×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसबिआई बैंकको पोस मेसिन प्रयोग गरेर करोडौँ हिनामिना, बैंकले सिआईबी गुहार्यो !

PRIME CA

एसबिआई बैंकको पोस मेसिन प्रयोग गरेर करोडौँ हिनामिना, बैंकले सिआईबी गुहार्यो !

९ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल एसबिआई बैंकको पोइन्ट अफ सेल्स (पोस) मेसिनको प्रयोग गरेर डेढ करोड रकम हिनामिना गरेको पाइएको छ । बैंकको ठमेल शाखाबाट कारोबार गर्ने गरी ड्रागन इन्भेष्टमेन्ट कम्पनीले लिएको पोस मेसिनको प्रयोग गरेर बैंकको १ करोड ५३ लाख ७२ हजार ४ सय २६ रुपैयाँ हिनामिना भएको पाइएको हो ।

नयाँ बजारमा थान्का र मूर्तिको कारोबार गर्ने ड्रागन इन्भेष्टमेन्ट कम्पनीका संचालक किसन सिंहले केही समयअघिदेखि मात्रै एसबिआई बैंकको पोस मेसिन प्रयोग गर्दै आएका थिए । किसनले उक्त मेसिनबाट दुई पटक गरी भिसा कार्डबाट २८ हजार ८ सय २५ डलर र मास्टर कार्डबाट ८६ हजार ९ सय ५० रुपैयाँ जम्मा गरेका देखिन्छ ।

उक्त पोस मेसिनको प्रयोग गरी विदेशी नागरिकको कार्डबाट दुई पटकमा गरी युरोपको बैंकबाट नोष्ट्रो अकाउन्टमा रकम जम्मा भएको थियो । त्यसपछि एसबिआई बैंकमा आएको रकम किसनले निकालेका थिए । तर, खाताको रकममा क्लेम आएपछि युरोपको बैंकले नोष्ट्रो अकाउन्ट र नोष्ट्रोले एसबिआई बैंकबाट उक्त रकम फिर्ता लिएको थियो । तर, किसनले भने उक्त रकम एसबिआई बैंकलाई फिर्ता गर्न मानेनन् । उक्त रकम फिर्ता नभएपछि अहिले बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबि) गुहारेको छ ।

यसो त किसनले बैंकबाट पोस मेसिन लिने क्रममा रकम चार्ज ब्याक भए रकम तिर्ने सहमति गरेको सिआईबिको अनुसन्धानबाट खुलेको छ । तर, उनले सहमतिअनुसार बैंकलाई रकम फिर्ता नगरेपछि बैंकले रकम फिर्ताको माग गर्दै सिआईबिमा उजुरी गरेको हो ।

यता किसनले सिआईबिसँग दिएको बयानमा आफूकहाँ दुईजना विदेशी नागरिकले सामान खरिद गरेर पोस मेसिनमार्फत कारोबार गरेको बताएका छन् । तर, उनले भनेअनुसार उनको पसलमा कुनै पनि विदेशी नागरिक आएर कार्डमार्फत कारोबार गरेको नदेखिएको सिआईबि स्रोतले बताएको छ । ‘किसनले दिएको बयानअनुसार उनीसँग २ जना विदेशी नागरिकले कार्डबाट कारोबार गरेको देखिँदैन ।’, सिआईबि स्रोतले भन्यो, ‘उनले अरु बैंकको पोस मेसिन प्रयोग गरेर केही दिनमै बन्द गरेको पनि पाइएको छ । शंका गर्ने ठाउँ प्रशस्तै भएपछि अनुसन्धान अघि बढाएका छौँ ।’

सिआईबि स्रोतका अनुसार यसरी पोस मेसिनको प्रयोगमार्फत बैंकको डेढ करोड रुपैयाँ हिनामिना हुनुमा बैंकको पनि कमजोरी रहेको देखिएको छ ।

यता हामीले उक्त विषयमा बुझ्न बैंकका सूचना अधिकारी रितेश अर्यालसँग सम्पर्क गर्ने प्रयास गर्यौं । तर, हाम्रो सम्पर्कमा आएका उनले केही समयपछि कुरा गर्छु भन्दै फोन काटे । त्यसपछि भने उनीसँग सम्पर्क हुन सकेको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: