×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुबित्तमा सिइओको मनपरी, नियम मिचेर बढुवा, सरुवामा मनलाग्दी ! (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार

PRIME CA

मिर्मिरे लघुबित्तमा सिइओको मनपरी, नियम मिचेर बढुवा, सरुवामा मनलाग्दी ! (भिडियो ब्रिफिङ)

काठमाडौं । अहिले एकाध छोडेर देशभर रहेका अधिकांश लघुवित्तहरुको हरिबिजोग छ । दुर्गा प्रसाईंको विरोध र संघर्ष समितिको अवरोधका कारण ऋणीहरुले ऋण तिरिरहेका छैनन् । नियमित किस्ता तिरिरहेकाहरु पनि न ऋण मिनाहा पो भईहाल्छ कि भनेर पर्ख र हेरको अवस्थामा छन् । ऋणको दलदलमा फसेपछि कतिपयले गाउँ छोडेका छन्, कतिपयले प्राण त्यागेका छन् । गरिबहरुको स्थितिलाई माथि उठाउन खुलेका लघुवित्तले गरिबहरुलाई ऋणको ओभरसप्लाई गरेर झन् गरिव बनाईरहेका छन् । लघुवित्तहरुले तिर्नै नसक्नेहरुलाई ऋण थोपरेर लघुवित्तमाथि नै बेइमानी गरिरहेका छन् । अझ त्यसमाथि ऋणीसँग पैसा उठाएर आफैँ चलाउने केस त कति हो कति । स्वाभलम्बन लघुवित्त, आरम्भ चौतारी लघुवित्त, लक्ष्मी लघुवित्त लगायतकाहरु त यस्तो केसमा बदनामसमेत भईसकेका छन् । कर्मचारीको बदमासी, ऋणीको बदमासीमात्र होइन, लघुवित्तमा हाकिमहरुको बदमासीसमेत कम छैन । र आजको स्ट्रेट फरवार्डमा हामी मिर्मिरे लघुवित्त वित्तीय संस्थामा संस्थाका प्रमुख कार्यकारी अधिकृतले गरेको बदमासीको चर्चा गर्दैछौँ, जुन बदमासी स्वयम् नेपाल राष्ट्र बैंकले लिखितम गरेर संस्थालाई सचेत गराएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडमा सीइओ नियुक्तिको बैधतामै प्रश्न उठेको छ ।  आर्थिक बर्ष २०७९-८० मा नेपाल राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा राष्ट्र बैंकले संचालक समितिको बैठक नम्बर २२१ को २०७८-०७-०५ को बैठकले जोशीलाई नियुक्त गर्दा नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन नम्बर ६ को बुँदा नम्बर ३(१)को व्यवस्था / प्रचलित कानुन बमोजिम विज्ञापन नगरी विना प्रतिष्पर्धा नियुक्त गरेको र यसरी कानुन मिचेर गरेको नियुक्तिपछि उनलाई कम्पनी सचिवको जिम्मेवारीसमेत दिएको उल्लेख छ । जोशी यसअघि साइन रेशुङ्गा डेभलपमेन्ट बैंकमा डेपुटी सीइओका रुपमा कार्यरत थिए । तत्कालीन भागर्व बिकास बैंक साइन रेसुङ्गामा मर्ज भएपछि भागर्वमा सीइओ रहेका उनी साइन रेशुङ्गाको डेपुटी सीइओ भएका थिए । उनी त्यहाँ भीआरएस लिएर बैंक छोडी मिर्मिरे लघुवित्तमा प्रमुख कार्यकारी अधिकृतको रुपमा जागिर खान आएका थिए । उनको यहि नियुक्तिमा राष्ट्र बैंकले प्रश्न उठाएको हो । यता मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सीइओ जोशी भने आफुलाई बोर्डले नियुक्ति गरेका हुनाले यसमा गल्ती भए पनि बोर्डकै भएको तर्क गर्छन् । तर पढेलेखेका सीइओले आफुलाई विना विज्ञापन कुनै संस्थामा सीइओले किन नियुक्ति गर्दैछ र यो काम गलत हो भन्ने कुरा बुझ्नुपर्थ्यो । तर उनले त्यसो गरेनन् । दोषजति बोर्डलाई थुपारेर उनी अहिले पनि काम गरिरहेका छन् ।
यता मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडमा शैक्षिक योग्यता नै नपुगेका व्यक्तिलाई कम्पनी सचिवको जिम्मा दिइएकोसमेत पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षणका क्रममा कम्पनीमा कार्यरत बिर्ख बहादुर बोहोरालाई कम्पनी सचिवमा नियुक्ति दिँदा उनको शैक्षिक योग्यता नै नपुगेको भन्दै प्रश्न उठाएको छ । कम्पनी सचिवमा नियुक्त हुँदा बोहोराको शैक्षिक योग्यता एमए (पोलिटिकल साइन्स) थियो । यो योग्यता कम्पनी ऐन२०६३ को दफा १८५ को उपदफा २ अनुसार अपुग रहेको भन्दै नेपाल राष्ट्र बैंकले प्रश्न उठाएको हो ।नेपाल राष्ट्र बैंकले प्रश्न उठाएपछि कम्पनी सचिवको जिम्मेवारीबाट बोहोरालाई हटाइएको थियो । यता बोहोराले पनि आफु कम्पनी सचिव हुँदा आफ्नो योग्यता नपुगेको स्वीकार गरेका छन्  । आफु यो संस्थामा विभिन्न जिम्मेवारीमा रहेर काम गरेको व्यक्ति भएकोले कम्पनीले मलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको र आफ्नो योग्यतामा प्रश्न उठेपछि संस्थाले कम्पनी सचिव परिवर्तन गरेको उनको स्वीकारोक्ति छ ।
यतिमात्र होइन नेपाल राष्ट्र बैंकले संस्थाले गरेको खर्चमा पनि गम्भीर प्रश्न उठाएको छ । प्रश्न नउठोस् पनि किन ? संस्थाका सीइओ विना कोटेसन आफुलाई मन परेको होटलमा कार्यक्रम गर्दारहेछन्, र प्रचलित मूल्यभन्दा बढी पैसा तिरेर होटल वालाको बिल तिरिदिंदारहेछन् । नेपाल राष्ट्र बैंकले संस्थाले साखा प्रबन्धकहरुलाई तालिम तथा गोष्टि गर्दा राइनो लज एण्ड होटल सौराहालाई गरेको भुक्तानी नियम संगत नभएको भन्दै प्रश्न उठाएको छ । संस्थाले १० लाख ५६ हजार ६१७ रुपैयाँ ७५ पैसा भुक्तानी गरेको पाइएको छ, तर अरु होटलको कोटेसन समेत नलिई संस्थाले सिधा खरिद गरेको पाइएपछी कतै सो होटलबाट सीइओले कमिसन त लिएनन् भन्ने प्रश्न उठेको छ । यस्तै टिकापुरको ग्रीन एशिया प्रालि नामक होटललाई साखा प्रबन्धकहरुलाई तालिम दिने क्रममा भएको कार्यक्रमको भुक्तानी दिंदा पनि संस्थाले सिधा खरिद गरेको पाइएको छ । अर्थात यो केसमा पनि अन्य होटलहरुको कोटेसन नलिई एउटा होटलमा कार्यक्रम गरेर लाखौँको भुक्तानी दिइएको छ । सामान्यतया ३ वा सो भन्दा बढी होटलहरुबाट कोटेसन लिई सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा सस्तोमा कार्यक्रम गर्नुपर्ने हो । तर आफ्नै हात, जग्गननाथ भएपछि मिर्मिरे लघुवित्तमा मनपरी भएको छ । यस विषयमा धारणा माग्दा कम्पनीका सीइओ गल्ती गरेको स्वीकार्छन्, तर आफुले ती होटलबाट कमिसन लिएको आरोप भने गलत भएको दाबी गर्छन् । नियमअनुसार किन काम गरिएन ? भन्ने प्रश्नमा उनी आफ्नो गल्ती भएको भने स्वीकारछन् । सो बिल संचालक समितिले समेत पास गरेको उनको तर्क छ । तर संचालक समितिले पास गर्नु अघि सबै हेर्ने उनै सीइओ हुन् ।
यतिमात्र कहाँ हो र ? संस्थाभित्र यतिसम्म आफुखुसी काम गरेको पाइएको छ कि बढुवा मनपरी ढंगले भएकोसमेत फेला परेको छ । आफुलाई मन नपरेका मान्छेहरुलाई सरुवा गरिदीईहाल्ने, अझ सरुवामात्र गर्ने होइन, आज सरुवाको पत्र थमाएर भोलि नै अर्को ठाउँमा हाजिरी गर्न लगाउने तर आफ्ना मान्छेहरुलाई नियम मिचेर बढुवा गरिदिनेसमेत पाइएको छ । सीइओ निकट मानिएका बेदप्रसाद आचार्य, मन्दिरा केसी, सुकदेव राना, र प्रधुन खड्कालाई नियम मिचेर बढुवा गरिएको छ ।
यसो त मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सीइओ पुस्कर जोशी आएपछी संस्था उँधोगतिमा हिंडेको आरोप स्वयम् संस्थाका पूर्व अध्यक्षले लगाईरहेका छन् । उनको तर्क छ, हामीले बढो दुखले डुबिसकेको संस्थालाई उठाएका थियौं, जोशी सीइओ भएर आएपछि संस्था उँधोगतिमा छ ।
यसो त सीइओ जोशी अहिले आफ्नो संस्थामात्र होइन सबैजसो लघुवित्त उँधोगतिमा रहेको तर्क गर्छन् । आफ्नो संस्थाको स्थिति पनि ठिक नभएको उनको स्वीकारोक्ति छ ।
अध्यक्षले पनि वित्तीय स्वार्थ्य बाझिनेगरी ऋण प्रवाह भएको र आफ्नै घरमा लघुवित्तको कार्यालय राखेको भन्दै राष्ट्र बैंकले संस्थाका अध्यक्ष टेक बहादुर बोहोरालाई कारवाही गरेको छ । राष्ट्र बैंकको कारवाही विरुद्ध उनी अहिले अदालत गएका छन् । उनको आरोप छ, अहिलेका सीइओले मर्जरमा पनि असहयोग गरे, १५ महिनाको भीआरएस नदिए सहि नै गर्दिन भनेर घुर्काएपछि हामीले बाध्य भएर यो मन्दीमा उनलाई १५ महिनाको खाईपाई आएको सुविधा दिनुपर्ने भएको छ ।  स्वयम् संस्थाका अध्यक्षले यति धेरै तथ्य सार्वजनिक रुपमा मिडियामा भनिसकेपछि संस्थाका सीइओ जोशीले नैतिकताका आधारमा संस्था छोडिसक्नुपर्ने थियो । तर अहिले स्थिति त्यस्तो छैन । उनी मर्जर नगरी आफ्नो भीआरएस नपाक्ने भएपछि संस्थामा बसिरहेका छन्। एकातिर भीआरएसको पर्खाई र अर्कोतिर मर्जरमा असहयोग गरेर सीइओ स्वयमले द्वेत चरित्र देखाएको स्वयम् संस्थाका पूर्व अध्यक्षको भनाई छ ।
हो, यस्तै कारणले हो लघुवित्त बदनाम भएको । संघर्ष समितिले मसला पाएको, अनि दुर्गा प्रसाईको टोली जुर्मुराएको । त्यसैले अव दुर्गा प्रसाईंले लघुवित्तको बिजनेश सिध्याईदिए, मनिराम ज्ञवालीले बर्बाद पारे भन्नुअघि आफ्नो कामको अनुहार पनि सीइओ सापहरुले ऐनमा हेर्ने कि ! (भिडियो)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: