×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बालेनको आक्रोशले उठाएका प्रश्नमा सरकार गम्भीर होस्, बिरामीको संवेदनशीलता नबुझ्नेलाई कारवाही होस्’ (सम्पादकीय)

अर्थ सरोकार

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार

PRIME CA

‘बालेनको आक्रोशले उठाएका प्रश्नमा सरकार गम्भीर होस्, बिरामीको संवेदनशीलता नबुझ्नेलाई कारवाही होस्’ (सम्पादकीय)

कोटेश्वर चोकमा बेलुकी प्रहरीले बिरामी बोकेको काठमाडौँ महानगरको गाडी रोकेर सोधपुछ गर्यो । गाडीभित्र बिरामी अवस्थामा थिइन् काठमाडौँ महानगरका मेयर बालेन शाहकी पत्नी सविना काफ्ले । अर्थात काठमाडौँ महानगरको गाडी एम्बुलेन्सका रुपमा प्रयोग भएको थियो । तर मेयरपत्नी सविना बिरामी अवस्थामा छिन् र अस्पताल जान लागेको भन्दा पनि प्रहरीले अनावश्यक केरकार गरिरह्यो । शनिबार सरकारी गाडी किन चलाएको ? अनुमति खोई भनेर प्रहरीले केरकार सुरु गर्यो । अत्यावश्यक बेलामा महानगरको गाडी एम्बुलेन्सका रुपमा प्रयोग भएकाले सो गाडीसँग शनिबार चलाउने अनुमति हुने कुरै भएन । बिरामी बोकेको छ, भित्र मेयरपत्नी बिरामी अवस्थामा हुनुहुन्छ भन्दा पनि प्रहरीले केरकार गरिरह्यो । अत्ति भएपछि ड्राईभरले प्रहरीसँग ठुलो स्वर गरे, त्यसपछि प्रहरीले गाडी छोडिदियो । बिरामीपत्नीलाई बोकेको महानगरको गाडी रोकेर प्रहरीले दुख दिएपछि मेयर बालेन शाहले आक्रामक स्ट्याटस लेखे, जुन अस्वाभाविक छँदै थिएन । भएको यत्ति थियो, तर कुरै नबुझी मेयर बालेनविरुद्ध सरकार पक्षका कार्यकर्ताहरुदेखि उनका विरोधीहरुले चर्को स्वर गरे, र गरिरहेका छन् ।
बालेनपत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी छिन् । कार्यक्रमको सुरुमै बालेन दम्पतिलाई असीम बधाई । आमा छोरीकै स्वास्थ राम्रो रहोस्, हाम्रो कामना । आमाबुवा हुँदाको खुसी आमाबुवा हुनेहरुले मात्र महसुस गर्न सक्छन्, यो मातृत्व अनुभवका लागि सविनालाई करोडौं बधाई । छोरी त संसार हुन्, छोरी त देवी हुन् । घरमा देवीको आगमन भएर छुट्टै खुसीको संसार जितेकोमा बालेनलाई करोडौँ बधाई । मेयर साप, तपाईं हामी सबैको मेयर हो, गज्जब काम गरिरहनुभएको छ, तर यो बेला घर परिवारमा पनि अलि समय दिनुपर्छ, कसले के भन्छ मतलव नराखी आमाछोरीको ख्याल गर्नुहोला, फेरी पनि बधाई छ ।
अव लागौं मूल प्रसङ्गतर्फ । छोरीलाई जन्म दिने बेला, वा दिईसकेपछि आमा अस्वस्थ हुनु, ज्यानमा सन्चो नहुनुजस्ता अवस्था आउँछन् नै । यो बेला आमाको विशेष ख्याल गर्नुपर्छ नै । मेयर बालेन शाह पत्नीको हकमा पनि उनी अलि बिरामी थिइन् । बिरामले अलि बढी च्यापेपछि उनलाई आकस्मिक अस्पताल लगिंदै थियो । शनिबार नै ज्यानलाई सन्चो भएन त उनको के दोष थियो र ? एम्बुलेन्स बोलाउँदा समय लाग्न सक्थ्यो, घरमा भएको महानगरको गाडीमा उनलाई अस्पताल लैजानेहरुको के दोष थियो र ? ट्राफिकले बीचमा रोक्यो यहाँसम्म ठिकै थियो । तर सामान्य मानवीय संवेदना पनि नबुझेर भित्र बिरामी हुनुहुन्छ भन्ने भन्दाभन्दै पनि अनुमतिपत्र खोई, को को हो ? जस्ता अनेक केरकार गरेर बिरामीलाई समयमै अस्पताल लैजानुपर्ने स्थितिमा अवरोध सिर्जना गर्दा कुन आफन्तलाई रिस उठ्दैन ? अनि अस्पतालसम्म पुग्नुपर्ने आफ्नी श्रीमतीलाई बीचमा ट्राफिकले रोक्दा कुन श्रीमानलाई रिस उठ्दैन होला र ? हो, बालेनको आक्रोश आवेगमा आयो होला, शब्दचयन मिलेन होला, तर उनको आक्रोशमा तुक छ, मन्त्रीका गाडीलाई शनिबार पनि सलाम ठोक्ने प्रहरीले बिरामी छ भन्दाभन्दै पनि अनेक केरकार गरेर थप पीडा दिन्छ भने त्यो गलत नै हो, बालेनको आक्रोश स्वाभाविक नै हो ।
तर जव बालेन शाहले स्ट्याटस लेखे, आजलाई भैगो, भोलिबाट महानगरका कुनै गाडी रोके सिंहदरबार नै आगो लगाईदिन्छु, याद राख चोर सरकार भन्ने अभिव्यक्ति दिए त्यसपछि बालेनको विरोध सुरु भयो । कतिले त कुरै नबुझी मेयर शाह र उनकी पत्नी दर खान हिंडेका थिएसम्म भने । तर बालेनपत्नी त अस्पताल जाँदै थिइन् । कुरै नबुझी कतिपयले त बालेनको मनपरी बढी भयो भन्नसम्म पनि भ्याए । तर कुरै नबुझी बालेनको विरोध गर्नेहरुले बुझेनन्, बालेनको ठाउँमा उनीहरु भएको भए के यस्तो बेलामा सरकारको जयजयकार गर्थ्य र ? अनि नानीको आमा बन्दै गर्दा वा भर्खर बन्दा कोहि आमा तीजको दर खान बाहिर हिंड्छ र ? यो भन्दा तल्लो स्तरको आरोप अरु केहि हुन सक्छ र ? के मान्छेमा मानवीय संवेदना भन्ने चीज हुनुपर्दैन र ?
बालेन फगत काठमाडौँका मेयर मात्र होइनन्, उनी स्वयम् एउटा आन्दोलन हुन् । युवाको प्रतिनिधि हुन् । र उनको आक्रोश पनि युवाको आक्रोश हो । अरु देशमा भए बच्चालाई जन्म दिने आमा र बच्चा जन्मिसकेपछि आमा छोरा दुवैको लालनपोषण गर्ने दायित्व सरकारको हुन्थ्यो । तर नेपालमा त धेरै आमाहरु बीचबाटोमै बिजोग अवस्थामा रहनुपर्ने स्थिति छ । मन्त्रीका लागि, प्रधानमन्त्रीका लागि शनिबार कहिल्यै नलाग्ने देशमा एउटी विरामी महिला अस्पताल जाँदा ट्राफिक प्रहरीको दादागिरी चल्छ भने के त्यो आक्रोशपूर्ण चीज होइन ? समयमा नै अस्पताल पुग्न नपाएर बालेनपत्नी सविनालाई केहि भईदिएको भए त्यसको जिम्मा कसले लिन्थ्यो ? के मान्छेको जीवन भन्दा ठुलो कुरा अरु केहि रहन सक्छ ? यस विषयमा ट्राफिक दाजुहरु पनि संयम बन्न जरुरी छ नि, छैन र ?
हो, रिस उठ्दा शब्द ख्याल गरिन्न, विद्रोह गर्दा कानुन हेरिन्न । तर पनि रिस कन्ट्रोल गरेर बालेनले सरकारलाई चोर नै नभनेको भए राम्रै हुन्थ्यो । हुन त अहिलेको सरकारलाई चोर भन्नै नहुने स्थिति छ जस्तो धेरै जनतालाई लाग्दैन । तर पनि कहिलेकाहीं कालो मान्छेलाई काले भन्दा रिस उठ्छ नि, डल्लो मान्छेलाई डल्ले भन्दा रिस उठ्छ नि, त्यस्तै सरकारलाई चोर भन्दा पनि रिस उठ्न सक्छ । ठाउँमा बसेको जिम्मेवार मान्छेले शब्दचयनमा अलि ख्याल गरेको भए पक्कै राम्रो हुन्थ्यो । तर सरकार र तिनका अन्धभक्तहरुले पनि बुझ्नुपर्छ, कुरा शब्दको होइन, कुरा सारको गर्नुपर्छ । बालेनको आक्रोशभित्र शब्दमा केहि कमजोरी जरुर भयो होला, तर सारमा सरकारले सुधार्नुपर्ने कुरा पक्कै छ ।
अनि ट्राफिक प्रहरीज्यूहरुले पनि ख्याल गर्नुपर्यो, शनिबार हिंडेका गाडीहरुलाई रोक्नु ठिक काम हो, तर बिरामी छ भन्ने जान्दाजान्दै अनेक बहानामा विरामीलाई रोक्नु, अनावश्यक केरकार गर्नु भने राम्रो काम पक्कै होइन । ट्राफिक प्रहरीका यस्तै हर्कतले गर्दा हो सामाजिक संजालभरी कुना कुनामा ढुकेर, चिट काट्न पल्केका चोरहरु भनेर ट्राफिक प्रहरीकै विरोध भईरहेको छ । यस विषयमा प्रहरी पनि सतर्क हुनैपर्छ । कानुन सबैले मान्नुपर्छ, त्यसमा कुनै दुईमत छैन, तर प्रहरीभन्दा पहिले कहिलेकाहीं मान्छे भएर मान्छेको संवेदना पनि बुझ्नुपर्छ । बच्चाको आसमा त्रासमा रहेकी आमाको भाव बुझ्नुपर्छ, आमा बनेपछिको थप थप स्वास्थ्यपीडामा रहेकी आमाको अनुनय सुन्नुपर्छ । मान्छे भएपछी मान्छेजस्तै व्यवहार गर्नुपर्छ, मानव अधिकारको पनि ख्याल गर्नुपर्छ ।
जाँदाजाँदै बालेनलाई हाम्रो सुझाव, तपाईंले मेयरका रुपमा गज्जब काम य्गरिरहनुभएको छ । यहि कारण तपाईंका थप दुश्मन बढेका छन् । तपाईं आक्रोश अस्वाभाविक छैन, तर रिसले कसैको भलो गर्दैन, यहि कुरालाई कुटनीतिक रुपमा भनिदिएको भए तपाईंको उचाईं अझ माथि जान सक्थ्यो।  हुन त कुटनीतिको भाषा नबुझ्ने सरकारलाई चोर सरकार भन्दा उत्पन्न भएको तरङ्गले सरकारको सहि हैसियत देखाउने तपाईंको प्रयास पनि हुन सक्छ, अहिले आम युवावर्गको आक्रोश पनि यहि हो, र पनि मेयर भएपछि शब्द छनोटमा थोरैमात्र ख्याल गरिदिए ती सरकारका झोलेहरुको पनि मुख बन्द हुने थियो कि भन्ने मात्र हो । बाँकी त, अझै राम्रो काम गर्नुहोला, बाबु बन्नुभएकोमा फेरी पनि बधाई, काठमाडौँलाई तपाईंजतिको मेयर जसरी चाहिएको छ, त्यो भन्दा बढी तपाईंकि श्रीमती र छोरीलाई यो बेला तपाईं चाहिएको छ, उहाँहरुको स्वास्थ्यको ख्याल गर्नुहोला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: