Skip to content
LAXMI SUNRISE BANK

‘नाडाकै धेरै साथीहरुले पनि अटो शो नगरौँ भन्ने सुझाव दिनुभएको थियो, अहिलेको सेल्स देखेर उत्साहित छौँ…’

अर्थ सरोकार

यतिबेला काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो चलिरहेको छ । बजारमा व्यापक आर्थिक मन्दी चलेका बेला आयोजना भएको यो अटो शोमा नाडाले २ हजार करोडको कारोबार लक्ष लिएको छ । आखिर कस्तो भईरहेको छ त नाडा अटो शो ? के कारोबार लक्ष पूरा हुने संकेत छ ? प्रस्तुत छ अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुब थापासँग गरेको कुराकानीको सम्पादित अंश :

१. यस्तो मन्दीका बेलामा नाडा अटो शोको आयोजना गर्नुभएको छ । अहिले मान्छेसँग पैसा नै छैन भन्छन् । अवस्था कस्तो देखिएको छ ?
अहिलेको स्थिति उत्साहजनक छ । हामीलाई पनि अटो शो कस्तो हुने हो, यस्तो मन्दीका बेला के हुने हो जस्तो लागेको थियो । तर पहिलो दिन नै यतिधेरै सहभागीहरुले शो हेर्नुभयो कि, हामी निकै उत्साहित भएका छौँ । नाडा अटो शोको इतिहासमै सायद पहिलो दिन यति धेरै अवलोकनकर्ता आएको यो पहिलोपटक हो । त्यसमा पनि शो हेर्न आएको बर्ग हामीले खोजेको बर्ग छ । गाडीप्रति इन्ट्रेष्ट भएका मान्छे शो हेर्न आएका छन् । बुकिङ्ग र सोधपुछ निकै उत्साहजनक रुपमा भईरहेको छ । यस्तो मन्दीका बेलामा पनि सोचेभन्दा राम्रो रेस्पोन्स पाउँदा हामी खुसी छौँ ।

२. तपाईंहरुले यसपालीको अटो शोमा २० अर्वको कारोबार पुग्ने प्रक्षेपण गर्नुभयो थियो, सो कारोबार पुग्छ त ?
अहिलेको अवस्था हेर्दा सो टार्गेट सहजै पुग्ने देखियो । बुकिङको स्थिति निकै राम्रो छ । अझै पनि निकै राम्रो संख्यामा सोधपुछहरु भईरहेका छन् । अवलोकनकर्ताले गाडी किन्ने चाहाना व्यक्त गरिरहनुभएको छ । आजकै दिनको स्थिति हेर्दा २० अर्वको कारोबार सहजै हुने देखेका छौँ ।

३. तपाईंहरु अटो व्यवसायीहरुलाई नेपाल राष्ट्र बैंकले सहयोग गरेन भन्ने गुनासाहरु तपाईंहरु नै गरिरहनुहुंच, खास राष्ट्र बैंकले सहयोग नगरेको के कुरामा हो ?
डलर संचिति बढाउने बहानामा नेपाल राष्ट्र बैंकले धेरै कुरामा बन्देज लगायो । नेपाल राष्ट्र बैंकका विभिन्न खाले बन्देजहरुले नेपालको अटो मोबाइल क्षेत्र नै अफ्ट्यारो अवस्थामा पुग्यो । आयात कम होस् भन्ने उद्देश्य राखिए पनि त्यसका अन्य खालका असरहरु पनि थिए । हामीले त त्यतिबेला नै यस्तै अवस्था हो भने कुन दिन ऋण खोजेर कर्मचारीलाई तलव खुवाउनुपर्ने स्थिति आउन सक्छ भनेका थियौँ । अहिले स्थिति कतै त्यस्तै त हुन लागेको होइन भन्ने देखिएको छ । राज्यले अटोमोबाइल क्षेत्रबाट अरवौं राजश्व गुमायो । अझ दु:खको कुरा त के हो भने अहिले स्थिति केहि सहज हुँदा पनि विभिन्न खालका बन्देजहरु खुलाईएन, जसका कारण अटो मोबाइल क्षेत्रमा समस्याहरु बढेका छन् । राष्ट्र बैंकले यसतर्फ सोचिदिए हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो ।

४. तपाईंहरु गाडी किन्नेहरुको उत्साहप्रद सहभागीता छ भन्नुहुन्छ, तर भएकै गाडीवालाहरुले पनि समयमा बैंकको किस्ता तिर्न नसकेको कुरा छ नि ?
कोभिडमा विशेषगरी कमर्सियल गाडीहरुमा यस्तो अवस्था आयो । व्यापार नै नभएपछि धेरै गाडी साहुहरुले बैंकको किस्ता तिर्न सकेनन् । अन्य गाडीमा त्यस्तो थिएन । अहिलेचाहिं मान्छेको कमाई नै कम हुँदा केहि समस्या देखिएको छ । पहिला-पहिला त कम डिफल्ट भएको क्षेत्र नै अटो क्षेत्र थियो । पछि कोभिडका कारण र त्यसभन्दा पछि मन्दीका कारण केहि समस्याहरु देखिएको हो ।

५. यस्तो मन्दीका बेलामा पनि किन नाडा अटो शो गर्नुभयो, यो समय ठिक होइन वा थिएन जस्तो लागेन ?
यस विषयमा नाडामा पनि व्यापक छलफल भएको हो । धेरै साथीहरुले यस्तो मन्दीका बेला अटो शो नगरौँ पनि भन्नुभएको हो । तर यो अटो शोले देशको अर्थतन्त्र नै चलायमान गर्न सक्ने सामर्थ्य राख्छ भनेर हामीले अटो शो गर्ने निर्णय गर्यौँ । सुरुमा त हामीलाई पनि के हुने हो, कसो हुने हो जस्तो लागेको थियो । तर पछि बैंकहरुले पनि हामीलाई सहयोग गर्नुभयो । बैंकमा तरलताको समस्या नभएकाले पनि हामीलाई सहयोग नै भयो । त्यसैले अहिलेको अवस्थामा जे भईरहेको छ, हामी उत्साहित छौँ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK