Skip to content
LAXMI SUNRISE BANK

‘अध्ययन र जानकारी बिना बैंकका कर्मचारीलाई अपराधीकै शैलीमा हिरासतमा राख्नु अत्यन्तै दुखद्’ – सिबिफिन

अर्थ सरोकार

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले कर्जा दुरुपयोगको अभियोगमा बैंकका कर्मचारी पक्राउ परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिबिफिनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विषयको अध्ययन र जानकारी बिना बैंकका कर्मचारीलाई हिरासतमा राखिएको भन्दै आपत्ति जनाएको हो ।

‘धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तराष्ट्रिय बैंकिङ अभ्यासको बारेमा गहिरो अध्ययन र जानकारी नलिई कुनै पेशाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिइ हिरासतमा राखिएको कार्यप्रति परिसंघ गम्भीर आपत्ति प्रकट गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

बैंकका गतिविधिहरु नियामक निकायको सूक्ष्म निगरानीमा रहेको सिबिफिनले जनाएको छ । ‘बैंकभित्र कुनै पनि बदमासी भए वा कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरुलाई प्रचलित कानून अनुसार कारबाही हुनुपर्दछ र हुँदै आएको छ । व्यावसायिक/व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने/उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको छ ।’ सिबिफिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै , धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेशाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयवित बनेको छ सिबिफिनले जनाएको छ ।

नेपालको बैंकिङ क्षेत्र एसियाली देशहरुकै तुलनामा सबल र सक्षम रहेको पनि सिबिफिनले जनाएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको बैंकिङ क्षेत्र एसियाली देशहरुकै तुलनामा सबल र सक्षम छन्, यो नेपालका बैंक तथा वित्तीय संस्थाहरु र नियामक निकायले प्रकाशित गरेका वित्तीय विवरणहरुले नै प्रमाणित गरेका छन् ।’

बैंकिङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र होइन, बिना धितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमा अग्रसर हुने राष्ट्रको योजनामा समेत ठेस पुग्ने र यस्तो अभ्यासको वकालत गर्दै आएका अन्तराष्ट्रिय समुदायकोवीचमा समेत राष्ट्रको प्रतिष्ठा गिर्नेप्रति संवेदनशील हुन परिसंघले आग्रह गरेको छ ।

तसर्थ, कर्जा प्रवाह जस्तो नियमितरुपमा गरिने कार्यको अन्तिम टुंगो नलागेसम्म कर्मचारीलाई धरपकड गरी हिरासतमा राख्ने जस्ता कार्य नगर्न सिबिफिनले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK