसनका मालिक  केदारनाथ शर्माको बयानमा शर्माले बैंकबाट ऋण लिँदा ९० लाख घुस बुझाएको आरोप लगाएपछि अहिले यो प्रकरण सतहमा छ । शर्माले सीआईबीमा दिएको बयानका अनुसार नेपाल एसबिआई बैंकबाट ९० करोड कर्जा लिँदा घुसबापत ९० लाख रुपैयाँ बुझाएको आरोप लगाएका छन् । ‘पुष्कर मल्ल (शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालक समितिका सदस्य तथा शिखर अर्गनाइजेशनका मेनेजर) को व्यक्तिगत खातामा जम्मा भएको ८९ लाख १३ हजार रकम समेत गरी ९० लाख एसबिआई बैंकका कमर्शियल ब्राञ्चका शाखा प्रबन्धक मनोज गौतमले शिवशिखर खाद्य उद्योगको नाममा स्वीकृत भएको ९० करोड ऋण बापत १ प्रतिशतका दरले हुन आउने रकम शिखर अर्गनाइजेशनको अफिसमा आई पुष्कर मल्लमार्फत ४० लाख र ५० लाख गरी ९० लाख लिएका हुन्’, शर्माको बयानमा उल्लेख छ । र अहिले शर्माले दिएको यहि बयानका कारण आरोपित गौतम, नेपाल एसबिआई बैंक र समग्र यो प्रकरण चर्चामा छ ।
हुन त घुस खानेले मैले घुस खाएको हो, मलाई हतकडी लगाउ र जेल लैजाउ त पक्कै भन्दैन, तर पनि यस्तो आरोप त्यो पनि चानचुने मान्छेले होइन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लिएको बयानमा अदालतमा पेश हुने अभियोगपत्रमै उल्लेख भएपछि यस विषयमा सम्बन्धित बैंक र नियामक निकाय स्पष्ट र सचेत हुन जरुरी छ । आरोपित मनोज गौतमले घुस खाएको भनेर सीआईबीमा कसैले बयान दिएको छ र सो बयान उल्लेखित अभियोगपत्र अदालतमा पेश नै भईसकेको छ भने नीज गौतममाथि पनि अनुसन्धान पक्का जरुरी छ । तर यतिबेला गौतम भनिरहेका छन्, यो सब कसरी भयो थाहा छैन, तर मैले एक रुपैयाँ पनि घुस खाएको छैन ।
घुस खाएको आरोप लागेका नेपाल एसबिआई बैंकका ब्रान्च मेनेजर मनोज गौतमले आफुले शिवशिखरका तर्फबाट एक रुपैयाँ पनि घुस नखाएको र आफुले कहिं कतैबाट ऋण दिंदा घुस खाएको प्रमाणित भए आफु जस्तोसुकै सजाय भोग्न पनि तयार भएकोसमेत दाबी गरेका छन् । लामो प्रयासपछि अर्थ सरोकारको सम्पर्कमा आएका उनले सहकारी ठगी प्रकरणमा केदार शर्माको बयानका क्रममा आफ्नो नाम कसरी उल्लेख भयो भन्ने कुराले आफु पनि अचम्मित भएको र सो कार्यले आफ्नो चरित्रहरण हुने काम भएको दाबी गरेका छन् ।
यता सीआईबीको तर्क भने बेग्लै छ । आरोपित शर्माले बोल्दै नबोलेको कुरा बयानमा उल्लेख नहुने सिआईबीको तर्क छ । सीआईबीको तर्कमा कहाँनेर दम छ भने यसो त बयान भनेको आरोपितले बोलेका कुरा लेख्ने हो, अव त्यसै कसैको नाम लेखिदिने कुरा पनि पक्कै हुँदैन । त्यसमाथि नाम लेखिदिएकै कारण नीज काम गर्ने बैंक र बैंकको साखा पनि जरुर मिल्दैनथियो होला । त्यसैले पनि गौतमले कहींकतै त केहि पक्कै बिराएका छन् भन्ने शंका गर्ने ठाउँ छ । यता हामीसँगको कुराकानीकै क्रममा पनि गौतमले यस विषयमा खबर आएपछि आफुले केदारनाथ शर्मालाई भेटेरै यस विषयमा सोधेकोसमेत दाबी गरेका छन् । यसको अर्थ उनी केदारनाथसँग नजिक थिए, र त सजिलै भेट्न पाए भन्ने तर्क पनि बलियो बन्न सक्छ । खैर, यस विषयमा हामीले कसैको धारणा बुझ्ने भन्दा पनि प्रहरीले, अख्तियारले, सम्पत्ति शुद्धिकरणले, राष्ट्र बैंकले वा कुन कुन निकायको क्षेत्राधिकार हो, सो निकायले गौतममाथि अनुसन्धानगरी सत्य तथ्य पत्ता लगाउन जरुरी छ।  किनकि सीआईबीमा केदारनाथ शर्माले गरेको बयानपछि अधिले बैंकरहरुको पनि शीर निहुरिएको स्थिति छ । उनले घुस खाएका थिएनन् भने पनि यो तथ्य स्पष्ट बाहिर आउनुपर्छ, र घुस खाएका रहेछन् भने त झन् कारवाही हुनुपरिहलायो । तर कसैले दिएको बयान त्यतिकै दिएछ, खै के भएको हो कुन्नि भनेर यो कुरालाई त्यतिकै छोडियो भनेचाहिं यसले समाजमा पार्ने असर पक्कै पनि ठुलो हुन्छ ।
र यति ठुलो आरोप लागिसक्दा पनि गौतम बैंकमै रहनु भन्दा पनि उनलाई यो आरोप गलत प्रमाणित नहुँदासम्म उनलाई बैंकले बिदा गर्न सक्नुपर्छ । किनकि यो आरोप कुनै सामान्य मान्छेले चियगफमा लगाएको आरोप होइन, बरु केदारनाथ शर्माजस्ता राष्ट्रिय सहकारी ठग आरोपितले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा दिएको बयान हो । बयान अभियोगपत्रका रुपमा अदालतमा पेश भएको छ । अदालतले यो आरोपभन्दा पनि बढी यो केसमा शर्माको केस बढी हेर्छ, त्यो सत्य हो, तर यसो भन्दैमा गौतमले विना अनुसन्धान यो प्रकरणबाट छुट पाउनु हुँदैन । (भिडियो)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: