×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा लगानीकर्तालाई कुन अर्थमन्त्री प्यारो ? कसको पालामा कति घट्यो, बढ्यो बजार ? (भिडियोसहित) 

PRIME CA

सेयर बजारमा लगानीकर्तालाई कुन अर्थमन्त्री प्यारो ? कसको पालामा कति घट्यो, बढ्यो बजार ? (भिडियोसहित) 

अर्थ सरोकार

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार

काठमाडौँ । सेयर बजारप्रति सत्ताधारी दल, स्वयम् प्रधानमन्त्री र विशेषतः अर्थमन्त्रीको दृष्टिकोणले सेयर लगानीकर्ताहरुमा सिधा मनोवैज्ञानिक असर पर्छ । र त सेयर लगानीकर्ताहरु कुन पार्टीको सरकार बन्दैछ भन्दा पनि अर्थमन्त्री को हुँदैछ भन्नेतर्फ बढी ध्यान दिन्छन् । बजारप्रति नकारात्मक धारणा भएकाहरु कुर्सीमा भएकै कारण बजार अस्थिर हुनु र बजारलाई खास केही नगरे पनि बजार प्रति सकारात्मक भएकै कारणले मात्र पनि लगानीकर्ताहरुले राजनीतिक पात्रहरुलाई माया गरेको देखिनु नेपाली अर्थ राजनीतिक वृत्तमा नयाँ होइन । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतको बहिर्गमन र नेकपा एमालेका विष्णु पौडेल वा पौडेल नभए पनि बर्षमान पुन अर्थमन्त्रीका रुपमा आउने चर्चासँगै सँगै नेपाली सेयर बजारमा लगानीकर्ताको उत्साह देखिनु त्यसको पछिल्लो उदाहरण हो । 

कुन अर्थमन्त्रीको पालामा सेयर बजार के भयो ?
सन् २००८ मा अर्थमन्त्री डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा सेयर बजार ३९२ अंकले घटेको थियो । सेयर बजारलाई जुवाघर भन्ने बाबुरामको उतिबेलाको अभिव्यक्तिका कारण सेयर बजारका लगानीकर्तामाझ उनी अहिले पनि अप्रिय छन् ।
बाबुराम भट्टराईपछि नेकपा एमालेका सुरेन्द्र पाण्डे अर्थमन्त्री बनेका थिए । उनी अर्थमन्त्री हुँदा पनि बजार कुल ४०५ अंकले घटेको थियो ।  पाण्डेको बहिर्गमनपछि अर्थमन्त्री बनेका भरतमोहन अधिकारीको पालामा पनि बजार कुल ७५ अंकले घट्यो ।

त्यसपछि अर्थमन्त्री भएका बर्षमान पुनको कार्यकालमा सेयर बजार मापक नेप्से परिसूचक कुल १९८ अङ्कले बढ्यो । बजार बियरिसबाट बुलिस यात्रामा रहँदै गर्दा अर्थमन्त्री भएका शंकर प्रसाद कोइरालाको पालामा बजार २९५ अंकले बढ्यो । कोइरालाको बहिर्गमनपछि अर्थमन्त्री बनेका रामशरण महतका पालामा सेयर बजार २६५ अंकले बढ्यो । महतपछि अर्थमन्त्रीका रुपमा आएका विष्णु पौडेलको कार्यकालमा बजार ६८१ अंकले बढेको थियो ।      

बिष्णु पौडेलपछि माओवादीका तर्फबाट कृष्ण बहादुर महरा अर्थमन्त्री भए । उनको कार्यकालभर कुल १६५ अंकले बजार घट्यो । महरापछि अर्थमन्त्री बनेका ज्ञानेन्द्र बहादुर कार्कीका पालामा २१७ अंकले घटेको सेयर बजार त्यसपछि युवराज खतिवडा अर्थमन्त्री बन्दा कुल १३४ अंकले बढ्यो । त्यतिबेला खतिवडाले बजारलाई अनुत्पादक क्षेत्र भनिदिएका कारण उनको तीब्र आलोचना भएको थियो ।  

बिष्णु पौडेल अर्थमन्त्री बन्दा सेयर बजारले अल टाइम हाई अर्थात ३२०० नजिक पुग्यो । पौडेलपछि अर्थमन्त्रालयको कमाण्ड सम्हालेका जनार्दन शर्माको पालामा बजार ९५४ अंकले घट्यो । यो बेला बजार बुलबाट बियारिसको यात्रामा लागेकाले पनि लगानीकर्ताले उनको पालामा राम्रै घाटा ब्यहोर्नुपर्यो । त्यसपछि बिष्णु पौडेल पुनः अर्थमन्त्री बने । बजारदृष्टिले हेर्दा कुल ३९ कारोबार दिनसम्म मात्र टिकेको उनको कार्यकालभर बजार कुल १५६ अंकले बढेको थियो । हरेकपटकजसो पौडेल आउँदा सेयर बजार बढेकै हुनाले पनि, उनी सेयर लगानीकर्तामाझ प्रिय छन् ।

पौडेलपछि नेपाली कांग्रेसका तर्फबाट डा. प्रकाश शरण महत अर्थमन्त्री बने । उनी अर्थमन्त्रीमा नियुक्त हुँदा १९०८.५६ बिन्दुमा रहेको नेप्से उनको कार्यकाल सकिँदा १९६०.३० बिन्दुमा थियो । अर्थात महतको पालामा सेयर बजार ५२ अंकले बढ्यो । सेयर बजारका लागि खासै केही गर्न नसकेको अपजस लिएर उनी अर्थमन्त्रीको रुपमा बाहिरिएसँगै बजारमा फागुन २१ गते पोजेटिभ सर्किट नै देखियो । (भिडियो) 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: