×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर ब्रोकरको नयाँ संघलाई मर्जरका लागि फकाउँदै एसबिएएन, ‘नआउनु आईहाल्नुभो, अव मिलौँ…’ 

PRIME CA

सेयर ब्रोकरको नयाँ संघलाई मर्जरका लागि फकाउँदै एसबिएएन, ‘नआउनु आईहाल्नुभो, अव मिलौँ…’ 

२४ भाद्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । कुनै बेला समय यस्तो थियो, स्टक ब्रोकर एसोसिएसन (एसबिएएन) जतिको शक्तिशाली संगठन नेपालको सेयर बजारमा कुनै पनि थिएन । यहि एसबिएएनले धितोपत्र बोर्ड चलाउने गरेकोझैं हुन्थ्यो । उनीहरुकै पहलमा बर्षौंदेखि नयाँ ब्रोकर ल्याउने बोर्डको प्रयास तुहिएको थियो । यो संगठनले जसो-जसो भन्यो, बोर्ड र नेप्सेले पनि त्यसै, त्यसै गर्थे । उनीहरुको बजारमा दबदबा ठुलो थियो । तर अहिलेको स्टक ब्रोकर एसोसिएसन यति कमजोर छ कि, बोर्डले सो संगठनलाई हेर्ने नजर नै राम्रो छैन । बोर्डले औपचारिकताका लागि उनीहरुसँग छलफल गरेजस्तो गरे पनि उनीहरुका कुरामा बोर्ड खासै ध्यान दिंदैन । बोर्डले नयाँ ब्रोकरहरुलाई लाइसेन्स दिएरै छोड्ने भएपछि बोर्डविरुद्ध खुलेरै राजनीतिक लविङमा सो संघ लागेको थियो । यहि कारण एसबिएएनसँग बोर्डसमेत चिडिएको थियो । यहि बीचमा नयाँ ब्रोकर एसोसिएसन खुल्यो । अझ सेयर ब्रोकरहरुको नयाँ संगठन खुलेपछि त ब्रोकरहरुका मुद्धा नै दुई कित्तामा बाँडिए । अझ नयाँ ब्रोकर एसोसिएसनले उठाएका कतिपय मागहरुका कारण पूराना ब्रोकरहरुलाई ठुलै असर गर्ने भएपछि अहिले नयाँ ब्रोकर एसोसिएसनसँग मर्ज गरेर अघि बढ्ने प्रस्ताव पूराना ब्रोकरहरुले ल्याएका छन् ।
स्टक ब्रोकर एसोसिएसनका एक पदाधिकारीले नयाँ ब्रोकरहरुसँग एकतृत भएर अगाडी बढ्ने प्रस्ताव संघले गरेको पुष्टी गरे । ‘धितोपत्र बोर्डले फुटाउ र राज गरको नीति लियो । पुन: ब्रोकर कमिसन घटाउने कुरा आयो, जसमा हाम्रो विरोधलाई नै नयाँ ब्रोकरले विरोध गर्नेजस्तो देखियो । बजारमा हामीचाहिं कामै नलाग्ने अनि नयाँ आएका ब्रोकरहरुचाहिं सार्है राम्रा भन्ने भाष्य निर्माण गर्न खोजियो । त्यसैले हामीले ब्रोकरको संघ एउटै बनाउने प्रस्ताव गरेका हौँ ।’ ती ब्रोकरले अर्थ सरोकारसँग भने, ‘यहाँ त ब्रोकरहरु नै दुई कित्तामा देखिए । अझ नयाँहरुले नै हाम्रो बिजनेश खोस्ने प्रस्तावहरु बोर्डमा लैजान थाले । २ वटा डीम्याटको क्यापलाई हटाउने नयाँ संघको प्रस्ताव हामीलाई चित्त नबुझेपछि, अव लडेर होइन एक भएर अघि बढौँ भन्ने प्रस्ताव गरेका हौँ ।’
यता नयाँ ब्रोकर संघका अध्यक्ष सागर ढकालले पनि पूरानो संघले मिलेर अघि बढौँ भन्ने प्रस्ताव गरेको स्वीकार गरे । ‘मर्जरको  प्रस्ताव आएको छ । हामी आन्तरिक छलफलमा छौँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै ढकालले भने ।
नयाँ ब्रोकर संघमै सदस्य ब्रोकरहरुको बिमति, ‘मर्जरको दुष्प्रयास भए नयाँ संघ फुट्छ’
यसो त नयाँ ब्रोकरहरुमध्ये केहि कुनै पनि हालतमा पूरानो संघसँग मिल्न नहुने अडानमा छन् । ‘पूराना ब्रोकरहरुले बजारलाई कतिसम्म नराम्रो गरे, त्यसको नजरअन्दाज गरेर अहिले उनीहरुसँग नै मिल्न जाने कुरा हुँदैन । हामीलाई आउनै नदिनेगरी लविङमा लागेकाहरुसँग हामी मिल्ने कुरै हुँदैन । साथीहरुले त्यस्तो निर्णय गर्नुभयो भने अर्को संगठन जन्मिन्छ ।’ एक नयाँ ब्रोकरले अर्थ सरोकारसँग भने, ‘लगानीकर्ताका ७ संगठन हुन सक्छन् भने ब्रोकरहरुको दुई-तीन संगठन हुँदा केहि बिग्रिन्न । पूरानासँग मर्जरमा जाने कुरा सोच्न पनि नसकिने कुरा हो । अहिले पूरानो संघ सार्है कमजोर भएपछि हामीसँग पावरको भिख माग्न आएको हो । यसले दीर्घकालीन रुपमा हामीलाई नै असर गर्छ ।’
यता पूराना ब्रोकरहरुले भने, ‘नआउनु आईहाल्नुभयो, अव मिलेर अघि बढौँ’ भन्ने प्रस्ताव गरेको नयाँ ब्रोकरहरुको भनाई छ । पूराना ब्रोकरहरुले अव थप ब्रोकर आउन नदिने पनि मिलेर अघि बढ्नुपर्छ भनिरहेका छन् । यसमा केहि नयाँ ब्रोकरहरुले सहमति जनाएका छन् भने अधिकांश नयाँ ब्रोकरहरु यसको विरोधमा छन् ।                                       .
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: