काठमाडौँ । एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा भनेजस्तै सेयर बजारमा पनि एउटा नीतिले कति फरक पर्दो रहेछ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत सेयर बजारप्रति लचक नीति लिएपछि लगानीकर्ताहरु उत्साहित मात्र भएनन्, आइतबारको कारोबारमा नेप्सेले पोजेटिभ सर्किट नै हान्यो । एक त राष्ट्र बैंकको लचक नीति, अर्को, ब्याजदर घट्ने क्रम पुनःसुरु हुँदा लगानीकर्ताहरु उत्साही भए । परिणाम, बियरिसको लामो चक्रमा बिरक्तिएर हिँडेका हात्तीहरु पोर्टफोलियोमा धमाधम प्रवेश गरे । धेरैपछि आज सेयर लगानीकर्ताको पोर्टफोलियो हेर्न लायक देखियो । ब्रोकर हाउसहरुमा खुसीले लगानीकर्ताहरु नाचे, उफ्रिए, मिठाई बाँडे, हामीले पनि अर्थ सरोकारमा खुसीयाली मनायौं । कारण बजारको एक दिनको बढोत्तरीको मात्र होइन, लामो समयको विरक्तलाग्दो समयको आईस ब्रेक पनि हो । फेरी एक पटक सम्पूर्ण सेयर लगानीकर्ताहरुलाई बधाई, मौद्रिक नीतिमा लचकता अपनाईदिने राष्ट्र बैंकलाई धन्यवाद ।
साताको कारोबारको पहिलो दिन नै सेयर बजारमा ‘पोजेटिभ सर्किट’ लागेर बजार बन्द भएको भयो । ६ प्रतिशत बजार बढोत्तरीसँगै आइतबारका लागि बजार बन्द भएको हो । आइतबार कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११:२५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो । पुनः १२:०७ बजे सुरु भएको कारोबारमा २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो ।
जानकारहरुका अनुसार बजारमा उत्साह देखिनुका मुख्य ३ कारण छन् । पहिलो कारण नेपाल राष्ट्र बैंक सेयर बजारप्रति सकारात्मक नै नभए पनि अव धेरै नकारात्मक हुँदैन भन्ने संकेत हो । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै सेयर कर्जाको जोखिम भार घटाएर लगानीकर्तालाई सकारात्मक सन्देश दिएको थियो । राष्ट्र बैंकको नीतिका कारण जहिल्यै राष्ट्र बैंकप्रति लगानीकर्ताहरु आक्रोशित हुने गरेकोमा यसपटकको समिक्षालाई लगानीकर्ताहरुले स्वागत गरेका थिए ।
दोश्रो, र महत्वपूर्ण कारण भनेको ब्याजदरको घटोत्तरी हो । आज एकाविहानै एनआईसी एशिया बैंकले ब्याज घटाएर सकारात्मक सन्देश दिईसकेको छ । बैंकरहरु ब्याज अझै घट्ने निश्चित भएको बताईरहेका छन् भने अन्य बैंक तथा वित्तीय संस्थाहरु पनि ब्याज घटाउन लागि परेका छन् । ब्याज घट्ने भएपछि लगानीकर्ताहरु उत्साहित हुँदा त्यसको सकारात्मक प्रभाव नेपाली सेयर बजारमा देखिएको छ ।
तेश्रो कारण भनेको नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा केहि सकारात्मक सन्देशसहितको परिमार्जन गर्दैछ भन्ने सूचना चुहिँदा केहि ठुला लगानीकर्ताहरु गत साताको बजारमा प्रवेश गरेका छन् । ठुला लगानीकर्ता चलायमान हुँदा बजार नै चलायमान हुन्छ । बजार झन् सकारात्मक देखिँदा ती लगानीकर्ताहरु थप लगानी गर्न उद्दत रहेको पाइएको छ। कारण जे भए पनि सेयर बजारमा धेरैपछी भएको यो आईस ब्रेकको खास अर्थ छ । बजारमा लामो बियरिस, र बियरिसभन्दा पनि लामो साइडवेज सकिएको भान भएको छ । बजारयात्राका अवका दिनहरु बुलिसमय हुने संकेत देखिएको छ ।
बजारमा लगानीकर्ताहरु कतिको अध्ययनविना लगानी गर्छन् भन्ने तथ्य आज छताछुल्ल भएको छ । बजार सर्किट लागेर बन्द हुँदै गर्दा आज सेयर बजार किन छिट्टै बन्द भएको भनेर रोइलो गर्नेहरु पनि भेटिए सेयर बजारमा । हुन पनि यसरी विना अध्ययन लगानी गर्नेहरु धेरै छन् सेयर बजारमा । खैर, आउनुहोस्, यहि मौकामा सर्किटबारे पनि बुझौं । करिव २ बर्षपछि नेपाली सेयर बजारमा सर्किट लागेको छ । २०७८ साल मंशिर २९ गते पोजिटिभ सर्किट लागेर बन्द भएको बजार, आज आइतबार पनि पोजेटिभ सर्किट लागेर बन्द भएको छ । धेरैपछि बजारमा पोजेटिभ सर्किट लागेपछि बजारमा सर्किट ब्रेकको चर्चासमेत चुलिएको छ । कुनै पनि देशको सेयर बजारमा बजार बढेका बेला लगानीकर्ताहरु बढी आक्रामक नहुन् वा बजार घटेका बेला लगानीकर्ताहरु थप प्यानिक नहुन् भन्ने उद्देश्य राखेर बजारमा राखिएको ब्रेकलाई धेरैपछि लगानीकर्ताहरुले देख्न पाएका छन् ।
नेपालको सेयर बजारमा २०६४ साल असोजबाट सर्किट ब्रेकको अभ्यास सुरु भएको हो । हाल नेप्सेमा नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ भने, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ। आज पनि २ पटक सर्किट लागेर निश्चित समय बन्द भई खोलिएको बजार अन्ततः ६ प्रतिशतले बढेपछि पूरै दिनको लागि बजार बन्द भएको हो ।
’सर्किट’को इतिहास हेर्ने हो भने अमेरिकाको सेयर बजारतर्फ जानुपर्ने हुन्छ । अमेरिकाको सेयर बजार डाउ जोन इन्डस्ट्रियल एभरेजमा सन् १९८७ अक्टोबर १९ का दिन सबैभन्दा पहिले सर्किट ब्रेक लगाइएको थियो । कुल ५०८ विन्दुको ठुलो गिरावट आएपछि इतिहासमै पहिलोपटक नेगेटिभ सर्किट लगाईएको थियो ।
अमेरिकी इतिहासमै यो दिन डाउ जोनमा २२.६ प्रतिशत अर्थात ५०८ प्वइन्टको गिरावट आएको थियो । कारोबार खुलेको पहिलो दिन नै नमज्जाको ’डाउन फल’ आएपछि त्यतिबेला पूरै देशका सेयर लगानीकर्ताहरु ’स्तब्ध’बनेका थिए । आज पनि सो दिनलाई ’ब्ल्याक मण्डे’का रुपमा सम्झिने गरिन्छ । त्यसपछि २०१३ मा त्यहाँको सर्किटको नियम परिमार्जन गरी तीनवटा तहका सर्किटहरु तय गरिएको थियो ।
बजार बढेपछी लगानीकर्ताहरु खुसी मात्र छैनन्, सधैंजसो गभर्नरलाई गाली गर्ने सेयर लगानीकर्ताहरुले आज खुलेरै महाप्रसाद अधिकारीलाई धन्यवाद दिएका छन् । नेप्सेमा पोजिटिभ सर्किट लागेपछि सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई धन्यवाद दिएका छन् । मौद्रिक नीतिको कसिलो नीतिकै कारण सेयर बजार राताम्य भएको विश्लेषण गरेका लगानीकर्ताले राष्ट्र बैंकले समिक्षामार्फत सेयर धितो कर्जामा लचक नीति लिएपछि बजार बढेको भन्दै गभर्नर अधिकारीलाई धन्यवाद व्यक्त गरेका हुन् ।
लगानीकर्ता शैलेन्द्र थापाले आफुले गभर्नरलाई धन्यवाद सन्देश पठाएको बताएका छन् । उनले गभर्नर अधिकारीलाई थ्यांक यु गभर्नर साप भनेर सन्देश पठाएको बताएका छन् । गभर्नर लचिलो भएकै कारण बजारमा उत्साह थपिएको उनको तर्क छ । हुन पनि गभर्नर अधिकारीलाई यसपटक त धन्यवादका पात्र बनेका छन् । उनकै कारण बजारमा सकारात्मक माहोल देखिएको छ । सामाजिक संजालमा पनि गभर्नरलाई सन्देश भन्दै लगानीकर्ताहरुले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई धन्यवाद दिईरहेका छन् ।
बजार बढेपछी लगानीकर्ताहरुले एक आपसमा बधाई साटासाट गरिरहेका छन् । सेयर लगानीकर्ता हुँदै संसदसम्म पुगेका सांसद हरि ढकालले सामाजिक संजालमा सबै लगानीकर्ताहरुलाई बधाई दिएका छन् । अग्रज लगानीकर्ताहरुले पनि बजारमा लगानीकर्ताहरुलाई बधाई दिएका छन् । अग्रज लगानीकर्ता निर्मल प्रधानले अर्थ सरोकारमार्फत सबै लगानीकर्ताहरुलाई बधाई भनेका छन् ।
तर यति भन्दै गर्दा बजार न हो, सचेत भएर लगानी गर्नुपर्छ भन्ने कुरा बिर्सनुहुन्न । चामलको भाउ बढेका बेला कनिकाको पनि समय आउँछ । बजार बढेका बेला चामल भनेर कनिका भिडाउने ग्याङ सक्रिय हुन्छ । बजार बढ्ने भयो भन्दैमा विना अध्ययन कम्पनी किने फेरी पनि डुबिन्छ । दुध नदिने गाईको भाउ सधैं आउँदैन भन्ने कुरा पनि लगानीकर्ताहरुले बुझ्नुपर्छ । सेयर बजारमा बुझेर लगानी गरे राम्रो पैसा कमाइन्छ भन्ने कुरामा कुनै दुईमत छैन, तर बजार कठोर हुन्छ भन्ने कुरा पनि बिर्सनुहुन्न ।
आज बजारमा देखिएको सर्किटले समग्र बजारको उद्धार गरोस्, लगानीकर्ताहरुलाई उद्धार गरोस्, बुलिस लयको सुरुवात सावित होस् आजको सर्किट । भोलि के हुन्छ, कसैलाई थाहा छैन । त्यसमाथि यो त सेयर बजार हो । एउटा बाठोले अर्को बाठोलाई बठ्याई गरेर आफु बढी बाठो सावित हुने यो बजारको लय यसै भन्न सकिन्न । र पनि बाटो बुझेर यात्रामा हिँडे एक दिन जरुर गन्तब्यमा पुगिन्छ। आजको सेयर बजारको सुखद दिनका लागि पुनः एक पटक सबै लगानीकर्ताहरुलाई बधाई । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्