×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देहव्यापारको ‘ओपन सेक्रेट’, मसाज पार्लरमा खुलेआम धन्दा, जताततै अघोषित ‘रेडलाइट’ (भिडियो ब्रिफिङ)

PRIME CA
GLOBAL IME BANK

देहव्यापारको ‘ओपन सेक्रेट’, मसाज पार्लरमा खुलेआम धन्दा, जताततै अघोषित ‘रेडलाइट’ (भिडियो ब्रिफिङ)

२० मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < ५ मिनेट

काठमाडौँ । कागजी कानुन हेर्ने हो भने नेपालमा देह व्यापार पूर्ण रुपमा बन्देज छ । अर्थात कहींकतै कुनै बहानामा पनि देह व्यापार गर्न पाइन्न । तर ओपन सेक्रेटचाहिं के हो भने नेपालमा त्यस्ता शहरहरु छैनन्, जहाँ देह व्यापारको सेक्रेट जक्सन नहोस् । अझ काठमाडौँ, पोखरा, बुटवल, जस्ता शहरहरुमा त प्रहरीकै अगाडि खुलेआम शरीरको मोलतोल हुन्छ, शरीर सुखको खुलेआम व्यापार हुन्छ अनि चलिरहेछ देहव्यापारको धन्दा । पुलिसलाई पैसा आएकै छ, किन कानुनको पालना गर्थे र, देह व्यापार गर्नेहरु कि विकल्प देउ, कि मेरो शरीर मेरो मर्जी भनिरहेका छन्, जसको जवाफ र विकल्प दुवै छैन सरकारसँग । अनि थोरै रहरले, धेरै बाध्यताले खुलमखुला चलिरहेछ, मान्छेले मान्छेलाई किनबेच गर्ने शरीरको व्यापार शहरहरुमा

रात छिप्पिँदै गर्दा देशका प्रमुख शहरहरुमा थरीथरीका देह व्यापार चल्छन् । एकथरिले पुलमुनि वा आकाशे पुलमाथि डिल गर्छन् । खुलेआम रुपमा रातको रेट तोकिन्छ, वा समय तोकेर पैसाको छिनोफानो हुन्छ । कति व्यापार गेष्ट हाउस वा होटलहरुका नाममा चल्छ, उनीहरुकै ठाउँमा चल्छ । जहाँ जवानीको मोल तोक्ने दलालहरु चिटिक्क परेका कपडामा देखिन्छन् । देशको प्रहरी प्रशासन उनीहरुकै खल्तीमा हुन्छ। अझ पर्यटकीय नगरीहरुमा त झन् देह व्यापार ओपन सेक्रेटजस्तै छ । कतिपय ठाउँमा प्रहरीले हप्ता असुल्छन्, र व्यापार चल्छ । कति ठाउँमा प्रशासन चलाउनेहरुले गोजी भर्छन् र देह व्यापार चल्छ । कतिपय ठाउँमा विचरा यिनीहरुसँग अरु के छ र बेच्नलाई, न सरकारले रोजगार दिएको छ, न विकल्प भन्ने लागेर प्रहरी र प्रशासन दुवैले आँखा चिम्लिदिएका छन्, जसका कारण फस्टाईरहेको छ शरीरको व्यापार, शहरहरुमा

यतिसम्म त चलेकै थियो, काठमाडौँका गेष्ट हाउसहरुमा घन्टे कोठाहरु बिक्री भइनै रहेका छन्, रिसोर्टका नाममा होस् वा भट्टी, शरीरको मोलतोलको ओपन सेक्रेट बिजनेश आफ्नै गतिमा थियो र छ, तर पछिल्ला केही घटनाहरुले अव यो अवैध भनिएको बिजनेशभित्र पनि कहालीलाग्दा घटना छन् भन्ने देखिएको छ, जसले देखाउँछ, यो समाजको विकृत तस्विर । सँगै देखाउँछ केही काम नपाएकै कारण पापी पेट पाल्न काम गर्नेहरुको असुरक्षाको स्थिति ।

विश्वका धेरै देशहरुमा देह व्यापारलाई मनोरञ्जनको एउटा क्षेत्र मानिएको छ । सरकारले निश्चित ठाउँ तोकिदिएर त्यहाँ देह व्यापार गर्न दिन्छ । राज्यले मोटो कर असुल्छ र भरपुर सुरक्षा पनि दिन्छ । विश्वमा त्यस्ता धेरै वालस्ट्रिटहरु छन्, जसले व्यापारको अपार साम्राज्य बनाएका छन् । त्यहाँ जवानीको मात्र होइन, पैसाको खोलो बग्छ । न जानेहरुलाई कसैको डर छ, न आउनेहरुलाई । बरु राज्यले दुवैको अधिकार संरक्षण गर्छ । अझ थाईल्याण्डजस्ता देशले त झन्, देह व्यापारबाट देशकै कुल ग्राहस्थ उत्पादनको ठुलो हिस्सा ओगट्छ । नेपाल, त्यस्तै हुनुपर्छ भनेको पक्कै होइन, तर खुलेआम हुने यस्ता धन्दा कि उनीहरुलाई विकल्प दिएर बन्द गर्न सक्नुपर्छ, होइन भने व्यवस्थित गर्न सक्नुपर्छ । हुन त नियमन गर्न सकिएन भनेर टिकटक त बन्द गर्ने सरकारले अवैध धन्दा व्यवस्थित गरेर चलाउन सक्छ भन्ने ठाउँ छैन, तर नसक्नेले नसके सक्नेलाई सत्ता सुम्पनुपर्छ । यस्ता त धन्दा चलिरहेछ, बस प्रशासनलाई भत्ता सुम्पनुपर्छ ।

हुन त नेपालमा देह व्यापार गैरकानुनी हुँदा राज्यले बाहेक सबैले कमाएका छन् । पुलिसले हप्ते असुलीबाट कमाएका छन्, दलालले अरुको शरीरको दलाली गरेर कमाएका छन्, धन्दा गर्नेले यसै कमाएका छन्, गेष्ट हाउस चलाउनेले यसै कमाएका छन्, प्रहरी र धन्दावाल मिलाउने दलालहरुले पनि कमाएकै छन् । कमाएको छैन त मात्र राज्यले । र त न सरकार सँग यो व्यवसायलाई व्यवस्थित गर्ने तागत, वा औकात छ, न आँट । अनि यहि कारण, देह व्यापार भनेर होइन, कतै खाजा घर भनेर त कतै मसाज सेन्टरका नाममा खुलेआम भईरहेछ शरीरको व्यापार ।

पछिल्ला केहि उदाहरण हेरौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भुमार्ग र रातोपुलस्थित दुईवटा मसाज सेन्टरका सञ्चालक हुन् सङ्खुवासभाका दिनेश पौडेल । काठमाडौँ महानगरपालिका–९ स्थित शम्भुमार्गमा सञ्चालित नुवाकोट स्पा एन्ड ट्रेनिङ सेन्टर र रातोपुलस्थित नुवाकोट स्पा एन्ड ब्युटी पार्लरको आवरणमा देह व्यापार गरेको आरोपमा उनी अहिले पक्राउ परेका छन् । केही समय अगाडि प्रहरीले उनको पार्लरमा छापा हानेको थियो । त्यहाँ केही नाबालिग र दुई युवतीहरुलाई प्रहरीले उसकै भाषामा उद्धार गरेको थियो । ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका र पढलेख नभएका किशोरीहरूलाई ब्युटी पार्लर र मसाज सम्बन्धी काम लगाउने भन्दै काठमाडौँ ल्याउने र मसाज सिकाएर पछी देह व्यापारमा लगाउने गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।  उद्धार गरिएका किशोरी र नाबालिगको उजुरीका आधारमा पक्राउ गरेर पौडेलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ । किशोरीहरुलाई केही सय कमिसन दिने र ग्राहकबाट असुलेको थप रकम आफूले लिने गरेको आरोप छ उनलाई ।  उद्धार गरिएका किशोरीहरु ८ र ९ कक्षामा अध्ययनरत छन् । सुरुमा फकाएर काममा लगाउने र पछि ग्राहकलाई शरीर सुख नदिए पुरुषसँग अश्लील क्रियाकलाप गरेको फोटो, भिडियो मसँग छ, नमानेमा सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाउँछु’ भनेर त्रासमा राख्ने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् ।

अव अर्को उदाहरण हेरौं । काठमाडौँस्थित कलङ्की र नयाँ बसपार्कमा रहेका गेस्ट हाउसमा पनि देह व्यापार भएको प्रहरीले फेला पारेको छ । प्रहरीको मानव बेचबिखन ब्युरोले जबर्जस्ती यौनधन्दामा लगाइएका तीन जना नाबालिगहरूलाई उद्धार गरेको छ । कलङ्की र नयाँ बसपार्कबाट तीन जना नाबालिगहरूलाई उद्धार गरिएको छ । कलङ्की र नयाँ बसपार्कको गेस्ट हाउसमा राखेर ती नाबालिगहरूलाई जबरजस्ती देहव्यापारमा लगाउने गरेको पाइएको छ । काठमाडौँमा मात्र होइन देशभर यस्ता घटना दिनदिनै बढिरहेका छन् ।

अव यीनै घटनामा हेरौं, राज्यले नियमन गर्न सकेको भए यस्ता घटनामा उमेर पुगेकाहरु मात्र हुन्थे, राज्यको उपस्थिति हुने भएपछि त्यहाँ सेटिङ चाहिन्नथ्यो । उल्टै प्रहरीले सुरक्षा दिन सक्थ्यो । परिणाम, उमेर नपुगेकाहरु सोषणमा पर्नुपर्ने स्थिति हुँदैनथ्यो । देह व्यापारका छुट्टै अखडाहरुमा मात्र यस्तो कारोबार हुन्थ्यो, अरु ठाउँमा असुरक्षाको तनाव हुने थिएन । देह व्यापार भनेपछि देह व्यापारकै रुपमा काम हुन्थ्यो । तर यहाँ त स्पा, मसाज, ब्युटी पार्लर लगायतका बहानामा नेपाली चेलीहरु शोषित छन् । दलालहरुले उनीहरुले शरीर गुमाएर कमाएको पैसामा राज चलाएका छन्, अनि राज्यले पाउने केही छैन । 

राज्यले सकेसम्म रोजगारी दिनुपर्छ । सकेसम्म विकल्प दिनुपर्छ । विकल्प भए यस्तो पेशामा लाग्ने रहर खासै कसैलाई हुन्न । तर केहि विकल्प नभएपछी गरेको काम पनि खुलेआम घुस खुवाएर गर्नुपर्ने स्थिति छ, चरम शोषणको स्थिति छ । कतै कतै मात्र होइन, काठमाडौँका गल्लीगल्लीमा चोकचोकमा, पुलमाथि, पुलमुनि, खोला तल, झाडीभित्र अनेक ठाउँमा यस्ता धन्दा चलिरहेका छन् । काठमाडौँका अधिकांश गेष्ट हाउसमा, होटलहरुमा यस्तो अबैधमानिएको धन्दा चलिरहेको छ । परिणाम, राज्यले केहि पाएको छैन, र असुरक्षा र अपराध बढेको छ ।

पैसा तिर्ने तिर्न तयार छ । शरीर सुम्पने यसै तयार छन् । विकल्प नभएपछि धेरैको बाध्यता छ, केहीको रहर पनि होला । तर कुनै पनि कुरा नियन्त्रण गर्न खोजे त्यसले दुर्घटना निम्त्याउँछ । त्यसैले सरकारले बुझ्नुपर्छ, उमेर पुगेकाहरुलाई शरीरसुखको उन्मादका नाममा मनपरी वा अपराध गर्न होइन, नियमनको दायराभित्र ल्याएर अव देह व्यापारलाई करको दायराभित्र ल्याउन ढिलो गर्नु हुन्न । घरमा जति टाइट वातावरण हुन्छ, केटाकेटी त्यसैगरी बिग्रिन्छन्, आखिर देश पनि उस्तै हो नि होइन र । फेरी पनि भन्छौँ, सकेसम्म विकल्प देउ, केही काम नपाएर आफ्नै शरीर बेच्न तयार भएका चेलीहरुलाई । विकल्प दिन नसके व्यवस्था गरिदेउ, जहाँ उनीहरु लुटिनुपर्दैन । बरु राज्यलाई कर तिरेर आफ्नो पेट पाल्छन् । अनि नाबालिगहरुलाई प्रयोग गर्नेहरुलाई त अझ कडा कानुन बनाउ, बरु झुन्ड्याउने कानुन बनाउ । अरे, हरेक कुरामा विदेशको उदाहरण दिने नेताहरु नियमनका विषयमा पनि त सोच, विदेशबाट सिक न । होइन र ? (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: