×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेटिङमा पुलिसले नै यसरी लुटे यौन व्यवसायीका ग्राहक, इसेवाको ब्यालेन्ससमेत छोडेनन् (भिडियो ब्रिफिङ) 

PRIME CA

सेटिङमा पुलिसले नै यसरी लुटे यौन व्यवसायीका ग्राहक, इसेवाको ब्यालेन्ससमेत छोडेनन् (भिडियो ब्रिफिङ) 

२२ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: < ५ मिनेट

काठमाडौँ । नेपालमा यौन व्यवसायमा संलग्नहरुको संख्या दिनानुदिन बढिरहेको छ । रोजगारीको अभावका कारण अधिकांश बाध्यताले र केही रहरले गर्दा काठमाडौँ लगायतका विभिन्न शहरहरुमा यौन व्यवसायमा लाग्नेहरुको संख्या अत्याधिक छ । तर सरकारले उनीहरुलाई न विकल्प दिन सकेको छ, न उनीहरुलाई खुलमखुला काम गर्न रेड लाइट एरिया नै छुट्याएको छ । कानुनले सो पेशालाई बर्जित भन्छ, गैरकानुनी भन्छ, तर जति गैरकानुनी भए पनि नेपालका अधिकांश शहरहरुमा यौन पेशा गर्नेहरुको संख्या बढिरहेको छ । ठमेल, रत्नपार्क लगायतका ठाउँहरुमा यस्तो व्यवसाय गर्नेहरुको संख्या झन् बढी छ । साँझ पर्नेबित्तिकै शहरका विभिन्न ठाउँहरुमा यस्तो पेशा गर्ने युवती, र तीनका दलालहरु सक्रिय हुने गर्दछन् । यतिसम्म त छँदैछ, कानुनले बर्जित गरेको छ भनेर प्रहरीहरु कानुनमा खेल्दै ती युवतीहरुलाई निःशुल्क सर्भिस माग्छन्, उनीहरुसँग गएका पुरुषहरुलाई लुट्छन् भन्ने त ओपन सेक्रेटजस्तै थियो र छ । यसको अर्थ सबै प्रहरीहरु यस्तै हुन् भन्न खोजेको जरुर होइन । तर यस्ता केहि फटाहा पुलिसहरुका कारण समग्र पुलिसहरु नै यो विषयमा बदनाम छन् । र पुलिसले नै यसरी धन्दा गर्ने युवतीसँग आएका पुरुषहरुलाई लुटेको अर्को खबर बाहिरिएको छ ।

घटना गत असोज २१ गतेको हो । आफ्नो निजी गाडीमा ठमेलबाट बालुवाटार जाने क्रममा कुमार रोका र नवराज नगरकोटीलाई डाकाहरुले लुटे । आफ्नो गाडी रोकेर प्रहरीले सोधपुछका नाममा एकान्तमा लगी सबै पैसा लुटेपछि उनीहरुले यस विषयमा प्रहरीको हटलाइनमा जानकारी गराएका थिए । तर, पछि पो थाहा भयो सो लुटपाटमा त प्रहरीकै संलग्नता रहेछ । अहिले डाकाहरुसँग मिलेर जनता लुट्ने ती फटाहा पुलिस मामाहरु पक्राउ परेका छन् । उनीहरुको संलग्नता पुष्टी भएपछि हाल लुटपाटमा संग्लग्न उनीहरुलाई डाँका चोरी मुद्धा दायर गरिएको छ ।

चोर नै पुलिससँग मिलेर नागरिकलाई लुट्ने, अनि पुलिस पनि चोर समात्नुको साटो उनीहरुसँग मिलेर जनता लुट्ने भएपछि अव कसको विश्वास गर्ने ? अव यति भनिसकेपछि चोरसँग मिलेर मान्छे लुट्ने ती फटाहा पुलिसहरुलाई पनि चिनिहालौं न । र ती फटाहा पुलिसहरु हुन् प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल । उनीहरुले डाका गरेर खान पल्केका मदन पुरी र सन्तोष पुरीसँग मिलेर लुटपाट गरेका थिए । अहिले उनीहरु सबै खोरमा छन् । चोरलाई भकुर्ने मामाहरु अहिले आफ्नै सहकर्मीको गोदाई खाईरहेका छन् ।

अव यो घटना कसरी भयो भन्ने पनि बुझौं
गत असोज २१ गते कुमार रोका र नवराज नगरकोटी छुट्टाछुट्टै निजी गाडीमा ठमेलबाट बालुवाटार जाँदै थिए । साथी मदन पुरीले ३ युवतीहरु लिएर आउन भनेपछि उनीहरुले ठमेलबाट २ जना यौन व्यवसायीहरुलाई गाडीमा राखेर बालुवाटार जाँदै थिए । सोही क्रममा राति साढे ११ बजे प्रहरीको सिआरभी टोलीले चेकिङ भन्दै उनीहरुलाई रोक्यो । रोकाको गाडीमा तीनजना युवती देखेपछि प्रहरीले युवतीहरु ‘सप्लाई’ गरेको आरोप लगाएर फसाइदिने भन्दै ‘ब्लायकमेल’ गर्न थाले । ती प्रहरीहरुको उनीहरुका साथी मदन पुरीसँग सेटिङ थियो । र सोहि सेटिङ अनुसार नै प्रहरीहरुले उनीहरुको गाडी रोकेर केरकार गरेको थियो । उनीहरुले अव तिमीहरु जेल जान्छौ भनेर उनीहरुलाई थर्काए । युवतीहरुलाई प्रहरीको सिआरभी भ्यानमा राखे । त्यसपछि कुमार रोका र नवराज नगरकोटीलाई प्रहरीसहितको टोलीले निर्मल निवासको गल्लीतर्फ लगे । र एकान्तमा लगेर उनीहरुले १७ हजार पाँच सय नगद लुटपाट गरे । अझ लुटपाटमात्र गरेनन्, डेढ लाख रुपैयाँ नदिए युवतीहरु सप्लाई गरेको केसमा फसाईदिन्छु भनेर धम्की पनि दिए । यतिमात्र गरेनन्, उनीहरुसँग इसेवामा कति पैसा छ सबै दे भनेर थर्काए । थर्काएनन् मात्र इसेवामार्फत सबै पैसा आफ्नो मोबाइलमा ट्रान्सफर गराएर उनीहरुको इसेवा एकाउन्ट रित्तो बनाए । रोकाको इसेवामा जम्मा ५ सय रुपैयाँ थियो, फटाहा पुलिसहरुले त्यो पनि छोडेनन् । नगरकोटीको इसेवा एकाउन्टमा २५ हजार रुपैयाँ थियो, त्यो पनि ट्रान्सफर गर्न लगाए । यति गरेपछि दुई लात्ती हाने र पाँचैजनालाई उनीहरुले छोडिदिए । अर्थात ड्युटीमा खटिएका प्रहरीहरुको मिलेमतोमा नै उनीहरुको ४७ हजार ५ सय रुपैयाँ लुटपाट भयो ।

प्रहरीकै मिलेमतोमा लुटिएपछि पीडित रोका र नगरकोटीले प्रहरीको हटलाइन नम्बरमा जानकारी गराएका थिए । सो लगत्तै उक्त घटनामा संलग्न रहेका मदन पुरी र सन्तोष पुरीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा लुटपाटमा प्रहरीको पनि संलग्नता पुष्टि भएपछि थप ३ जना प्रहरीलाई पनि पक्राउ गरी मुद्धा चलाइएको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी कमोध ढुंगेलले जानकारी दिएका छन् । एसपी ढुंगेलका अनुसार उनीहरुविरुद्ध लुटपाट भएको रकम बराबरको बिगो बनाई डाँका चोरी मुद्धा चलाइएको छ ।

अझ अनुसन्धानबाट उक्त लुटपाट योजनाबद्ध रुपमा भएको भेटिएको छ । प्रहरीका अनुसार सो लुटपाटको मुख्य योजनाकार मदन पुरी हुन् । उनले धम्क्याएर पैसा असुल्ने योजनासाथ नवराज नगरकोटीलाई फोन गरी तीनजना युवती लिएर आउन भनेका थिए । नगरकोटी सोही अनुसार तीनजना युवती लिएर गएका थिए । सोही क्रममा मदन पुरीको नाता पर्ने सन्तोष पुरी र प्रहरीको सहायता लिएर उनीहरुले लुटपाट गरेका थिए ।

ती फटाहा पुलिसहरुको यस्तो धन्दाबारे ठमेलमा यौन व्यवसाय गर्ने अधिकांश युवतीहरुलाई पनि थाहा छ । तर यस विषयमा उनीहरु बोल्ने कुरै भएन । उनीहरुसँग पनि त्यहाँका ती प्रहरीहरुको सेटिङ छ । गलत काम गर्न नदिनुपर्नेमा उल्टै उनीहरुसँग नै डिल गर्थे प्रहरीहरु । त्यतिमात्र होइन, उनीहरुसँग आउने पुरुषहरुलाई लुट्ने गर्ने प्रहरीहरु

ठमेलमा रातको समयमा बर्जित पेशामा हिँडेका युवतीहरुसँग सेटिङ गर्ने, अनि उनीहरूसँग हिँडेका पुरुषहरुलाई लुट्ने काम गर्थे ती प्रहरीहरु । यस्तो काम गरेर उनीहरुले लाखौँ रुपैयाँ यसअघि पनि लुटिसकेका छन् । लुटेको रकमले प्रहरीहरु मोजमस्ती गर्थे, पैसा उडाउंथे, उनीहरुका विषयमा चुइक्क कोही बोल्न पाउँदैनथ्यो । तर यसपालि ती पुलिसको बर्दी लगाएका फटाहाहरू पनि प्रहरीको फन्दामा परिहाले ।

हुन त यस्तो घटना नेपालमा नौलो भने होइन । अझ ठाडो भाषामा भन्दा यसरी गैरकानुनी काम गर्ने युवतीहरूसँग मिलेर पुलिसले नै पनि युवाहरु वर्षौँदेखि लुटीरहेका छन् । सरकारले कानुन देखाएर यौन पेशालाई गैरकानुनी भनीरहने, तर विकल्प नभएको भन्दै युवतीहरुको सो पेशामा संख्या बढीरहने, अनि शहरहरुमा खुलमखुला सो पेशा पनि चलिरहने, र यही घटनालाई लुटी खाने बाटो बनाएर पुलिसहरुले पुरुष लुटिरहने । हो, वर्षौँदेखि यस्तै चलिरहेको छ हाम्रो नेपालमा । 

र त यो घटनाबाट पाठ सिकेर अव सरकारले कानुन संसोधनमै ख्याल गर्नुपर्छ । कुरा स्पष्ट छ, यो बर्जित गर्न सकिने पेशा नै होइन । जति गैरकानुनी भन्यो, लुकेर यो पेशा भइरहेको छ । पेशा गर्नेहरुले गरिरहेका छन्, पैसा खर्च गर्नेहरुले त्यसैमा पैसा खर्च गरिरहेका छन् । न पेशा गर्नेहरुले ढुक्क भएर पेशा गरिरहेका छन्, न पैसा खर्च गर्नेहरु भयमुक्त छन् । अनि यो कानुनको राजनीतिमा सबैभन्दा बढी फाइदा पुलिसलाई भएको छ, जो गैरकानुनी काम भनेर युवती थर्काउँछन् र उनीहरुलाई सित्तै भोग गर्छन् । अझ उनीहरुसँग आएका पुरुषहरुलाई लुटछन् ।

ओपन सेक्रेटजस्तै अर्को तथ्य पनि छ, धेरै पर्यटक हुने ठाउँका अधिकांश होटलहरुमा यस्तो बर्जित धन्दा चल्छ । तर पुलिसको सेटिङ भएपछि कसले छुने ? अझ कतिपय ठाउँका पुलिसहरुले त यस्ता होटलहरुबाट हप्ते असुली गर्छन् । होटलवालाहरु पनि गैरकानुनी काम गर्न घुस खुवाउँछन् । सबै काम भएकै छ, मात्र ग्राहक र सरकार ठगिएको छ । राजश्व चुहिएको छ । यो जमानामा कुनैपनि कुरा नियन्त्रण गर्नु भन्दा नियमन गर्न आवश्यक छ । छुट्टै रेड लाइट एरिया बनाएर सरकारले राजश्व उठाउन सके, बिग्रिने केहि थिएन कि ! सरकार यो विषयमा पनि गम्भीर बनोस् ।

अनि जाँदाजाँदै बर्दीका नाममा जनता लुट्ने केही पुलिसहरुका कारण सबै प्रहरी गलत छन् भन्ने सन्देश जानु हुँदैन । देशमा राम्रा पुलिसहरु पनि छन्, उनीहरुलाई मनैदेखि सलाम । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: