×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली लघुवित्तका कर्मचारी कुटिए, सीईओ, प्रहरी र मनिराम ज्ञवाली के भन्छन् ? (भिडियोसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महुली लघुवित्तका कर्मचारी कुटिए, सीईओ, प्रहरी र मनिराम ज्ञवाली के भन्छन् ? (भिडियोसहित)

१६ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि कुटपिट भएको छ । बुधबार लघुवित्तको सप्तरीस्थित शाखा कार्यालयमा कर्मचारीमाथि कुटपिट भएको हो । लघुवित्तले उक्त घटनाप्रति विज्ञप्ती नै सार्वजनिक गरेर खेद प्रकट गरेको छ ।

संस्थाका सीईओ गंगाधर पाण्डेका अनुसार बुधबार किस्ता तिर्न आउछौँ भनेका सदस्यहरुले संघर्ष समितिका कार्यकर्ता लिएर आएका थिए । करिब १०० जनाको समूहका आएका व्यक्तिहरुले लघुवित्तको कार्यालयमा तोडफोड गर्दै कर्मचारीमाथि कुटपिट गरेका हुन् । उनीहरुले लघुवित्तका कर्मचारीको व्यक्तिगत कोठामै प्रवेश गरेर कुटपिट गरेका सीईओ पाण्डेले बताएका छन् । पाण्डेका अनुसार हाल घाइतेहरुको उपचार भइरहेको छ । ‘संघर्ष समितिका अराजक व्यक्तिहरु आएर कर्मचारीमाथि कुटपिट गरेका छन् । अझ महिला कर्मचारीको व्यक्तिगत कोठामै प्रवेश गरेका छन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘यो अराजकताको पराकाष्ठा नै हो । यसले समग्र बैंकिङ क्षेत्रलाई नै भयवित बनाउँछ ।’

के भन्छ प्रहरी ?
यता उक्त घटनामा प्रहरीको दाबी भने फरक छ । आफ्ना कर्मचारी कुटिएको विषयमा संस्थाले विज्ञप्ती नै सार्वजनिक गर्दा पनि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले भने लघुवित्तमा कुनै पनि कर्मचारीमाथि कुटपिट नभएको बताएका छन् । उनले घटनास्थलमा प्रहरी सुरुदेखिनै उपस्थित भएकाले बचतकर्ताहरुको सामान्य होहल्ला बाहेक अन्य कुनै पनि अप्रिय घटना नभएको दाबी गरेका छन् ।

‘घटनास्थलमा संस्थाका कर्मचारीमाथि कुटपिट केही भएको छैन । बचतकर्ताहरुको सामान्य होहल्ला मात्रै भएको हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै डिएसपी न्यौपानेले भने, ‘इन्स्पेक्टर स्वयम् नै घटनास्थलमा हुनुहुन्थ्यो । हामीलाई कुटपिट भएको, कार्यालय तोडफोड भएको केही पनि रिपोर्टिङ भएको छैन ।’

‘संघर्ष समितिका मान्छे कर्मचारीको घरमा जाँदैनन्, गएका छैनन्’
लघुवित्तका अनुसार महुली लघुवित्तमा भएको उक्त घटनामा संस्थाका कुनै पनि सदस्य सहभागी थिएनन् । बरु बाहिरबाट बोलाइएका संघर्ष समितिका मान्छेहरु थिए । तर, लघुवित्तविरुद्धको संघर्ष समितिका संयोजक मनिराम ज्ञवालीले भने लघुवित्तका कर्मचारीहरुले ऋणीलाई दुःख दिने क्रममा प्रतिकार भएको हुनसक्ने बताएका छन् । तर, संघर्ष समितिका कोही पनि लघुवित्तको कार्यालय र कर्मचारीको घरमा प्रवेश गरेर कुटपिट गरेका भन्ने आरोप सरासर झुठ भएको दाबी गरेका छन् ।

यसो त केही समयअघि मात्रै सरकार र संघर्ष समितिबीच ६ बुँदे सहमती भएको थियो । तर, काठमाडौँमा भएको सहमतिको मसी सुक्न नपाउँदै सप्तरीमा महुली लघुवित्तका कर्मचारी कुटिएको खबर बाहिर आयो । हो, समग्र देशमा देखिएको आर्थिक मन्दीका कारण केही ऋणीलाई किस्ता तिर्न मुस्किल भएको छ, व्यवसाय नहुँदा तनाब भएको छ, तिर्ने मन हुँदाहुँदै पनि समयमा किस्ता र ब्याज तिर्न नपाउँदा पक्कै मन पोलेको छ । तर, ऋण हो खाएपछि तिर्नैपर्छ । आन्दोलन गर्दैमा कुनै हालतमा ऋण माफी हुँदैन, किनकी त्यो ऋणको पैसा जनताकै डिपोजिट हो । अनि संघर्ष गर्नै परे सरकारसँग पो गर्ने हो, परिवार पाल्न केही हजारको जागिर खाएका ती कर्मचारीहरुको के दोष ? यसतर्फ सरकार गम्भीर बनोस् । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: