काठमाडौँ । बङ्गलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला आयोजना गरिएको छ । आगामी वैशाखमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार ढाकास्थित नेपाली राजदूतावासमा कार्यशाला आयोजना गरिएको हो ।
उक्त अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले जलविद्युत्, भौतिक पूर्वाधार, होटललगायत सेवा क्षेत्रका पूर्वाधार, औषधिजन्य उद्योग, सूचना तथा सञ्चार प्रविधिलगायत क्षेत्रमा बङ्गलादेशी लगानीकर्तालाई नेपालमा पुँजी परिचालन गर्न आह्वान गरेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । उनले ती क्षेत्रमा लगानी गर्दा प्रशस्त प्रतिफल प्राप्त हुने जानकारी दिँदै ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि बङ्गलादेशका ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालसँग लगानीका माध्यमबाट दुई देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन बङ्गलादेश इच्छुक रहेको बताए । उनले ऊर्जा क्षेत्रमा नेपालसँग भएको सहकार्यबारे जानकारी दिँदै आफ्नो देशको बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्न आपसी साझेदारी अपरिहार्य रहेको पनि बताएका छन् ।
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसरबारे जानकारी दिएका थिए भने बोर्डका सहसचिव बाबुराज अधिकारीले लगानी सम्मेलनका विविध पक्षलाई समेटेर तयार पारिएको सामग्री प्रस्तुत गर्दै नेपाल आकर्षक गन्तव्यका रुपमा विकसित भएको बताए ।
त्यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनले बङ्गलादेशी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आह्वान गरेको भिडियो सन्देश प्रस्तुत गरिएको थियो ।
गोष्ठीमा बङ्गलादेशका सांसद, उच्च पदस्थ सरकारी अधिकारी, विद्वत् संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका प्रभावशाली व्यक्ति तथा सञ्चारकर्मीसहित ८० जनाभन्दा बढीको उपस्थिति रहेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्