×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीको योजना : ऋण तिर्दिन भन्नेलाई नछोड्ने, ठेकेदारको पैसा तिर्ने, गभर्नरसँग मिलेर अघि बढ्ने…, पूरा होला ?

PRIME CA

अर्थमन्त्रीको योजना : ऋण तिर्दिन भन्नेलाई नछोड्ने, ठेकेदारको पैसा तिर्ने, गभर्नरसँग मिलेर अघि बढ्ने…, पूरा होला ?

४ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौँ । वर्तमान सरकार कहिलेसम्म टिक्छ भन्ने कुरामै द्विविधामा रहेको सरकारका अर्थमन्त्री बर्षमान पुन, अर्थमन्त्रीमा रहेसम्म देखिने गरी काम गर्न चाहान्छन् । के बोल्दा अर्थतन्त्रसँग सरोकार राख्ने को, कसरी खुसी हुन्छ भन्ने तयारीका साथ आएका पुनले पदभार ग्रहण गर्दा नै धेरैमा आत्मविश्वास बढाउने प्रयास गरेका थिए । यसैबीच अर्थमन्त्री भएपछि सार्वजनिक मञ्चमा पहिलोपटक मन्तव्य दिने क्रममा पुनले अर्थमन्त्रालयको लाइन क्लियर गरेका छन् ।
१. बैंकको ऋण नतिर्ने प्रति सरकार कठोर हुने सन्देश 
सम्बोधनमा क्रममा उनले बैंकको ऋण नतिर्न प्रोत्साहित गर्नेप्रति सरकार कठोर बन्ने दोहोर्याएका छन् । विशेषगरी दुर्गा प्रसाईं लगायतकाको नेतृत्वमा एकातर्फ बैंकको ऋण नतिर्ने अभियान चलिरहेको छ भने मनिराम ज्ञवालीको नेतृत्वमा अर्कोतर्फ बैंक तथा लघुवित्तको ऋण नतिर्ने अभियान चलिरहेको थियो । तर ज्ञवालीको पृष्ठभूमि माओवादी नै भएकोले उनले ज्ञवाली नेतृत्वको संगठनसँग भने सहमति गरेर सो आन्दोलन नै निस्तेज पारिदिएका छन् ।
शुक्रबार लघुवित्त पीडितसँग भएको सहमतिमा ज्ञवालीको खोजेजस्तो केहि नभए पनि ज्ञवाली नेतृत्वको संघर्ष समिति आन्दोलन स्थगन गर्न तयार भएको छ ।
ज्ञवालीलाई फकाएर सहमति गरेका बर्षमानले दुर्गा प्रसाईंलाई फकाउन नसकेकै कारण चेतावनी दिईरहेका छन् । र आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा पनि उनले प्रसाईंलाई यसरी चेतावनी दिए ।
प्रभाव : अर्थमन्त्रीले ऋण तिर्नुपर्दैन भन्नेप्रति सरकार कठोर हुन्छ भनी बोलेको भाषणलाई व्यवहारमा उतार्ने हो भने यसले बैंकिङ क्षेत्रलाई सकारात्मक प्रभाव पार्छ । यसले बजारको आत्मविश्वास त बढाउँछ नै, निकै चिन्ताजनक छ भनिएको बैंकको निष्क्रिय कर्जालाई सक्रिय बनाउन पनि मनोवैज्ञानिक रुपमै सहयोग गर्छ । फलस्वरूप यसले अर्थतन्त्रलाई लय दिन्छ । लघुवित्त संघर्ष समितिसँग भएको सहमतिपछि लघुवित्त क्षेत्रमा देखिएको आत्मविश्वासले यसको प्रष्ट संकेत गरिसकेको छ ।
२. निर्माण व्यवसायीको रकम भुक्तानी 
निर्माण सम्पन्न भएर पनि भुक्तानी नपाएको रकम आजका मितिसम्म ५० अर्व हाराहारी छ । अर्थमन्त्री पुनले यो रकम तत्काल भुक्तानी गर्ने सन्देश दिएका छन् । अर्थमन्त्री हुनेबितिकै संचारकर्मीहरुसँग कुराकानी गर्दै पूँजीगत खर्चमा बढोत्तरी गर्ने प्राथमिकता आफ्नो रहेको बताएका पुनले निर्माण व्यवसायीको भुक्तानीलाई प्राथमिकता दिए भने सरकारको पूँजीगत खर्चको आंकडा निकै माथि पुग्छ ।
प्रभाव : अर्थमन्त्रीले भनेजस्तै निर्माण व्यवसायीको भुक्तानी हुने हो भने बजारमा पैसाको फ्लो बढ्छ ।  पैसाको फ्लो बढेपछि यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ ।
३. गभर्नरप्रतिको सकारात्मकता
आफ्नो पहिलो सम्बोधनका क्रममा अर्थमन्त्री पुनले नेपाल राष्ट्र बैंकका गभर्नरसँग मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । सम्बोधनका क्रममा उनले गभर्नर र अर्थमन्त्री झगडा गरेर बस्ने नभई मिलेर जानुपर्छ भनी दिएको अभिव्यक्तिले उनी आफ्नो कार्यकाल सफल बनाउन गभर्नरलाई फकाउने लाइनमा छन् भन्ने देखाउँछ ।
यसअघिका दुई अर्थमन्त्री डा -प्रकाश शरण महत र जनार्दन शर्मा दुबैको अहिलेका गभर्नर महाप्रसाद अधिकारीसँग राम्रो सम्बन्ध थिएन । यहि कारण पनि बजारमा अर्थमन्त्री र गभर्नर दुबैको आलोचना हुने गरेको थियो । यहि कुरा बुझेर अर्थमन्त्री पुनले यो विषयमा सम्भावित अपजसको भारी बिसाउने प्रयास गरेका छन् ।   विशेषगरी मौद्रिक नीतिको समिक्षा, र नयाँ आर्थिक बर्षका लागि बन्ने मौद्रिक नीतिमा अर्थमन्त्री पुनले गभर्नर अधिकारीको साथ खोजेका छन् ।

यसअघि राष्ट्र बैंकले कसिलो नीति बनाएकै कारण सरकारको आलोचना भएको बुझेका अर्थमन्त्री यसपटक गभर्नरलाई सकेसम्म फकाएर, नसकेर हस्तक्षेप गरेर भएपनि राष्ट्र बैंकका केहि कसिला नीतिहरुलाई लचिलो बनाउने लाइनमा छन् ।

प्रभाव : गभर्नरलाई अर्थमन्त्री पुनले आफ्नो बनाउन सकेको खण्डमा नेपाल राष्ट्र बैंकले लिएका कतिपय कसिला नीतिहरु परिवर्तन हुनेछन् । यसले सेयर बजारदेखि बित्त बजारसम्मलाई चलायमान बनाउँछ, जसको कारण सेयर बजारका लगानीकर्तादेखि बित्त बजारका सरोकारवालाहरुलाईसम्म छुट्टै खालको आत्मविश्वास दिनेछ ।

तर, सहज छैन योजनाको कार्यान्वयन
यद्यपी अर्थमन्त्री पुनले सोचेजसरी अघि बढ्न उनलाई सहज भने छैन । उनले ऋण तिर्दिन भन्नेहरुप्रति सरकार कठोर हुन्छ भनेर सन्देश दिए पनि दुर्गा प्रसाईं ‘सके पक्राउ गर’ भन्ने स्पष्ट लाइनमा छन्, र उनलाई पक्राउ गरिहाल्न पनि सहज छैन ।
अर्कोतर्फ उनले भनेजसरी नै निर्माण व्यवसायीलाई भुक्तानी दिईहाल्दा एकातर्फको समस्या समाधान गर्दा, अर्कोतर्फ समस्या थपिने प्रष्ट छ । यसको व्यवस्थापन सहज छैन ।
गभर्नरलाई सम्झाउने काम पनि त्यति सहज छैन । राष्ट्र बैंकका गभर्नर अधिकारी बाहिर जस्तो रुपमा प्रस्तुत भए पनि राष्ट्र बैंकले लिने नीतिमा उनी आफैंमा प्रष्ट छन् । त्यसैले पनि अर्थमन्त्रीले अपेक्षा गरेअनुसारको लचकता राष्ट्र बैंकले अपनाउने कुरा त्यति सहज देखिंदैन ।
भलै नतिजा जस्तो आओस्, अर्थमन्त्रीले गरेको प्रयासलाई भने अर्थतन्त्रका जानकारहरुले सकारात्मक रुपमा लिएका छन् । (भिडियो)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: