×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणीको पैसा अपचलनको आरोपमा एनआईसी एशिया बैंकका शाखा प्रबन्धकविरुद्ध प्रहरीमा उजुरी, भएको के हो ?

PRIME CA

ऋणीको पैसा अपचलनको आरोपमा एनआईसी एशिया बैंकका शाखा प्रबन्धकविरुद्ध प्रहरीमा उजुरी, भएको के हो ?

११ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । एनआईसी एशिया बैंकका शाखा प्रबन्धकले ऋणीको रकम अपचलन गरेको भन्दै प्रहरीमा उजुरी गरेका छन् ।  बैंकको रौतहटस्थित गरुडा शाखामा बैंकका शाखा प्रबन्धकसहित अन्य केहि कर्मचारीको मिलेमतोमा ऋणीको खाताबाट विना स्वीकृति रकम झिकेको भन्दै प्रहरीमा उजुरी परेको हो ।  बैंकबाट कृषि सहुलियत कर्जा स्वीकृत गरेपछि खाली चेकमा हस्ताक्षर गराएर बैंकका कर्मचारीले रकम निकालेको आरोप बैंकका कर्मचारीहरुमाथि छ ।
प्रहरीमा परेको उजुरीमा बैंकको गरुडा शाखाका शाखा प्रबन्धक आमोद गुप्ताले जय बाबा वैद्यनाध एग्रिकल्चर कम्पनी, अशोका एग्रिकल्चर र अम्बे कृषि फर्मको चार करोड ७५ लाख रुपैयाँ ऋण स्वीकृत गरी २ करोड ५ लाख रुपैयाँ आफैले निकालेको उल्लेख छ । शाखा प्रबन्धक गुप्ताले अशोका एग्रिकल्चरका सञ्चालक अशोक कुमार साहसँग नौ वटा खाली चेकमा सही गराएर लिएको पनि उजुरीमा उल्लेख छ ।
यसरी गुप्ताले साहबाट लिएको चेकमार्फत बैंकका गार्ड धमेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार, पाना देवीको नाममा ९ लाख ९५ हजार, रामबच्चु राउतको नाममा ९ लाख ९५ हजार, आर्यन कुमार साहको नाममा ९ लाख ९५ हजार, आशा देवीको नाममा ५ लाख ३४ हजार गरी कुल ८५ लाखभन्दा बढी रकम झिकेको स्रोतले बताएको छ । प्रबन्धक गुप्तामाथि वैद्यनाथ एग्रिकल्चरको नाममा स्वीकृत गरिएको ३ करोड २० लाख ऋणमध्ये पटकपटक गरी ७० लाख निकालेको आरोप छ ।
आपसी लेनदेनको कारोबारमा प्रबन्धक गुप्ताले सहुलियत कृषि ऋण स्वीकृत भएसँगै केही रकम खातामै राख्न लगाउने र खाली चेकमा हस्ताक्षर गर्न लगाएर विभिन्न व्यक्तिका नाममा आफैँ रकम र मिती उल्लेख गरी १० लाखभन्दा कम रकम झिक्ने गरेको पीडित पक्षको आरोप छ ।
के भन्छ प्रहरी ? 
यता प्रहरीले पनि एनआईसी एशिया बैंकको गरुडा शाखाबाट ऋणीहरुको खाताबाट बैंकका शाखा प्रबन्धकले रकम अपचलन गरेको भन्दै उजुरी परेको पुष्टी गरेको छ । बैंकका ऋणीहरुले आफूहरुको सहमति बिना खाताबाट रकम निकालिएको भन्दै ठाडो निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले पुष्टी गरेका हुन् । ‘हामीकहाँ बैंकका ऋणीहरुले सहमति बिना पैसा अपचलन गरिएको भन्दै ठाडो निवेदन दिनुभएको छ ।’, एसपी श्रेष्ठले भने, ‘घटना अनुसन्धानकै क्रममा भएकाले धेरै कुरा भन्न मिल्दैन । अहिले बयान लिने काम गरिरहेका छौँ । तर जाहेरी होइन, ठाडो उजुरीमात्र हो ।’
एसपी श्रेष्ठका अनुसार हालसम्म उक्त प्रकरणमा ऋणीहरुले दिएको उजुरी र प्रारम्भिक अनुसन्धानमा बैंकका शाखा प्रबन्धकको मात्रै संलग्नता देखिएको छ । तर, हालसम्म बैंकका शाखा प्रबन्धकले पनि रकम अपचलन गरेको विषय स्वीकार नगरेको एसपी श्रेष्ठको भनाई छ ।
के भन्छन् शाखा प्रबन्धक गुप्ता ? 
यता उक्त प्रकरणमा नाम मुछिएका बैंकको गरुडा शाखाका शाखा प्रबन्धक आमोद गुप्ताले भने उक्त प्रकरणमा आफू र बैंकका कुनै पनि कर्मचारीको संलग्नता नरहेको दाबी गरेका छन् । उनले प्रहरीमा परेको उजुरीमा उल्लेख भएजसरी बैंकबाट कुनै पनि ऋणीको खाताबाट बैंकका कर्मचारीले रकम ननिकालेको दाबीसमेत गरेका छन् ।  बैंकप्रति प्रतिशोध साँधेर बदनाम गर्ने नियतले आफुहरुमाथि प्रहरीमा उजुरी गरिएको गुप्ताको आरोप छ ।
बैंकमा तिर्नुपर्ने ब्याज नतिरेपछि बैंकले पत्रिकामा सूचना निकालेको रिसले प्रहरीमा उजुरी दिइएको गुप्ताको भनाई छ । ‘हामीले ६–७ महिना पहिले नै ऋण स्वीकृत गरेका थियौँ । ६ महिनादेखि उहाँहरुले बैंकमा ब्याज नतिरेपछि बैंकले पत्रिकामा सूचना निकालेको थियो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै शाखा प्रबन्धक गुप्ताले भने, ‘म माथि लगाइएका आरोपमा कुनै पनि सत्यता देखिँदैन । उहाँहरुले कसलाई खाली चेक दिनुभयो ? कसले निकाल्यो ? केही पनि पुष्टि हुँदैन । यो सब झुठो आरोप मात्रै हो । यसमा बैंकले पनि थप अनुसन्धान गरिरहेको छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: