×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुटिन अफ नेपाल बन्दको कथा : युवा-समयको आवश्यकताले सुरु, विश्वासले उदायो, किन बन्द गरियो ? कहिले फर्किन्छ ?

अर्थ सरोकार

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार

PRIME CA

रुटिन अफ नेपाल बन्दको कथा : युवा-समयको आवश्यकताले सुरु, विश्वासले उदायो, किन बन्द गरियो ? कहिले फर्किन्छ ?

काठमाडौँ । रुटिन अफ नेपाल बन्द । फेसबुक, ट्वीटर, टिकटकजस्ता सामाजिक संजालमा अत्यन्तै चर्चित र त्यसमा पनि फेसबुकका रुपमा नेपालकै सबैभन्दा चर्चित पेज हो । सबैभन्दा विश्वासिलो मानिएको यो पेज फगत एउटा फेसबुक पेज थिएन, बरु धेरै युवाहरुको विश्वासिलो समाचार स्रोत थियो, चलचित्रकर्मी र म्युजिक भिडियो निर्माताहरुका लागि आफ्नो प्रमोसन गर्ने सबैभन्दा उत्तम विकल्प थियो, दु:खी गरिबहरुलाई सहयोग गर्ने एउटा उत्कृष्ट प्लेटफर्म फर्म थियो । कसैको पासपोर्ट हरायो, कोहि मान्छे हरायो, कसैलाई सार्है दुख पर्यो भने, त्यसको साहारा थियो रुटिन अफ नेपाल बन्द । नेपथ्यका थुप्रै पात्रहरुलाई पर्दा अगाडी ल्याएर भविष्य बदलिदिने एउटा साहारा थियो रुटिन अफ नेपाल बन्द । यो पेज यति चर्चित थियो कि मानौँ, देशका युवाहरु नेपालका ‘मेन स्ट्रिम’ भनिएका मिडियाहरुलाई भन्दा पनि रुटिन अफ नेपाल बन्दलाई विश्वास गर्थे र गर्छन् । यतिसम्मकि बालेन शाहको उदय, हर्क साम्पाङ्गको चर्चासम्ममा यो पेजको ठुलो योगदान र चर्चा थियो बजारमा । र त एक फेसबुक पेजको रुपमा मात्र होइन, बरु देशकै सबैभन्दा लोकप्रिय संचारमाध्यमको रुपमा रुटिन अफ नेपाल बन्दले आफ्नो विश्वासिलो छाप बनाएको थियो ।

तर सोमबार केहि दु:खको खबर बाहिर आयो । यसका संचालक भिक्टर पौडेलले रुटिन अफ नेपाल बन्दलाई अनपब्लिस गरेको स्क्रिनशट राखेर आफुले स्वार्थका लागि पेज नखोलेकाले अरु बाल छैन, बाँकी कुरा पछि गरौँला लेखिदिए । त्यसअघि फेसबुकमा उनले केहि बोल्ड डिसिजन लिन लागेको बताएका थिए । उनले सो स्ट्यातस लेखेको केहि समयपछि रुटिन अफ नेपाल बन्द पेज फेसबुकमा देखिन छोड्यो । रुटिन अफ नेपाल बन्द फेसबुकमा देखिन छाडेपछि बजारमा सो पेजका फलोअर्सहरुले दुख मानेका छन् । अधिकांशले सो पेज फेरी फिर्ता हुनुपर्ने माग गरेका छन् ।

आरओएनबि कसरी सुरु भयो ?
कुरा २०६८ को हो । देशमा भएका राजनीतिक परिवर्तनका कारण देशमा नेपाल बन्द फेसनजस्तै भईसकेको थियो । पेट्रोलको भाउ बढ्यो, नेपाल बन्द, कुनै दललाई कुनै कुरा मन परेन नेपाल बन्द, कुनै राजनीतिक दललाई कुनै कुरामा चित्त नबुझे नेपाल बन्द । जो प्रतिपक्षमा थियो, उसले बढी गर्थ्यो नेपाल बन्द । नेपाल बन्द भनेपछि सबैलाई सार्है चासो हुन्थ्यो त्यो बेला । स्कुल जानुपर्दैन भनेर विद्यार्थीलाई चासो, गाडी चलाउन पाईदैन भनेर सवारीचालकलाई चासो, अफिस बन्द हुन्छ कि हुँदैन, नभए अफिस कसरी जाने होला भन्ने जागिरेलाई चासो, राजनीतिक दलका कार्यकर्तालाई यसै पनि चासो । अझ भोलि नेपाल बन्द भनेर बस्यो बेलुकी तिर फिर्ता हुन्थ्यो, फिर्ता भयो भन्ने हल्ला चल्थ्यो, फेरी भोलिविहान सडक बन्द हुन्थे, नेपाल बन्दका अनेक कथा थिए । तर नेपाल बन्दका बारेमा कसैले न रुटिन दिन्थ्यो, न जानकारी । तर फेसनझैं भएको नेपाल बन्दको तालिका सबैका लागि महत्वपूर्ण थियो ।

जानकारी नपाउँदा धेरैले बाटोमा दुख पाउँथे । धेरै मान्छेहर अफिस जाँदैगर्दा, कलेज जाँदैगर्दा बीच बाटोबाटै फर्किन्थे । स्वयम् यसका संचालक भिक्टर पौडेलले पनि यस्तो दु:ख पाएका थिए । त्यतिबेला पौडेल भर्खर एसएलसी दिएर ब्रिज कोर्स पढिरहेका थिए । वनस्थलीबाट बागबजार ब्रिज कोर्सको क्लास जाँदैगर्दा बीचबाटोमै फर्किनुपरेपछि भर्खर १६ बर्ष लागेका ठिटो भिक्टर पौडेलको दिमागमा नेपाल बन्द गर्ने काम ठिक होइन भन्ने कुराले छाप बसायो । त्यतिबेला तत्कालीन विवेकशील आन्दाेलनका अगुवा उज्ज्वल थापा लगायतका नेताहरूले नेपाल बन्दको विरोधमा विभिन्न कार्यक्रमको आयोजना गरिरहन्थे । पौडेल आफैँ पनि नेपाल बन्दको विरोधी थिए । र त यहि बन्दविरोधी अभियानलाई साथ पनि दिने र बन्दको सूचना र तालिकाबारे जानकारी दिएर आफुजस्तै कोहि बीचबाटोबाटै फर्कनु नपरोस् भन्ने हेतुले उनले रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेजको सुरुवात गरे ।

नेपाल बन्दको विरोध गर्ने र नेपाल बन्दबारे चासो राख्ने धेरैले यो पेजलाई फलो गर्न थाले । यतिसम्मकि फलोअर्सहरुले नै यहाँ यस्तो बन्द भईरहेको छ वा बन्दको प्रभाव हाम्रो ठाउँमा यस्तो छ भनेर पठाउन थाले । बन्दको प्रभावदेखि बन्दको सूचना दिने विश्वासिलो माध्यम भएपछि यो पेजले चर्चाको शिखर चुम्दै थियो । नेपाल बन्दको सूचनाका कारण धेरै फलोअर्स बढेपछि यो पेजमा लोडसेडिङको तालिका पनि पोस्ट हुन थाल्यो । त्यतिबेला बत्ति जाने सेडूल भनेको त खानाको सेडुल भन्दा महत्वपूर्ण हुन्थ्यो । लोडसेडिङको सेडुलका लागि पनि रुटिन अफ नेपाल बन्द चर्चित भयो । ब्रिज कोर्स सकेपछि भिक्टर पौडेल आईटी पढ्न थाले । प्राविधिक ज्ञान लिँदै, विश्वासिला समाचार दिँदै, उपयोगी जानकारी दिँदै पौडेलले आरओएनबिलाई एउटा उचाईंमा पुर्याए । त्यसपछि यो पेज यति विश्वासिलो र चर्चित भयो कि, कुरा गरेर साध्य छैन ।

तर, पछि नेपाल बन्दका कार्यक्रम कम हुन थाले । र पनि यो पेजको लोकप्रियता अझ बढ्दै थियो । मूलधारको सञ्चारमाध्यमले नहाल्ने तर सर्वसाधारणका लागि अति महत्त्वपूर्ण हुने सूचना यो पेजमा आउँथ्यो । अझ रोमन सजिलो लाग्ने युवाहरुका लागि यो पेजले रोमनमै समाचार र जानकारी अपडेट गरिदिन्थ्यो । यहि कारण आरओएनबि निकै चर्चित बन्यो । युवाहरुमाझ चर्चित भईसकेपछि आरओएनबीको प्रभाव राष्ट्रिय राजनीतिसम्मै विस्तार भयो । आरओएनबिले सकारात्मक पोष्ट गरे कुनै नेताको छवि नै सकारात्मक हुने स्थिति देखियो । बालेन शाहको उदय यसको ज्वलन्त प्रमाण हो । र त रुटिन अफ नेपाल बन्दको लोकप्रियता कतिपय नेताहरुको टाउको दुखाईको विषय भयो । यसको उदाहरण उदाहरणका रुपमा नेपाली कांग्रेस नेत्री आरजु राणाले केहि समय अगाडी गरेको टिप्पणीलाई लिन सकिन्छ । २०७९ असार ६ गते एउटा कार्यक्रममा कांग्रेस नेत्री राणाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आरओएनबीलाई ‘कन्सल्ट्यान्ट हायर’ गरेकाले चुनाव जितेको दाबी गरेकी थिइन् । आरओएनबिले कुनै अमुक दल वा नेतालाई बोकेको थिएन । कसैलाई एकोहोरो समर्थन गरेको थिएन । बरु युवाहरुको आवाज बोकेका स्वतन्त्र उम्मेदवारहरुका चर्चा गरेको थियो । युवाहरुले सबैभन्दा बढी फलो गर्ने भएकाले युवा र स्वतन्त्र नेताहरुका कुरा गर्दा बढी इन्गेजमेन्ट हुने नै भयो । यहि तथ्यलाई बंग्याएर रुटिन अफ नेपाल बन्दका बारेमा केहि नेताहरुले दुष्प्रचार गरिरहे । र पनि रुटिन अफ नेपाल बन्द अगाडी बढिरहेको थियो ।

तर अचानक अनपब्लिस भयो आरओएनबि
सोमबार भिक्टरले रुटिन अफ नेपाल बन्दलाई अनपब्लिस गर्ने निर्णय गर्दाका समयमा आरओएनबि विश्वासका हिसाबले एउटा बिग मिडिया भईसकेको थियो । आरओएनबिले १० जना बढीलाई प्रत्यक्ष रोजागारीसमेत दिएको छ । पेजमा आउने प्रमोसनल कन्टेन्टबाट आम्दानी त हुन्छ, तर सो आम्दानी उही पेज चलाउनलाई मात्र पुग्ने पौडेलको दाबी छ । त्यसमाथि उनी चुरोट रक्सीको विज्ञापन गर्दैनन्, विज्ञापनका बारे पेजको आफ्नै आचारसंहिता छ । पछिल्लो समय उनले आरओएनबिलाई सूचना तथा प्रशारण विभागमा दर्ता नै गरेर मिडियाकै रुपमा संचालन गर्दै आएका थिए ।

तर बालेनले छोरीलाई जन्म दिएको पोष्ट हाल्दा घटनालाई मोड्न खोजेको भन्दै आरओएनबिको खुब आलोचना भयो । बालेनका विरोधीहरुले खुब रिपोर्ट पनि गरिदिए आरओएनबिलाई । त्यसपछि भिक्टर पौडेलले पेजलाई नै अनपब्लिस गरिदिए । पौडेल विभिन्न कम्पनी तथा ब्रान्डको डिजिटल मिडिया परामर्श तथा व्यवस्थापन गर्ने काम गर्छन् । उनले ई-कर्मकान्ड नामको छुट्टै कम्पनी पनि संचालन गर्छन् । ‘ई-स्पोर्टस्’मा पनि उनको दखल राम्रो छ । तर धेरैको प्यारो आरओएनबि अनपब्लिस हुँदा धेरै फलोअर्स चिन्तित छन् ।

अधिकांशको चाहाना -‘फर्कनुपर्छ आरओएनबि’
अधिले धेरैको चाहाना छ, रुटिन अफ नेपाल बन्द फेरी पब्लिस हुनुपर्छ, र संचालक भिक्टर पौडेलले यसलाई पुन संचालन गर्नेछन् । यो पेज पुन: पब्लिस हुनेछ र पुन सूचना र जनाकारीहरु दिन थाल्नेछ । किनकि धेरैका लागि रुटिन अफ नेपाल बन्द एउटा संचारमाध्यममात्र होइन, विश्वासको धरोहर थियो । धेरै युवाहरुका लागि रुटिन अफ नेपाल बन्द एउटा पेज मात्र होइन, दैनिकी थियो । धेरैको जीवन बदल्ने, जीवन दाता हो आरओएनबि, धेरैको प्रचारप्रसारका लागि उत्कृष्ट प्लेटफर्म हो आरओएनबि । त्यसैले रुटिन अफ नेपाल बन्द आफ्नो पूरानो लयमा फर्किनुपर्छ र फर्किनेछ भन्ने आशा र विश्वास धेरै नेपालीको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: