×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठुस्केका सासु–बुहारीजस्ता गभर्नर र अर्थमन्त्री, पीडामा सेयर लगानीकर्ता… (भिडियो ब्रिफिङ)

अर्थ सरोकार

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार

PRIME CA

ठुस्केका सासु–बुहारीजस्ता गभर्नर र अर्थमन्त्री, पीडामा सेयर लगानीकर्ता… (भिडियो ब्रिफिङ)

काठमाडौँ । सेयर बजार अहिले ठिक अवस्थामा छैन । बजारमा हुने कारोबार नगन्य छ, दिनदिनै बजार घटिरहेका समस्या अहिले धेरै सेयर लगानीकर्ताहरुले नेप्सेको वेवसाइटसमेत हेर्न छोडिसके । कुनै बेला चोकचोकमा, गल्लीगल्लीमा, चिया पसलहरुमा सेयर बजारको मात्र चर्चा हुन्थ्यो, तर अहिले समय ठिक उल्टो छ । कसैले झुक्किएर सेयर बजारको बारे बोल्यो भने पनि आफ्नो घटेको पोर्टफोलियो देखेर तनाव हुनुपर्ने अवस्था छ । यहि समयमा फेरी झण्डीमार कम्पनीहरुलाई प्रिमियममा आईपीओ निकाल्न दिएर त्यस्ता झुर कम्पनीका कागजात सर्टिफाई गर्नेहरुले लगानीकर्तामाथि घोर अन्याय गरिरहेका छन् । बुलको समयमा सेयर कारोबारीभन्दा हुँ भन्दा मान्छेले पैसावाल सम्झन्थे, अहिले सेयर कारोबार गर्छु भन्दा यो पक्कै कंगाल भएको होला भन्ने सम्झन्छन् । अनि लाखौँ सेयर लगानीकर्ताको यस्तो हरिबिजोग हुँदा पनि यो देशका प्रधानमन्त्री अर्थतन्त्र लयमा फर्केको छ, सब ठिक हुँदैछ भनिरहेका छन् ।

सोनापुरजस्ता झण्डीमार कम्पनीहरुलाई प्रिमियममा आईपीओ ल्याउन स्वीकृति दिँदा पनि हात नकापेकाहरु, गलत विवरण ठिक छ भनेर सहि गर्दा पनि पाप धर्मको चेष्टा नराख्नेहरुले अझ यो बजारलाई ध्वस्त पार्न योगदान दिइरहेका छन् । अझै पनि प्रिमियम मूल्यमा थप झण्डीमार कम्पनीहरु आउँदैछन् । स्थिति यस्तो भईसक्यो कि अव त पब्लिकमा पनि मेरो कम्पनीको सेयर होस् भनेर आईपीओ ल्याउने होइन, बरु मेरो डुबेको कम्पनीबाट पैसा निकालेर म भाग्ने भनेर आईपीओ निकाल्ने ट्रेन्ड बढेको छ । परिणाम पत्रकारलाई तलव खुवाउन नसकेका पत्रिका र टेलिभिजनहरुसमेत आईपीओबाट जनताको पैसा लुडयाईरहेका छन्, आधार अर्व भन्दा बढी ऋण भएका लगभग सक्किएका मिडिया हाउसहरु पनि आईपीओको तयारीमा छन् ।

लिने बेला आफु ऋण लियो, पैसा आफु चलायो, अनि सो ऋण तिर्नलाई पब्लिकबाट पैसा उठायो, अनि आफु कम्पनी बेचेर भाग्यो । अहिले आइपीओको उद्देश्य नै यस्तो हो भन्ने कुरा प्रष्ट भएको छ । हिजोको सोनापुर वा भविष्यमा आउने अरु धेरै सोनापुरहरुका मालिकहरुको उद्देश्य यस्तै छ । यो कुरामा नियामकले ध्यान नदिंदा र सरकारले हस्तक्षेप नगर्दा नेपालको सेयर बजार सानालाई डुबाउने र ठुलाले कमाउने थलो भएको छ । अनि बदनियत बोकेर आईपीओमा जानेहरुका झुर ब्यालेन्स सिट एकदम दामी भनेर सर्टिफाई गर्ने केहि बजारमाराहरुले अहिले नेपालको सेयर बजारलाई सिध्याउने दुश्साहस गरिरहेका छन् । नियामक धितोपत्र बोर्डका कर्मचारीहरुलाई त आफ्नो नक्कली सर्टिफिकेटको केस मिलाउनमै फुर्सद छैन । सक्कली सर्टिफिकेट भएकाहरुमध्ये आधालाई हाकिमको चाकडी गर्नमै फुर्सद छैन, आधालाई हाकिमलाई सिध्याउन प्लान बनाउनमै फुर्सद छैन । तालुकदार अर्थ मन्त्रालय आलोचना सहनै तयार छैन, प्रधानमन्त्री प्रचण्ड त झन् सेयर बजारबारे कस्तो धारणा राख्छन् भन्ने कुरा धेरै भनिरहनुनै परेन । अनि देशको यस्तो ताल भएपछि लगानीकर्ताको बेहाल त हुने नै भयो नि, होइन र !

तर अव त अत्ति भयो भनेपछि सेयर बजारबारे धेरै नबुझेका सांसदहरु पनि बुझेर, पढेर भए पनि, वा आफ्ना मान्छेलाई सोधेर भए पनि सेयर बजारबारे बोलिरहेका छन् । जहिले नेताको आलोचनामात्र गर्ने होइन, राम्रो कामलाई राम्रो पनि भन्नुपर्छ । बिहिबार सेयर बजारबारे चासो राख्ने माननीयज्यूहरुलाई सेयर लगानीकर्ताहरुले धन्यवाद भन्नैपर्छ । किनकि जनताको घटेको पोर्टफोलियोबारे चिन्ता गर्ने नेता नै अहिलेको युगमा रियल आफ्नो नेता हो । आज सेयर बजारबारे संसदमा अरुभन्दा एक कदम अगाडी बढेर कुरा उठाउने रवि लामिछाने र पूर्वअर्थमन्त्री विष्णु पौडेललाई धन्यवाद ! यसरी नै सेयर बजारका लगानीकर्ताहरुलाई घाउ लाग्दा, मनमा चोट लाग्दा ओखतीमूलो गरिदिनुहोला । सत्तामा बस्नेहरुले त बजारका लागि केहि गरेनन्, तपाईंहरुले यो देशमा नेता अझै छन् भन्ने कुरा देखाउनुभएको छ, यसमा हामी सेयर लगानीकर्ता थोरै भए पनि खुसी छौँ ।

हो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा सेयर बजारबारे आवाज उठाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा रविले सेयर बजारबारे बोलेका हुन् । उनले पछिल्लो समय घाटामा गएका कम्पनीले पनि ‘कृतिम नाफा’ देखाएर आईपीओ जारी गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएका छन् । आईपीओ जारी गरेर जनता ठग्ने प्रवृत्तिको बेलैमा अन्त्य गर्नुपर्ने उनले धारणा छ । आफु सेयर बजारमा खास सक्रिय नभए पनि लामिछानेले लाखौँ जनताको आवाज बोलेका छन् । साधुवाद लामिछानेज्यू ।

यस्तै पूर्वअर्थमन्त्री बिष्णु पौडेलले संसद वर्तमान अर्थतन्त्रका विषयमा बोल्ने क्रममा सेयर बजारबारे बोलेका छन् । उनले सेयर बजार निरन्तर घट्दा पनि सरकारलाई कुनै चासो नभएको सत्य संसदबाट ओकलेका छन् । यसका लागि पूर्वअर्थमन्त्री पौडेललाई धन्यवाद ।

स्मरण रहोस्, पौडेल नेपाली सेयर लगानीकर्ताले रुचाएका अर्थमन्त्री हुन् । उनी सेयर बजारबारे सकारात्मक नेता हुन् । अझ भूमिका नबाँधी भन्दा उनी अर्थमन्त्री हुनेबित्तिकै सेयर लगानीकर्तामा फरक खालको आत्मविश्वास आउँछ । यो उनले बनाएको गज्जबको छवि हो । अझ खुलेर भन्दा अहिले पनि सेयर लगानीकर्ताहरु पौडेललाई अर्थमन्त्रीको रुपमा हेर्न चाहान्छन् । आखिर घटेको पोर्टफोलियो र बढेको तनावबाहेक बढी चिन्ता केहिको नहुने रहेछ सेयर लगानीकर्ताहरुलाई ।

यसो त बजार घट्नु र बढ्नु सेयर बजारको सुन्दरता नै हो । तर जति सुन्दर मान्छे पनि तनावका बेला चाउरिन्छ । बिरामी परेका थला परेका बेला, अझ कोमामै पुगेका बेला विश्वसुन्दरीको सुन्दरताको पनि अर्थ रहँदैन । सेयर बजार अहिले त्यस्तै अवस्थामा छ । अलिअलि घटेका बेला किन्न पाए, बढेका बेला थोरै बेच्न पाए, लङ टर्म लगानी गर्न पाए पो बजार त, यसरी काम गर्न पाएपो सेयर बजार त, आजकल त अस्ती पनि घटेको छ, हिजो पनि घटेको छ, आज पनि घटेको छ । कति दिन सहनु, कहिलेसम्म सहनु । लगानीकर्ताको स्थिति यस्तो भईसक्यो, आजकल त साथीहरुले पनि के भन्न छोडिसके । सबैलाई थाहा छ, के हुनु पूरै घटेको छ ।

हुन त बजारको बियरिस चक्र र बुल चक्र सामान्य हो । बजारमा बुलपछि बियर आउँछ र बियरपछि बुल आउँछ । तर पनि थला परेको मान्छेले छिटो निको हुन चाहानेरहेछ । बिरामी मान्छेलाई केहि हुन्न छिट्टै निको हुन्छ भन्दा पनि बिरामी भएका बेलाको दर्दले पिरोल्ने रहेछ । हो, एकदिन बियरिस बजार सकिन्छ भन्ने पनि सबैलाई थाहा छ । तर त्योबेलासम्म यस्तै हुने हो भने स्थिति के हुने हो थाहा छैन भन्ने कुरा पनि सबैलाई थाहा छ । विहानी हुन्छ, सूर्य उदाउँछ भन्ने थाहा भएर के गर्नु ? राती व्यथाले च्यापेको मान्छे भोलि विहान होइन अहिले नै औसधि खोज्ने रहेछ । अहिले बजारमा सेयर लगानीकर्ताको हालत ठ्याक्कै यस्तै छ ।

यहि बेला फेरी झण्डीमारहरुलाई प्रिमियममा आईपीओ जारी गर्न दिएर अझ, सप्लाई मात्र बढाउनेगरी, डिमाण्ड कमजोर हुनेगरी नियामकले गरेका झुर निर्णयको सिकार भईरहेका छन् लगानीकर्ताहरु । यसै त फलानो, त्यसमाथि भटमास खाकी, भनेजस्तै यसै त बियरिस बजार त्यसमाथि पनि सप्लाई बढाउने काम हुँदा लगानीकर्ताहरु प्यानिक छन् । तनावमा के गर्नु ? घुम्न जाउँ पैसा छैन, रक्सी खाउँ, उही घटेको हिमालयन डिस्टिलरीको याद आउँछ । बिजोगमात्र होइन, सरकारको असक्षमताका कारण बिजोग छ सेयर लगानीकर्ताहरुको ।

फेरी यहि बेला गभर्नर र अर्थमन्त्री कुकुर बिरालोजसरी, ए होइन होइन, ठुस्केका सासु बुहारीजसरी ठुस्केर बसेका छन् । घरमा सासु बुहारीको झगडा पर्दा, सासुले पाउँदा सासुले पेल्ने बुहारीले पाउँदा बुहारीले पेल्ने भएजस्तै अहिले गभर्नरले पाउँदा सरकारलाई पेल्ने सरकारले पाउँदा गभर्नर नछोड्ने भईरहेको छ । अनि घरमा आमा मिलाउन नसक्ने भन्ने श्रीमती र तेरो बुडीलाई ठेगानमा राख भन्ने आमाको बीचमा बिचरो छोरो परेजस्तै यी गभर्नर र अर्थमन्त्रीको बिचमा सेयर लगानीकर्ताहरु परिरहेका छन् । गभर्नर र अर्थमन्त्रीले जति नै हाम्रो सम्बन्ध ठिक छ भने पनि पनि साँढेको जुधाई बाचाको मिचाईमा सेयर लगानीकर्ताहरु छन् । यो सिलसिला सकिन कि गभर्नर फेरिनुपर्यो कि सरकार एमालेको आउनुपर्यो जस्तै स्थिति छ बजारमा ।

यो त समस्याको कुरा भयो, आखिर यो घटेको बजारको समाधान के होला त ? हेर्नुस्, यो देशमा समस्यामात्र छैन, सम्भावना पनि छ । न्याय अझै मरेको छैन, सबै न्यायाधीस घुस खाएर मात्र फैसला गर्दैनन् भन्ने तथ्य त बिहिबार सर्वोच्चले रिगलविरुद्ध गरेको फैसलालेनै प्रष्ट पार्छ । नेता सबै चोर हुँदैनन्, कर्मचारी सबै कामचोर हुँदैनन् । अझै पनि चाहाने हो भने सरकारले, राष्ट्र बैंकका गभर्नरले, धितोपत्र बोर्डले लगानीकर्ताहरुको घाउमा मल्हम लगाउन सक्छन् । त्यसका लागि अहिले ओभर सप्लाई हुने गरी भएका वा हुने निर्णयलाई रोक्नमात्र सके पनि काफी हुन्छ । सेयर बजारको राम्रोका लागि गर्नुपर्ने काम त धेरै छ, तर तत्काल गर्नुपर्ने काम गरिहाले, त्यसको छुट्टै अर्थ हुन्छ । भोक मरिसकेपछीको व्यंजन र लगनपछीको पोते के काम भन्ने त उखान नै छ नि होइन र ?

यो झण्डीमार कम्पनीहरुलाई प्रिमियम दिन बन्द गरिनुपर्छ । सप्लाईको सुनामी आउनेगरी आईरहेका आईपीओहरुलाई सके केहि समय बन्द गरिदिए भयो, नसके पनि सुस्त गरिदिए हुन्छ । किनकि गाडी पनि ओभरस्पीड भयो भने दुर्घटना हुन्छ, सेयर बजार पनि त त्यस्तै हो । फेरी यहाँ आईपीओ ल्याउने त हाम्रो अधिकार हो भन्नेहरु पनि छन् । होइन भनेकै छैन, नल्याउने भनेकै होइन । तर केहि सुस्त गर्दा वा केहि दिन बिदा लिंदा बजार राम्रो हुन्छ भने किन नगर्ने भन्ने मात्र हो । यसतर्फ सरकार र नियामकले सोच्नुपर्छ । किनकि पोर्टफोलियो रहे न सेयर बजारको मज्जा हुने हो । नत्र त उही धुर्मुसले भनेजस्तै ‘खै के खै के प्लित्त’ भैगो नि, होइन र ? (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: