×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनिल शाहको दाबीमा बैंकर नै विभाजित, सीइओहरुकै फरक-फरक मत, ‘एउटाको खाता डेबिट नभई अर्कोको क्रेडिट हुन्छ ?

अर्थ सरोकार

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार

PRIME CA

अनिल शाहको दाबीमा बैंकर नै विभाजित, सीइओहरुकै फरक-फरक मत, ‘एउटाको खाता डेबिट नभई अर्कोको क्रेडिट हुन्छ ?

काठमाडौँ । सहकारीको रकमबाट ग्यालेक्सी टिभीमा सेयर हालेको र सो सेयर बेच्दा रवि लामिछानेको निजी खातामा रकम पुगेको समाचार कान्तिपुरले प्रकाशन गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार प्रेस मित नै गरे । रविले आफुले भन्दा बैंकर अनिल केशरी शाहले अझ राम्रोसँग बुझाउलान् भनेर बैंकिङ कारोबारसम्बन्धि कुरा बुझाउन अनिल शाहलाई लगाए । तर अनिल शाहले बुझाएको कुरामा बैंकरहरुकै मत विभाजित भएको छ ।
सुरुमा प्रेस मिटमा शाहले के भने भन्ने हेरौँ ।
शाहले भनेका छन् – ‘बैंकिङ प्रणालीमा के छ भने मेरो खातामा कोही डिपोजिट गर्न आयो भने भौचर भर्नुपर्छ । क्यास हो भने एउटा अमाउन्टभन्दा माथि भए केही प्रश्न सोधिन्छ,चेक हो भने सोधिन्न । टेलरले चेक हेर्छ । अनिल साह भन्ने नाम हेर्छ । ठीक छ भने अमाउन्टको नम्बर राख्छ । स्लिपमा स्ट्याम्प हान्छ अनि एक कपी (ग्राहकलाई) दिन्छ । यति गर्नेबित्तिकै मेरो खातामा अमाउन्ट भनेर आउँछ, तर एभाइलेबल ब्यालेन्स हुँदैन । त्यो अमाउन्ट ब्यालेन्समा क्रेडिट भनेर आउँछ । मैले निकाल्न पाउँदिन, मलाई थाहा पनि हुँदैन, तर कसैले डिपोजिट गरेको छ भन्ने रेकर्ड त हुनुपर्‍यो नि । त्यसपछि चेक सिस्टमबाट सम्बन्धित बैंकमा जान्छ । त्यहाँ सिग्नेचर मिलेको छ कि छैन, डेट मिलेको छ कि छैन, सबै मिलेको छ भने त्यो खातामा डेबिट गरेर मेरो खातामा क्रेडिट हुन्छ । एक करोड ८० लाखको चेक डिपोजिट नभएको भन्दैनौं, भएको छ। तर, घन्टी बजेन । सभापतिज्यूले पैसा पाउनुभएन ।’
अझ यसलाई सरल भाषामा बुझौँ ।
गोर्खा मिडियाको स्टेटमेन्टमा रवि लामिछानेको नाममा पैसा डेबिट भएको देखिन्छ । शाहको दाबी पत्याउने हो भने, गोर्खा मिडियाको स्टेटमेन्टमा  डेबिट भएको रकम, रवि लामिछानेको खातामा पैसा नआएर पनि क्रेडिट देखिने हुन्छ ।
तर कतिपय बैंकका सीइओहरु आफुले बर्षौंको बैंकिङ अनुभवमा यस्तो थाहा नपाएको तर्क गर्छन् ।
‘नामचाहिं नालेखिदिनू, फोकटमा गाली खाइन्छ । तर अनिलजीले प्रेस मिटमा बैंकिङ बुझाउन सक्नुभएन । रविको खातामा पैसा नगई गोर्खा मिडियाको खातामा डेबिट नै हुँदैन । क्रेडिट ब्यालेन्स देखिने तर पैसा नआउने त झन् हुँदै हुँदैन ।’ उनले भने । उनका अनुसार पैसा नआउने तर क्रेडिट ब्यालेन्स देखिने हो भने त सो रकम ग्राहकले प्रयोग गरिदियो भने के गर्ने ? मेरो पैसा छ, झिक्न पाउँदैन भन्ने पनि हुन्छ र ? अनि स्टेटमेन्ट भनेको त विवरण हो नि, त्यहाँ नआएको पैसाको विवरण आउने वा नतिरेको पैसाको विवरण देखिने हो भने त के स्टेटमेन्ट भयो र ?’
त्यसो भए किन अनिल शाहले त्यसो भन्नुभयो होला त ? हाम्रो प्रश्नमा ती सीइओले भने -‘त्योचाहिं थाहा भएन, बा, अर्थमन्त्री भई पो हाल्छु कि भन्ने पनि होला । तर उहाँले रविजीलाई भएको के हो स्पष्ट पारेर सहयोग गर्नुपर्थ्यो । उहाँले त बैंकरकै बेइज्जत गर्नुभयो ।’
अनि फेरी बैंकले त पत्रमा पैसा आएको छैन भनेर दिएको छ नि ? त्यो कुरा के हो ?’ हाम्रो प्रश्नमा ती सीइओले भने, ‘रविजीले पैसा नआएको विवरण कुन मितिको माग्नुभएको छ, त्यो बाहिर आएको छैन । बैंकको पत्र आफैँमा अस्पष्ट छ । त्यसमाथि रविको केसमा बैंक किन मुछिने, पछि मिलाउँला, त्रुटी भयो भनौँला भनेर पनि बैंकले यस्तो काम गरेको हुन सक्छ । रविजीलाई बैंकले रिस्क लिएरै भए पनि सहयोग गरेको हुन सक्छ ।’
‘अनि पछि अनुसन्धान भयो भने ?’ हाम्रो प्रश्नमा ती सीइओले भने ‘केहि समयपछि कुरा सेलाउँछ । बैंकले अँ गल्ती भयो भन्छ, मिलाउँछ । हदै भए राष्ट्र बैंकले सानो सचेतपत्र दिन्छ । यति त हो । अरु के हुन्छ र ?’
यता अर्का बैंकका सीइओको तर्क फरक छ । ‘कारोबार हो, कहिलेकाहीं फरक परिहाल्छ नि । बैंक स्टेटमेन्टमा देखिएका सबै कुरा सहि हुन्छन् भन्ने हुँदैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका ती सीइओले भने, ‘कहिलेकाहीं आउनुनपर्ने पैसा आउँछ ग्राहकलाई थाहा नै हुँदैन । कतिपय अवस्थामा ग्राहकलाई नसोधी नै रिभर्सल इन्ट्री हुन्छ । त्यो स्टेटमेन्टमा देखिन्छ ।’ उनका अनुसार कम्पनीको कागज मिलाउन बैंककै सहयोगमा कानुनी रुपमा गलत तर व्यवहारिक रुपमा सामान्य मानेर त्यस्तो काम गरिएको हुन सक्छ । ‘हाम्रो कम्पनी कानुनमा अनेक छिद्र छन् । त्यसलाई टेकेर अनेक काम भएका छन् । यो केसमा पनि भयो होला । रविको स्टेटमेन्ट र गोर्खा मिडियाको स्टेटमेन्टमा जे देखियो, त्यो मिलेन तर नमिल्न पनि बेला बेला पाइन्छ । बैंकिङमा यस्ता काम भईनै रहन्छन् ।’
‘अनि अनिल शाहले बुझाएको जस्तो पनि हुन्छ र ?’ हाम्रो प्रश्नमा ती सीइओले भने, ‘सबै कुरा सम्भव छ भने उनले भनेकोजस्तो हुन पनि कसरी असम्भव भयो र ? गलत कुरालाई पनि बडो आत्मविश्वासका साथ भन्न सक्ने क्षमता भएको मान्छेले अलि अलि नमिलेको कुरा ठ्याक्कै मिलेकोजसरी भनिहाल्छ नि । उहाँले भनेको जस्तो हुन पनि सक्छ । तर यो केसमा ठ्याक्कै त्यस्तो भएको हो, होइन भन्नेचाहिं थाहा छैन ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: