×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकले दिएको गड्डीमा नक्कली नोट भेटियो, ग्राहक भन्छन्- ‘बैंकले ठग्यो’, बैंक भन्छ- ‘हामीले दिएको होइन’

PRIME CA

ज्योति विकास बैंकले दिएको गड्डीमा नक्कली नोट भेटियो, ग्राहक भन्छन्- ‘बैंकले ठग्यो’, बैंक भन्छ- ‘हामीले दिएको होइन’

अर्थ सरोकार

१३ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ज्योति विकास बैंकले ग्राहकलाई नक्कली नोट दिएको पाइएको छ । बैंकको भक्तपुरस्थित च्याम्हासिंह शाखाले बैंकमा रकम लिन गएका विश्व बसुलाई भुक्तानी गर्ने क्रममा गड्डीमा नक्कली नोट मिसाएर दिएको पाइएको हो । बैंकले गड्डीमा मिसाएर नक्कली नोट दिएकोबारे बसुले सामाजिक सञ्जाल (फेसबुक)मा पनि पोष्ट सार्वजनिक गरेका छन् ।

बैंकको च्याम्हासिंह शाखाबाट नगद लिएर च्याम्हासिंहमै रहेको नबिल बैंकमा जम्मा गर्न जाँदा गड्डीमा नक्कली नोट फेला परेको बसुको दाबी छ । उनले नबिल बैंकमा नोट परीक्षण गर्ने क्रममा एक हजार दरको एउटा नोट नक्कली फेला परेको बताएका छन् ।

बैंकले दिएको गड्डीमा नक्कली नोट फेला परेपछि उक्त नोट साट्न ज्योति विकास बैंक जाँदा बैंकले काउन्टरबाट बाहिर गईसकेपछि त्यसको जिम्मेवारी बैंकको नहुने भन्दै फर्काएको बसुले बताएका छन् । बसुका अनुसार हाल उक्त गड्डीमा भटिएको नक्कली नोट राष्ट्र बैंकमा पठाउनका लागि नबिल बैंकले राखेको छ ।

यता बैंकको च्याम्हासिंह शाखाका प्रमुख नारायण पौडेलले भने उक्त नक्कली नोट बैंकले नदिएको दाबी गरेका छन् । उनले ग्राहकले फिर्ता ल्याएको नोटको गड्डी आफ्नो बैंकको नभएको बताएका छन् । ‘उहाँले ल्याउनुभएको नोटको बन्डल हाम्रो होइन । त्यसमा पहिला प्राइम बैंकको बन्डल छ । पछिचाहिँ हाम्रो बैंकको ट्याग लगाएर ल्याएको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘समान्यतया हामीले अरुले ट्याग लगाएको नोटको बन्डलमा आफ्नो बैंकको ट्याग लगाउँदैनौँ । त्यही भएर हामीले त्यो रिजेक्ट गरेका छौँ ।’

तपाईंले ट्याग लगाउनु भएन भने ज्योति विकास बैंकको ट्याग छाप चाहिँ ग्राहकसँग कसरी आयो त ? भन्ने प्रश्नमा ब्रान्च मेनेजर पौडेलले त्यो बारेमा भने आफूलाई थाहा नभएको बताएका छन् ।

‘अरु बैंकको ट्याग लागेको बन्डलमा हामीले ट्याग लगाउँदैनौँ ।’, उनले भने, ‘उहाँले कसरी पाउनु भयो थाहा भएन । अब यो विषयमा थप बोल्न मैले माथि कुरा गर्नुपर्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: