×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा सवारी ट्याक्स सङ्कलनमा ठेक्कावालाको मनपरी, दादागिरी शैलीमा ‘प्राइभेट गाडी’को पनि शुल्क असुल्दै !

PRIME CA
GLOBAL IME BANK

धनगढीमा सवारी ट्याक्स सङ्कलनमा ठेक्कावालाको मनपरी, दादागिरी शैलीमा ‘प्राइभेट गाडी’को पनि शुल्क असुल्दै !

१४ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

धनगढी । धनगढी उपमहानगरपालिकामा सवारी साधनको मनपरी ट्याक्स असुली गर्ने गरेको पाइएको छ । नगरपालिकामा बास बिसौनि तथा पार्किङ्ग शुल्कका नाममा मनपरी ट्याक्स असुली गर्ने गरेको पाइएको हो । 

उपमहानगरपालिकासँग ठेक्का सम्झौता गरी ट्याक्स असुली गर्दै आएको एन.के कन्ट्रक्सनले निजी सवारी साधनसँग पनि मनपरी शुल्क असुली गर्ने गरेको तथ्य अर्थ सरोकारले फेला पारेको छ । 

यसो त बसपार्क टर्मिनल भवन, बास बिसौनी तथा पार्किङ्ग शुल्क संकलन गर्न एन.के कन्स्ट्रक्सनले धनगढी उपमहानगरपालिकासँग ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार कम्पनीले धनगढी उपमहानगरपालिका भित्र प्रवेश गर्ने सार्वजनिक यातायातसँग तोकिदिएअनुसारको ट्याक्स मात्रै असुल गर्न पाउँछन् । तर, कम्पनीले निजी सवारी साधनसँग पनि ट्याक्स असुली गर्दै आएको पाइएको छ । जुन सम्झौता विपरित छ । 

ट्याक्स सङ्कलनको ठेक्का पाएको एन.के कन्सट्रक्सनले आइतबार बा १९ च ५७४२ नम्बरको निजी सवारी साधनको शुल्क असुली गरेको हो । धनगढीबाट चुरे गाउँपालिका जाँदै गरेको उक्त गाडीलाई ‘हाईवे’मा रोकेर शुल्क असुली गरेको कुवेर बोगटीले बताएका छन् । उनका अनुसार शुल्क असुलीका लागि खटाइएका कर्मचारीले दादागिरी शैलीमा शुल्क असुली गरेका हुन् । ‘हामी धनगढीबाट चुरे जाँदै थियौँ । एक्कासि धनगढी एयरपोर्ट जाने बाटो अघिको हाइवेमा हाम्रो गाडी रोकियो र रसिद काट्न लगाइयो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै बोगटीले भने, ‘दुई जनाले गुण्डा शैलीमा थर्काएर रसिद काट्न लगाए । हाम्रो प्राइभेट गाडी हो भन्दा पनि जबरजस्ती काट्नुपर्छ भन्दै ट्यास्स असुली गरेरै छोडे ।’ 

गलत भएको ठेक्कावालको स्वीकारोक्ति
यता उक्त ठेक्काको जिम्मा पाएको एन.के कन्सट्रक्सनका सम्पर्क व्यक्ति दिलबहादुर खुलौलाले आफूहरुले सार्वजनिक यातायातको मात्रै शुल्क असुली गर्ने गरेको बताएका छन् । ‘हामीले ट्याक्स संकलन गर्ने ठेक्का नगरपालिकाबाटै पाएका छौँ । ठेक्का सम्झौता अनुसार कालो नम्बर प्लेट भएका सम्पूर्ण यात्रुवाहक सार्वजनिक सवारी साधनसँग शुल्क असुली गर्छौं ।’, उनले भने, ‘निजी सवारी साधनसँग ट्याक्स असुली गर्न मिल्दैन ।’ 

तर, निजी गाडीको रसिद काटिएको प्रमाण देखाएपछि उनले उक्त कार्य गलत भएको स्वीकारेका छन् । आफूहरुले सार्वजनिक सवारी साधनसँग मात्रै ट्याक्स असुल गर्न निर्देशन दिएको बताउँदै यसमा कर्मचारीले बदमासी गरेको हुनसक्ने खुलौलाले बताए । ‘यो गलत हो । यसरी निजी गाडीसँग शुल्क लिन पाइँदैन । यसमा कर्मचारीहरूले बदमासी गरेको देखियो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘हामी तत्कालै यसबारे एक्सन लिन्छौँ । यस्तो गर्ने कर्मचारीलाई कारवाही हुन्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: