×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारको मिसन ८४, के गर्ने ? के नगर्ने ? बुल आएपछि कथित विज्ञको बिगबिगी… (भिडियो ब्रिफिङ)

PRIME CA
GLOBAL IME BANK

सेयर बजारको मिसन ८४, के गर्ने ? के नगर्ने ? बुल आएपछि कथित विज्ञको बिगबिगी… (भिडियो ब्रिफिङ)

२८ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < ८ मिनेट

काठमाडौँ । यतिबेला बजारमा दुई कुराको चर्चा छ, कि त सेयर बजारमा सुरु भएको साँढेको दौदाई, कि त नेताहरुको मिसन ८४ को ’साँढे जुधाई । नेपाली काँग्रेस भनिरहेको छ, मिसन ८४ मा लागौं, रवी लामिछाने नेतृत्वको रास्वपा भनिरहेको छ मिसन ८४ मा सबैलाई देखाईदिन्छौँ, प्रतिपक्षी एमाले प्रतिपक्षको भूमिकामा भन्दा सत्तारुढ दलसँग मिलेर बसेकोझैं देखिनेगरी मिसन ८४ मा छ । माओवादी यसपाली काम देखाउने अनि ८४ मा सिट बढाउने भन्दै मिसन ८४ मा छ । राप्रपा ८४ सम्म राजा ल्याउने भनेर अघोसित मिसन ८४मा छ । बालेन ८४ मा देश बन्दैन, ८४ सकिएपछि बन्छ, तिमीहरुलाई सक्काएर बन्छ भनेर ८४कै कुरा गरिरहेका छन् । ठिक यहि समय बजारमा मिसन ८४ जस्तै सेयर बजारको चर्चा उस्तै छ । बियरिस बजारमा फलानोले टोपी लगायो भनेर रोइलो गर्नेहरु बजार बढ्न थालेको के थियो, विज्ञ टोपलीन थालेका छन् । अरु बेला सेयर बजारका जानकारहरुलाई फेक आईडीबाट फलानो टोपीवाल वा फलानो टोपी माष्टर भनेर गाली गर्नेहरु भकाभक फोन गरेर, कुन स्टकमा लगानी गरौँ भनेर सोधिरहेका छन् । आफुले सेयर बेचे अनि पढाउन हिँडे भनेर सेयर गुरु र उहाँको टिमलाई गाली गर्नेहरु अहिले गोरु बेचेको साइनो खोजेर सो टिमलाई फोन गरेर सेयर बजार कता जान्छ भनेर सोधिरहेका छन् ।

यति मात्र होइन, चिया पसल, किराना पसल, रेष्टुरेन्ट जताततै सेयर बजारकै चर्चा हुन थालेको छ । अघिल्लो बुलमा सम्पत्ति सक्काएकाहरुदेखि बजार १६०० मा आएपछि सेयर किन्ने हो भन्ने सपना दिउँसै देखेर बसेकाहरु पनि अव बजार कता जाने हो भन्ने बहसमा देखिएका छन् । मेरो सेयरको प्रयोग गर्नेहरुको संख्या ह्वात्तै बढेको छ, सेयर बजारसम्बन्धि बहस हुने ठाउँहरुमा कुराकानी बाक्लिएको छ । अवेर रातीसम्म क्लबहाउसमा सेयर सम्बन्धि बहस चल्न थालेका छन्, फेक आईडी दिनमा कम्तीमा आधा दर्जन बढी खुल्न थालेका छन्, नेपाल धितोपत्र बोर्ड भित्रभित्रै ती फेक आईडीबारे अध्ययन गरेर तिनलाई पाता कस्न प्रहरीको सहयोग लिने तयारी गरिरहेको छ, अनि सबैभन्दा खास कुरा त बियरिस बजारमा सेयर किन्ने बेला यहि हो है भन्दा, अँ आफुलाई बेच्नुपरेको होला, अनि गफ दिन्छ भन्नेहरु अहिले ’दुई चार पैसा जोगाएको थिएँ, कुन सेयर किन्ने होला ?’ भनेर चिप्लो घसीघसी सोध्न थालका छन् ।

बजारमा बुलको लय सुरु भयो त्यतिकै भनिएको होइन । बैंकमा ब्याजदर घटाउने तीब्र प्रतिष्पर्धा चलिरहेको छ । सेयर बजारको ’स’ बुझेकासमेत मान्छे नभएका मिडियाहरुले पनि तानतुन गरेर सेयर बजारका समाचार लेखिरहेका छन् । नेप्से र अर्थ सरोकार उही हो भन्ने सम्झेर नेप्सेलाई पठाउनुपर्ने पत्र अर्थ सरोकारमा पठाउने पुलिस प्रशासनदेखि, अघिल्लो बुलमा बजारमा लगानी डुबेर हत्तु भएकाहरु पनि सलबलाएका छन् । अर्थ सरोकारको कार्यालयमा अवको सेयर तालिम कहाँ र कहिले हुँदैछ भनेर फोन आउने क्रम बढेको छ, अर्थ सरोकार डटकम मार्फत सेयर तालिममा सहभागी हुन आवेदन दिनेहरुको क्रम बढेको छ । अन्य ठाउँमा पनि तालिम सुरु हुन थालेका छन्, चुकुल एपको सब्स्क्रीबसन बढेको छ, सेयर बजारका कन्टेन्टहरु युट्युब र फेसबुकमा खोज्नेहरु बढेका छन् । समग्रमा माहोल बुलमय भएको छ । हामीलाईचाहिं चिन्ता यहि छ, बुल आएकै छैन भनेर अहिले खेलाडीले तर्साएर महँगोमा सोझालाई सेयर पो भिडाईदिने हो कि, अनि बजार बढेपछि त घट्दै घट्दैन भनेर बजारमा लगानीकर्ताहरुले सेयर बेचने पो नजान्ने हो कि । आउनुहोस्, आज मिसन ८४ को कुरा गरौँ, अर्थात ८४ सम्मको सम्भावित लगानी प्लानको कुरा गरौँ ।

केहि समय अघि सेयर गुरु सुबास चन्द्र भट्टराई लगायतकाले सेयर किन्ने त बियरिसमै हो, अहिले नै हो भन्दा गुरुले भनेको नमान्नेहरु अहिले अवचाहिं किन्दा हुन्छ ? भनेर सोधिरहेका छन् । खासमा फाइदा खान सेयर किन्नका लागि अहिले पनि अवेर भएको छैन । सेयर बजारमा राम्रा कम्पनी किन्न खासै अवेर भएको अवस्था जरुर होइन । तर सत्यचाहिं के हो भने १८०० हाराहारी बजार आउँदा किन्नेहरुले एक लट राम्रै पैसा छापिसकेका छन् ।

अव पूराना कुरा छोडीदिउँ, नयाँ कुरा गरौँ भन्ने हो भने जानकारहरुको दाबी छ, किन्ने अहिले नै हो । आज भोलिमै सेयर किन्ने हो भने पनि १८०० हाराहारीमा किन्दाजस्तो फाइदा नभए पनि थप फाइदा पक्का हुनेछ । किनकि बजार त एक दुई सय वरपरमात्र बस्ने होइन, बजार धेरै परसम्म त आखिर जानु नै छ । ल मानौँ धेरैसम्म पर नगएपनि केहि त पर पक्कै जाँदैछ । अनि अहिले र केहि परबीचको ग्यापमा त मिठो नाफा पक्कै छ नि, होइन र ? फेरी तपाईंको प्रश्न होला, भोलिबाटै बजार घट्यो भने नि ? यो तपाइँको प्रश्न मात्र होइन धेरैको प्रश्न हो । यस्तो छोटो सोच राखेर खासमा सेयरमा लगानी गर्ने नै होइन । घटे पनि कति घट्ला अर्को १०० अंक ? के बिग्रियो त ? आखिर बजार अव जाने माथि नै हो, १०० अंक त एक सर्किटको कुरा न हो । यहि कुरा सधैँ लागु हुँदैन, बजार पिक भएका बेला यस्तो सोच्ने पनि होइन । तर ३२०० बाट तल झरेर १८०० विन्दुसम्म आइपुगी बढ्न थालेको बजार अव घटे पनि त्यहि केहि अंक मात्र हो, बजार जाने थोरै नै भए पनि माथि नै हो ।

अव मिसन ८४ का कुरा गरौँ । नेताहरुले भनेजस्तो आउँदो ८४ सम्म कुन नेता कति बलियो हुन्छन्, वा ८४ पछि देश समृद्ध कति हुन्छ थाहा छैन, तर तपाईंचाहिँ सेयर बजारको मिसन ८४ लिएर अघि बढ्नुभयो भने पक्का समृद्ध बन्नुहुनेछ । अहिले हामी २०८० सालको पुषमा छौँ । मानिलिउँ, भोलिबाट हाम्रो मिसन सुरु भयो । यदी तपाईंले कम्पनी हेरेर, राम्रा कम्पनी छानेर, बलिया कम्पनी हेरेर, सेयरमा लगानी गर्नुभयो भने अवको बुलमा तपाईंको सेयर भाउ राम्रै उचाईमा जानेछ । यो बीचमा तपाईंलाई सो कम्पनीले रिटर्न पनि दिनेछ । यदी अहिलेको बजार बुल सुरुवातको निकै पूर्वार्द्ध मान्ने हो र बुल बजार २ बर्षमात्र रहने हो भने पनि अवको २ बर्षपछि अर्थात २०८२ को अन्तिममा तपाईंसँग राम्रो पोर्टफोलियो हुनेछ । अव मानौं, यदी अहिलेको बजार बुल बजारको सुरुवात नै होइन भने पनि, अव हुने त फेरी सुरुवात नै हो । २ बर्षसम्म म सेयर पाल्छु भन्नेहारले २–३ सय तल आउँदा आत्तिने र २–३ सय अंक माथि जाँदा मातिने गर्नु हुँदै हुन्न । अघिल्लो बुलमा तपाईंहामीले पक्कै सिकेका छौँ कि बियर हो कि होइन भन्दाभन्दै चरम बियरिस आईसक्ने रहेछ । यसपाली पनि बुल हो कि होइन भन्ने कुराकुर्दै चरम बुल आईसक्न बेर छैन । २ बर्षको मात्र बुल बजारको यात्रा हेर्ने हो भने पनि दुई बर्षमा ३ महिना घटाएर २१ महिनामा तपाईंको बजार यात्रा निकै सुन्दर ठाउँमा पुगिसक्नेछ । बुलबाट बियरिस सुरु हुँदा के के हुने रहेछ, नियामकले कसरी पेल्नेरहेछन्, धितोपत्र बोर्डबाट कस्ता एक्सन हुने रहेछन् भन्ने त हामीले यसअघि पक्कै सिकिसकेका छौँ । बुलको पिकमा बेच्ने र बियरिसमा किन्ने भन्ने कुरा सम्भव हुँदै हुन्न । त्यसैले आफ्नो टार्गेट सेट गरी आउँदो दुई बर्षमा सेयर बेचियो भने तपाईंहामीलाई राम्रो कमाई हुने निश्चित छ । अनि त बल्ल २०८२ भयो, मिसन ८४ चाहिं के हो त ? भन्ने लाग्ला । यसको सिधा जवाफ हो, अहिलेको यात्रा बुलको सुरुवात हो भने इतिहासलाई आधार बनाएर हिसाब गर्दा २०८२ को अन्तिम वा २०८३ को मध्यमा आउँदो बुल सकिनेछ । बुल सकिएपछि त पुनः बियर पर्खने नै हो । अनि त चौरासी त सेयर किन्ने फेरी अर्को समय हुनेगरी आईहाल्यो नि, होइन र ?

वा स्थिति यस्तो पनि हुन सक्छ, अहिलेको बजार माथिल्लो लेभलमा मिनी बुलको रुपमा केहि समय साइडवेज रहन पनि सक्छ । त्यस्तो भयो भने पनि बजार फेरी पनि जाने माथि नै हो । बजारमा यस्तो स्थिति आयो भने, बजारको बुल करिवन उही २०८४ सम्म रहन सक्छ । जसरी पनि अहिले किनेर नाफामा बेच्न सकियो भने त हाम्रा लागि राम्रो मिसन, हाम्रो मिसन २०८४ त्यहि भईनै हाल्यो नि होइन र ?

अव कतिपयको कुरा यस्तो पनि हुन सक्छ, बजार जति बढ्यो यहि २–३ सय अंक हो, अव फेरी घट्छ, अर्थतन्त्रको स्थिति राम्रो छैन, बजार खत्तमै हुन्छ । तपाईंलाई पनि केहि बियर लभरहरुले यस्तो भनेर तर्साएका पक्कै होलान् । ल एकछिनलाई मानौँ, बजारमा उनीहरुले भनेजस्तै यहि २–३ सय मात्र सेयर बढेर फेरी घट्न थाल्यो रे । तर यहि नै त बुल पक्का होइन, हुनै सक्दैन । यदी त्यस्तो भयो भने पनि बजार पुन केहि सय अंक घटेर आउनुपर्ने त माथि नै छ । के भयो त ? त्यतिन्जेल सेयर होल्ड गर्ने, यदी उनीहरुले भनेजस्तै भएछ भने पनि बजार फेरी अहिलेको अवस्थामा आएर तलै झर्ने त पक्कै होइन, जाने माथि नै हो । त्यसैले पनि अहिले आत्तिनुपर्ने स्थिति केहि छैन र होइन । बजारमा केहि तलमाथि हुनु स्वाभाविक हो । तर बजार आखिर जाने माथि नै हो । हिजो १८०० मा बजार हुँदा १६०० कन्फर्म भन्नेहरु अहिले बजार २००० हाराहारीमा पुग्दा फेरी १८०० कन्फर्म भनिरहेका छन् । अर्थात बियर लभरहरुको कुरा त त्यहि २०० घट्छ भन्ने न रहेछ । त्यसैले अव किन पछाडी फर्केर सोच्ने, अगाडी सोच्ने, सकारात्मक सोच्ने अनि अघि बढ्ने ।

तर फेरी यसो भन्दैमा ऋणधन गरेर भएभरको सेयर भोलि नै किन्नुहोस् भनेको हुँदै होइन । खासमा त ऋण गरेर सेयर किन्नु खास राम्रो पनि होइन । भएको पैसा लगानी गर्नेले नै जित्ने हो । फेरी यसको अर्थ ऋण लिनु हुँदै हुँदैन भनेको पनि होइन । तर ऋण कुन ब्याजमा कति समयका लागि लिने र कुन सेयरमा लगानी गर्ने भन्नेचाहिं पक्का हो । बुल बजार आउन खोज्यो भनेपछि केहि सेयर खेलाडीहरु तपाईंलाई महँगोमा सेयर भिडाएर बाहिर निस्किनेगरी केहि स्क्रिप्टमा खेल्न थालिसकेका छन् । त्यस्ताका पछी लाग्नुभयो भने तपाईं डुब्ने सम्भावना मात्र होइन कन्फर्म नै हो । किनकि आज २०० मा पाइने सेयर भोलि ४०० टार्गेट भन्छन्, तपाईं किन्नुहुन्छ, ४०० पुग्छ, ओहो ठ्याक्कै मिल्यो त भनेर फेरी किन्नुहुन्छ, सेयर ६०० मा पुग्छ, फेरी किन्नुहुन्छ, त्यतिबेला १००० को टार्गेट भन्छन्, अनि ९०० मा तपाईंलाई टोपी लगाएर उनीहरु भाग्छन् । अघिल्लो बुलमा भएको पनि त्यहि हो, अव हुने पनि त्यहि हो । तर कम्पनीको फण्डामेन्टल हेरेर लगानी गर्ने हो भने भाउ माथि पुग्दा बेचे पनि भो, भाउ घटीहाल्यो भने पनि त्यसले दिने रिटर्न त छँदैछ । लगानीकर्ताले बुझ्नुपर्छ सेयर किन्ने भनेको फगत क्यापिटल गेनका लागि होइन, बरु त्यसले दिने रिटर्नका लागि पनि हो ।

आजैबाट अध्ययन गर्न थालौँ, बुझेर सेयर किनौं, अरुका कुरा सुन्नु भन्दा आफु अध्ययन गर्न तिर लागौं, अरुलाई सोध्न भन्दा आफु बुझ्न तिर लागौं, अरुका कुरा सुन्न भन्दा आफु सम्बन्धित कम्पनीको ब्यालेन्ससिट पढ्न लागौं, आफुले किन्न लागेको कम्पनीको विस्तृत विवरण बुझौं, अघिल्लो बुलको भुल यसपाली नदोहोर्याऔँ । हाइड्रो किन्नेले हाइड्रो नराम्रो भन्दैन, बैंक किन्नेले बैंकमा बाहेक अन्त फाइदा देख्दैन, लघुवित्त किन्नेले लघुवित्तजस्तो राम्रो त अरु हुनै सक्दैन भन्छ, इन्स्योरेन्समा बानी परेकाहरुले हेल्लो सिमा दिदि भनेर बोलाउँदा पनि हेल्लो बीमा दिदि सुन्छ । होटल सेक्टरमा रमाउनेहरु, होटल पो सेयर, अरु के सेयर भन्ने भईहाल्यो । अरुका कुरा सुन्दा सबै सेक्टर दामी,सबै सेक्टर हरामी । त्यसैले आफैंले अध्ययन गरेर सेयर किनौं छानेर, अनि मिसन चौरासीमा रमाउँला, चौरासीमा ढुक्क बसौंला, कमाईको अंकलाई जय बुल बानेर । कि कसो त ? (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: