×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुलिस सेयर बजारः यी हुन् सम्भावित अरु गुड न्युज र ब्याड इभेन्ट, यो तितो सत्य पनि बुझ्दा राम्रो (भिडियो ब्रिफिङ)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बुलिस सेयर बजारः यी हुन् सम्भावित अरु गुड न्युज र ब्याड इभेन्ट, यो तितो सत्य पनि बुझ्दा राम्रो (भिडियो ब्रिफिङ)

Artha Sarokar

४ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारमा केहि समय यता दशैँ लागिरहेको छ । लामो समयको बियरिस दशापछि बजारमात्र छर्लंग खुलेको छैन, बरु सेयर लगानीकर्ताको मुहार पनि उज्यालो छ । कुनै बेला के छ यार, भनेर सोध्दा नसोध यार भन्नेहरु अहिले मुसुक्क हाँसेर सब गज्जब भनिरहेका छन् । लगानीकर्ताको पोर्टफोलियो हरियोमात्र भएको छैन, पोर्टफोलियोमा हात्तीहरुको प्रवेशको लहड नै चलेको छ । बजारमा नियमित कारोबार नै ५–६ अर्व सामान्य भईसको छ । सेयर बजारका बादशाह निर्मल प्रधानको भनाई अनुसार ४ अर्वभन्दा माथिको कारोबारलाई अहिलेको बजारमा बुल मान्न सकिन्छ । यहि बेला बजारमा अरु थुप्रै गुड न्युजहरु आउने क्रममा छन् । लगानीकर्ताहरुलाई थप उत्साहित बनाउनेगरी बजारमा नयाँ थप ब्रोकरहरु कारोबार गर्न थाल्दैछन्, नयाँ स्टकको तयारी दमदार रुपमा अगाडी बढिरहेको छ, कार्यकाल सकिएको एक महिना अघिदेखि नै बिदामा बस्ने परम्परा तोडेर अन्तिम सेकेन्डसम्म काम गर्छु भन्दै बोर्ड अध्यक्ष रमेश कुमार हमाल नेपाल धितोपत्र बोर्डमा काम गरिरहेका छन् । अनि सबै तिर गुड न्युज नै गुडन्युज भईरहेका बेला अर्थमन्त्री डा. प्रकाश शरण महत थप गुड न्युजका लागि काम गरिरहेका छन् ।

के–के हुन सक्छन् सम्भावित अन्य गुड न्युजहरु ?
केही समय अघि नै नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर कमिसन हटाउने निर्णय गरेर स्वीकृतिका लागि अर्थमन्त्रालय पठाएको छ । अर्थ मन्त्रालयको स्वीकृतिपछि बोर्डले नयाँ ब्रोकर कमिशन दर सार्वजनिक गर्नेछ । हुन त यो बीचमा केहि दलाल साथीहरु अर्थ मन्त्रालय पुगेर लौन न हजुर हामी त मर्ने भयौँ, हामीले लगानीकर्ताबाट त असुल्न पाउनुपर्यो नि भनेर बिन्ती बिसाउन पुगेका थिए । लाइसेन्स पाउने विषयमा एक अर्काका सौताजसरी झगडा गर्न पछि नपर्ने ब्रोकरहरु मिलेर खान पाउने भएपछि त मिलिहाले । अर्थमन्त्रीले पनि बजार बियरिसमा भएका बेला उनीहरुले गरेको अनुरोध ठिकै हो कि भनेर बोर्डको सो निर्णय थाँती राखेका थिए । अहिले त लगानीकर्ताहरुको पोर्टफोलियो, ती मन्त्रीको पार्टीमा उठ्ने लेबी भन्दा बढी त दिनमै बढी बढ्न थालेको थाहापाइसकेका छन् मन्त्रीले । लगानीकर्ताको पोर्टफोलियो मात्र होइन, ब्रोकरको कमाई पनि हवारह्वार्ती भईरहेको छ भन्ने बुझेका छन् अर्थमन्त्रीले, त्यसैले पनि अव अर्थमन्त्री सो निर्णय कार्यान्वयन गराउने मुडमा छन् । यदी सो निर्णय कार्यान्वयन भयो भने नयाँ लगानीकर्ताहरु बजारमा प्रवेश गर्ने माहोललाई थप साथ हुनेछ । लगानीकर्तालाई त यसै पनि फाइदा भईनै हाल्यो ।

जबजब बजारमा बुल आउँछ, तव साँढे भन्दा पनि बढी मात्तिने गर्छन् सेयर दलालहरु । अनि समयमा लगानीकर्तालाई पैसा नदिने जस्ता दुःख दिएर हैरानीमा पार्छन् ब्रोकरहरु । तर पछिल्लो समय नयाँ नयाँ ब्रोकर आएपछि यो समस्या पनि धेरै हदसम्म समाधान भएको छ । अहिले लगानीकर्ताहरु भटाभट ब्रोकर सिफ्ट गरिरहेका छन् । अर्को गुडन्युजचाहिं के हो भने, दोस्रो बजारमा थप पाँच कम्पनी ब्रोकर सेवासहित आउने भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार एक ब्रोकर कम्पनी ६० करोड चुक्ता पूँजी लिएर बजार प्रवेश गर्दै छ भने बाँकी सीमित कार्य गर्ने ब्रोकरको रुपमा प्रवेश गर्दै छन् । नेप्सेका अनुसार हिमालयन सेक्युरिटीज लिमिटेड ६० करोड चुक्ता पूँजी सहित बजारमा आउँदैछ। यो हिमालयन बैंकको सहायक कम्पनी हो । यस्तै राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी पनि ब्रोकर सेवा लिएर बजार प्रवेश गर्दैछ । म्यगनेट सेक्युरिटी एण्ड इन्भेस्टमेन्ट कम्पनी, प्रभु बैंकको सहायक कम्पनी प्रभु स्टक मार्केट र लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी सनराइज् सेक्युरिटिज पनि बजारमा आउँदैछन् । बिस्तारै सिमित घामट ब्रोकरहरुबाट बजारले छुटकारा पाउँदैछ । यसले बजारलाई बलियो बनाउन त सहयोग गर्छ नै, लगानीकर्ताले भोगिरहेको हैरानीलाई पनि कम गर्छ ।

अर्को सम्भावित बिग गुड न्युज भनेको सेयर धितो कर्जाको सम्भावित सीमा परिवर्तनको न्युज हो । बजार बढ्न थालेपछि अर्थमन्त्रीलाई लौ न यो त सेयरमै कमाउने बेला हो, बैंकबाट ऋण लिने सिमा खुकुलो बनाईदिनुपर्यो भनेर धेरै ठुला लगानीकर्ताहरु अनुरोध गरिरहेका छन् । अर्थमन्त्री पनि यस विषयमा सकारात्मक देखिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नरलाई भनेर यस विषयमा आवश्यक निर्णय लिनसमेत भनिसकेका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि खाली सेयर लगानीकर्ताको गाली के खानु भन्ने निष्कर्षमा पुगेका छन् । यसले ठुलो परिवर्तनको आशा गर्ने ठाउँ नरहे पनि केहि न केहि परिवर्तन हुन सक्छ भन्ने देखाउँछ । बजार बुल भएका बेलामा आगो लगाउने सलाई होइन, बलिरहेको आगोमा घ्यु खोज्छ बजारले । राष्ट्र बैंकको सम्भावित नीति परिवर्तन बजारका लागि सोहि घ्यु सावित हुन सक्छ सेयर बजारमा ।

सेयरधितो कर्जाको सीमा हटाईहाल्ने भन्दा पनि थोरैले बढाउंदा केहि फरक नपर्ने ब्रिफिङ स्वयम् राष्ट्र बैंकभित्रकै अधिकारीहरुले गभर्नरलाई गरेका छन् । स्वयम् राष्ट्र बैंकको यस्तो बुझाई सेयर बजारका लागि सकारात्मक हुन सक्छ । बैंकहरुमा पैसा थुप्रिनु र बजार बढेका बेला भएकाले सेयर धितोलाई केहि खुकुलो बनाउँदा केहि फरक पर्दैन भन्ने तर्क छ बैंकरहरुको पनि । उनीहरुले पनि राष्ट्र बैंकमा यहि खालको ब्रिफिङ गरेका छन् । सबैका कुरा सुनिसकेपछि स्वयम् राष्ट्र बैंक नेतृत्व यस विषयमा सकारात्मक भएको देखिन्छ । राष्ट्र बैंकको संचालक समितिको बैठकमा पनि सेयर कर्जाको सिमा हटाउन नसके पनि बढाउनुपर्ने माग उठेको छ । गभर्नरले यो सीमा हटाईनहाले पनि केहि बढाउन तयार देखिएको स्वयम् संचालकहरु बताउँछन् । यदी राष्ट्र बैंकले यस्तो निर्णय गरेमा बजारमा यसले पार्ने मनोवैज्ञानिक असर ठुलो पर्छ । र परिणाम, यसले सेयर बजारलाई निकै राम्रो गतिमा लैजाने कुरामा दुईमत नै नहुन सक्छ ।

अव सम्भावित ब्याड इभेन्टका बारेमा पनि चर्चा गरौँ
बुल बजारमा पुरानाले पैसा कमाउने हो, नयाँले अधिकांश केसमा अनुभव मात्र कमाउने हो । लोभ गर्नेहरु डुब्ने नै हो, बेच्न जान्नेहरु कमाउने नै हो । सर्कुलर ट्रेडिङ वा इन्साईडर बुल बजारमा झन् बढी हुने कुरा पनि नकार्न सकिंदै सकिन्न । यहि बुलको मौका छोपेर कतिपय कम्पनीहरुलाई खेलाडीहरुले नमज्जासँग उचालिरहेका छन् । अघिल्लो बुलमा गोर्खाज फाइनान्सलाई टुप्पोमा किन्नेहरु मुर्गा भएजस्तै यसपाली त्यस्तै केहि कम्पनीहरुलाई उचालेर लगानीकर्तालाई फसाउने खेल भईरहेको छ बजारमा । कसैले हात्ती भनेर उचालिरहेका छन्, कसैले रकेट भनेर उचालिरहेका छन्, तर वास्तवमा त्यस्ता कमजोर तर भाउ बढेका कम्पनी, न रकेट हुन्, न हात्ती, ती त पासो हुन् लगानीकर्ताका लागि । तर पनि लगानीकर्ताहरु तीनै कम्पनीहरुमा बढी झुम्मिएका देखिएका छन् । न अघिल्लो पटक गोर्खास फाइनान्स बलियो छैन है भन्दा लगानीकर्ताहरुले पत्याएका थिए, न अहिले फलानो कम्पनीमा डुबिएला है भन्दा लगानीकर्ताले पत्याउने वाला छन् । एउटा बाठोले अर्को बाठोलाई थप बठ्याई गरेर बाठो सावित हुने सेयर बजारमा अहिले सोझा लगानीकर्ताहरु भने टुप्पोमा त्यस्ता कम्पनी किनिरहेका छन्, जसको मार भावी दिनमा आई नै हाल्छ ।

अर्को तीतो सत्यको पनि कुरा गरौँ
समग्र बजारमा मिनीबुल आएको सत्य हो। तर सबै सेक्टरमा, सबै स्टकमा बुल आउँछ नै भन्ने अनुमान भने पूरापूर गलत हो । कति सेयरमा त बुल आएर पनि गईसक्यो, कति स्टकको भाउ बजार ३२०० पुग्दा पनि अघिल्लो पटकको टुप्पो भेटिन्न भन्ने कुरा पनि सत्य हो । यो सत्यका बीच नबुझी लगानी गर्नेहरु फेरी पनि बुलिस ट्य्रापमा पर्ने कुरा अर्को सास्वत सत्य हो । यस विषयमा लगानीकर्ताहरु जागरुक हुन आवश्यक छ ।

र जाँदाजाँदै, अर्को सम्भावित सुखद् स्थितिका बारेमा पनि चर्चा गरौँ । कुनै बेला हाइड्रोको सेयर ५० मुनि पाइन्थ्यो । अहिले तिनै हाइड्रोको दबबदा छ बजारमा । हरेक बुलमा हेपिएका सेक्टरहरु हिरो हुने गरेको इतिहास यसपटक पनि दोहोरिन सक्छ । त्यसैले पनि राम्रा कम्पनी बेचेर टुप्पोमा अरु कम्पनी किन्नु भन्दा आफ्नो समय कुर्नु नै बुद्धिमानी हुन्छ । बाँकी त तपाईंको पैसा, तपाईंकै मर्जी । र जरुर यो पनि भन्छौँ, सेयर बजारका हरेक विश्लेषणहरुका आआफ्नै सर्त हुन्छन्, यो हाम्रो विश्लेषण पनि, कुनै सेयर खरिदबिक्रीको सुझाव होइन । (भिडियो)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी